भद्रपुर २९ भदौ । जिल्ला खेलकुद विकास समिति झापाले जिल्लाबाहिर खेल्न जाने खेलाडीहरुलाई विदाइ गरेको छ । मंगलबार मेची रंगशालामा एथलेटिक्सका खेलाडीहरुलाई जीतको शुभकामनासहित बिदाइ गरिएको हो । प्रशिक्षक गोपाल यादवको नेतृत्वमा रहेको एथलेटिक्स टोलीलाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी (भेषराज) ले झापाको जर्सी र झण्डा प्रदान गर्दै जीतको शुभकामना दिंदै बिदा गर्नुभएको छ ।
त्यसैगरी, बिर्तामोडमा पुरुष भलिबलका खेलाडी र अफिसियल, कनकाईमा महिला फुटबल र टेवलटेनिसका खेलाडी र अफिसियल तथा दमकमा आरटीएफ तेक्वान्दोका खेलाडी–अफिसियल र बुद्धिचालका खेलाडीलाई झापाको जर्सी र झण्डा प्रदान गरेर विदाइ गरिएको समितिका सदस्य तथा प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिनुभयो । जिल्लाबाहिर हुने खेलको तालिका अनुसार खेलाडीहरु जाने र त्यसै अनुसार समितिले विदाइ गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रदेशस्तरयि प्रतियोगितामा झापाबाट ४४९ खेलाडीले २७ विधाका खेलमा प्रतिस्पर्धा गर्दैछन् । प्रदेशस्तरीय प्रतियोगितामा मेडल प्राप्त गर्ने खेलाडी र टिमलाई सम्मान समितिले सम्मान गर्ने योजना रहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
झापाबाहिर प्रतिष्पर्धा गर्न जाने खेलाडीहरुको विदाइ

































































































