चारआली । मेचीनगर १३ स्थित त्रिदेव बहुमुखि क्याम्पस प्राध्यापक संघ इकाईको आयोजनामा तिज विशेष प्रतियोगितात्मक नृत्य सम्पन्न भएको छ ।
प्रतियोगितामा सहभागी १६ जना प्रतिष्पर्धीमध्ये स्मृति राई र सबिता लेप्चाको संयुक्त प्रस्तुती प्रथम हुँदा अस्मिता राई दोस्रो, पंकज राई र जेनिसा गुरुङको टिम तेस्रो र आरती निरौला सान्त्वना भएका थिए ।
प्रतियोगिताको निर्णायक भूमिकाको निर्वाह क्याम्पसका सहप्राध्यापक लेखनाथ पौडेल र अतिरिक्त क्रियाकलाप समिति संयोजक मात्रिका पोखरेलले गर्नुभएको थियो ।

उत्कृष्ट हुने प्रतियोगिलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा छोटो समयमा क्याम्पसलाई गुणस्तर सुनिश्चित प्रत्यायनको प्रमाणपत्र प्राप्त गराउन र राष्ट्रियस्तरमा क्याम्पसलाई पहिचान गराउन सफल नेतृत्व प्रदान गरेको भन्दै क्याम्पस प्रमुख माधव प्याकुरेललाई क्याम्पस प्राध्यापक संघ इकाई समितिले सम्मान पत्र र दोसल्लाद्वारा सम्मान समेत गरेको छ । सम्मानित प्याकुरेललाई प्रमुख अतिथि बुढाथोकीले दोसल्ला र सम्मान पत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।
इकाई समिति सभापति प्रकाश बास्तोलाको अध्यक्षता तथा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितात्मक कार्यक्रममा प्रमुख अतिथि बुढाथोकी, क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष हरिचरण बानियाँ, मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देल, क्याम्पस सञ्चालक समिति अध्यक्ष हरिप्रसाद घिमिरे, नेपाल विद्यार्थी संघ त्रिदेव बहुमुखी क्याम्पस इकाई सभापति अर्जुन गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पदाधिकारी तथा सदस्य, दाताहरु र सल्लाहकार समितिसहितको उपस्थिति रहेको थियो । त्रिदेव क्याम्पस प्राध्यापक संघ इकाई समितिका उपसभापति तारा सेढाईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन विवेक उप्रेतीले गर्नुभएको प्राध्यापक सावित्रा दाहालले जानकारी दिनुभयो ।

































































































