बिर्तामोड २ माघ । आर्थिक मन्दीले निराश भएका व्यापारी व्यवसायीलाई चलायमान गराउदै हौसला प्रदान गर्ने तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले बिर्तामोड उद्योग बाणिज्य संघले बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव २०७९ आयोजना गर्ने भएको छ ।
आगामी फागुन ५ गतेदेखि १५ गतेसम्म बिर्तामोड–२ स्थित रामचोक उत्तरमा आयोजना गर्न लागिएको महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी दुईसय ५० वटा स्टल रहने बिर्तामोडमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
महोत्सवमा नेपालका घरेलु साना, मझौला, ठूला उद्योगका अतिरिक्त नेपालका पहाडी क्षेत्रमा उत्पादित कृषि तथा खनिजजन्य उत्पादनहरु विभिन्न जातजातिको मौलिक पहिचान झल्कने सांस्कृतिक पहिचानसहितका स्टल रहने बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए ।
महोत्सवबारे जानकारी दिंदै अध्यक्ष शिवाकोटीले व्यापारिक÷व्यवासायीक महोत्सव रहेको स्पष्ट पारे ।
मुख्य गरी चार भागमा विभाजन गरिएको महोत्सवमा प्रदर्शनी तथा बिक्रीकक्ष, सांस्कृतिक तथा सांगितीक क्षेत्र बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र बिभाजन गरिएको बिर्तामोड उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले व्यापार–व्यवसायलाई चलायमान गराउने र आर्थिक चलायमान हुँदा निराश भएर बसेका व्यापारी–व्यवसायीलाई उत्साहित बनाउने धारणा राखे ।
व्यापारिक महोत्सवका लागि पूर्वमा बिर्तामोड अत्यन्तै उपयुक्त स्थान भएको बताउँदै नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव २०७९ का व्यवस्थापक ललित सिंखडाले मेलामा अत्याधुनिक प्रविधिको अवलम्बन गरिने बताए । मेला डिस्प्ले र कन्फ्रेन्स खालको हुने बताउँदै सिंखडाले अक्टानोर्म तथा डोम विधिबाट बिशिष्ठ खालका स्टलहरु सजाउनुका सार्थ कलाकृतियुक्त प्रवेशद्वार र सेल्फी जोन समेत निर्माण गर्ने जानकारी बताए ।
३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा ४५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्न एककरोड लागत अनुमान गरेको आयोजकले महोत्सवबाट लगभग ४० लाख आम्दानी गर्ने लक्ष्य राखेको संघका महासचिव अर्जुन मैनालीले बताए ।
पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष नैनकला भट्टराई, सहकोषाध्यक्ष राधिका चुडाल, कुशल खतिवडा, विशाल थापा लगायतको उपस्थिति रहेको थियो ।
बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव आयोजना गर्ने

































































































