मेचीनगर २१ कात्तिक। झापा क्षेत्र नं. १ का उम्मेद्वार विश्वप्रकाश शर्माले एमाले पार्टीका साथीहरुको आशिर्वाद पाएका कारण यसपाली चुनाव जित्न सजिलो भएको बताएका छन् ।
भृकुटी बजारमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले मुलुकको नेतृत्व अब झापा क्षेत्र नं. १ ले गर्ने बताए । भृकुटी बजारमा आयोजित कार्यक्रमका बीच ठूलो संख्यामा नेकपा एमालेका नेता÷कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशी नेता तथा कार्यकर्तालाई काँग्रेस पार्टीमा स्वागत गर्दै शर्माले भूगोल र भावना बुझेका गठबन्धनका उम्मेद्वारलाई जिताउन आफ्ना ठाउँबाट मत दिन आव्हान समेत गरे । ‘गठबन्धनलाई जिताउन एमाले पार्टीमा आबद्ध साथीहरुको सहयोग प्राप्त भएको छ,’ उनले भने, ‘तपाईहरु जुन पार्टीमा हुनुहुन्छ, त्यही पार्टीमै बस्नोस् । तर, यसपाली संघमा म विश्वप्रकाश, प्रदेशमा गोपाल र श्यामवीर जीलाई भोट दिएर जिताउनु होस् ।’
उनले विश्वप्रकाश शर्मा कहिले नथाक्ने पनि स्पष्ट पारे । ‘म यसअघि दुई पटक उपविजेता भएँ,’ उनले भने, ‘तर, विश्वप्रकाश हार्दैन पनि थाक्दैन नि ।’ काँग्रेसका महामन्त्री समेत रहेका शर्माले भृकुटी बजार जोड्ने सडक कालोपत्रेका लागि सरकारबाट बजेट विनियोजन भएको जानकारी दिए ।
कार्यक्रममा प्रदेश सभाका उम्मेद्वार गोपाल तामाङले राजनीतिलाई पेशा होइन, सेवाको रुपमा जनताको काम गर्ने वचन दिए । उनले यस क्षेत्र विकासका निम्ति सदैव लागि पर्ने विश्वास दिलाए ।
कार्यक्रममा एमाले निकट संगठन क्युपेक नेपाल मेचीनगर सचिव युवराज प्रधान, वडा नं. २ स्थित दिपज्योति टोलका अध्यक्ष खमबहादुर राई, एमालेका संगठित सदस्य देउकुमार राई, बविता राई, मेनुका प्रधान, जया राई लगायतले एमाले छाडेका हुन् ।
कार्यक्रममा नेपाली काँग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, पूर्व उपसभापति राम कट्टेल, मेचीनगरका निवर्तमान नगर प्रमुख विमल आचार्य, नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरु, काँग्रेस प्रदेश ‘क’ सभापति हरि बुढाथोकीलगायतको उपस्थिति रहेको थियो । काँग्रेस वडा नं २ का वडा सभापति राजु रिजालको अध्यक्षता तथा माओवादी केन्द्रका नेता गोपी रिजालको सञ्चालन गरेका थिए।
चुनावको मुखैमा पार्टी छाड्दै एमाले कार्यकर्ता, विश्वप्रकाशलाई साथ

































































































