मेचीनगर १६ पुस । झापाको मेचीनगर नगरपालिकाले अस्तव्यस्त काँकरभिट्टा बसपार्क व्यवस्थापनबारे दोस्रो चरणको छलफल सम्पन्न गरेको छ ।
काँकरभिट्टा बसपार्क सञ्चालन र व्यवस्थापनलाई चुस्त दुरुस्त पार्न आज शनिबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजकत्वमा नगरपालिका परिसरमा सरोकारवाला र सम्बन्धि पक्षसँग गम्भीर रूपमा छलफल गरिएको हो ।
नेपालको पूर्वी प्रवेशद्वारसँगै रहेको काँकरभिट्टा बसपार्क विगत केही बर्षयता अस्तव्यस्त बनिरहेको छ । बसपार्क अस्तव्यस्त बन्दा सर्वसाधारण र स्थानीयले सास्ती व्यहोर्नु परिरहेको गुनासाहरू बढ्दै गइरहेको अहिलेको अवस्थामा त्यसलाई समाधान गर्न नगरपालिकाले नेतृत्वदायी पहल कार्य अगाडि बढाएको मेचीनगर प्रमुख बुढाथोकीले बताए ।
उनले काँकरभिट्टा बसपार्क चाडैं नै व्यवस्थित व्यवस्थापनका साथ सहजरूपमा सञ्चालन गर्ने गरि अभिभावकको भूमिकामा नगरपालिका विभिन्न योजनाका साथ लागि परेको बताए ।
बसपार्क व्यवस्थापनका लागि आज भएको छलफलमा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीसहित उपप्रमुख मीना पोखरेल उप्रेती, निवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, पूर्वी बस व्यवसायी प्रालिका अध्यक्ष बिष्णु श्रेष्ठ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी ज्ञानकुमार महतो, काँकरभिट्टा ट्राफिक पोष्ट प्रमुख सई लीला श्रेष्ठ, डल्फिन यातायात प्रालिका प्रतिनिधि कमल शाहा, मेची यातायात एण्ड अटो प्रालि केशवराज लगायतको उपस्थित रहेको थियो ।
काँकरभिट्टा बसपार्क व्यवस्थापनबारे सरोकारवालासंग छलफल

































































































