झापा । झापा २ बाट निर्वाचित सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन् । ०५६ मा राष्ट्रियसभा सदस्य भएका घिमिरे आज (बिहीबार) सभामुखका लागि भएको निर्वाचनबाट सभामुखमा निर्वाचित भएका हुन् । घिमिरे गत मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका थिए । पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा बसेर भूमिका निर्वाह गरेपनि जननिर्वाचित हुने अवसर पाएका थिएनन् । जननिर्वाचित भएको पहिलो पटक मै घिमिरे सभामुख बनेका हुन् ।
उनी पार्टीभित्र इमान्दार र कुशल संगठकका रुपमा चिनिने जानकारहरु बताउँछन् ।
ताप्लेजुङ जिल्लाको साविक सिकैचा–६ हाल श्रीजंघा–३ मा बुवा पदमप्रसाद र आमा भिमकुमारी घिमिरेको १२ जना सन्तानमध्ये माइला छोराको रुपमा २०१३ साल जेठ १३ गते उनी जन्मिएका रे । गाउँकै सिंहदेवी प्राविबाट अध्ययन शुरु गरेका उनले भानु पब्लिक हाइ स्कुल, धरानको महेन्द्र बहुमुखी क्याम्पस हुँदै त्रिचन्द्र क्याम्पसमा स्नातकसम्मको अध्ययन गरेका छन्। अध्ययनसँगै कम्युनिष्ट आन्दोलनले उनलाई प्रभावमा पारिरहेकै थियो । २०२७ देखि २०३० सालसम्म चलेको झापा विद्रोहपछि २०३२ मा कोके (अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को(अर्डिनेशन कमिटी माक्सवादी लेनिनवादी) को गठन भएपछि विद्यार्थी संगठनमार्फत उनी वामपन्थी राजनीतिमा होमिएका थिए । २०३३ सालमा गाउँगाउँमा पुगेर बुर्जुवा शिक्षा बहिष्कार अभियानमा सक्रिय घिमिरेले २०३५ सालमा कोकेको सदस्यता प्राप्त गरेका थिए । २०४६ सालको भदौमा सिराहाको विष्णुपुरकटीमा सम्पन्न मालेको चौथो महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी भएका उनी २०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २०५० सालदेखि मेची अञ्चलको इञ्चार्जको जिम्मेवारी पाएका घिमिरेले पाएका थिए । उनी २०५६ सालमा राष्ट्रियसभा सदस्य भएका थिए । २०७९ सालको प्रतिनिधि सभाको निर्वाचन लड्न उनले पहिलो पटक पार्टीबाट टिकट पाएका हुन् । झापा विद्रोहपछि ०३१ बाट सकृय राजनीतिक यात्रा सुरु गरेका उनी सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुन् । एमालेका स्थायी कमिटी सदस्य रहेका उनी ०५६ मा राष्ट्रिय सभा सदस्य भएका थिए । ०७५ मा नेकपाको प्रदेश १ को अध्यक्ष, ०७८ मा भएको एमालेको दशौ राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य भएका थिए । उनी अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज रहेका छन् । हाल झापाको अर्जुनधारा नगरपालिका वडा ६ का स्थानीय घिमिरे २८ हजार ७ सय १६ मत ल्याउदै झापा २ बाट निर्वाचित भएका हुन् । उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ६१ मतले पराजित गरेका हुन्
सभामुखमा निर्वाचित घिमिरे को हुन् ?

































































































