बिर्तामोड ३ भदौं । नेकपा एमालेको जनबर्गिय संगठन अखिल नेपाल महिला संघको नवौं जिल्ला सम्मेलनको तयारी पूरा भएको छ ।
सम्मेलनबारे अनेम संघद्वारा आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
सम्मेलनले संगठन र पार्टी एकजुट छ भन्ने सन्देश बोकेर आगामी मंसिर–४ गते हुने प्रदेश र संघको निर्वाचनमा पार्टीले उठाएका उम्मेद्वारलाई विजय गराउने सन्देशका साथ सम्मेलन सम्पन्न हुने अनेम संघ झापाकी अध्यक्ष जसमाया गजमेरले जानकारी दिनुभयो ।
अनेम संघकी केन्द्रीय सचिव मेनुका काफ्लेले निर्वाचनको घोषणा भइसकेको अवस्थामा हुन लागेको सम्मेलनलाई शक्ति प्रदर्शनका रुपमा समेत लिइएको बताउनु भयो । १० औं सम्मेलनमा पुग्दा ५० हजार सदस्य बनाउने लक्ष्य राखेको अनेम संघको झापा जिल्ला सम्मेलनमा २ हजार बढी महिलाको उपस्थिति रहने बताइएको छ ।
आठ वर्ष आठ महिनापछि हुन लागेको सम्मेलन हुन लागेको हो । अनेम संघ झापामा हाल २१ हजार सदस्य रहेको अध्यक्ष गजमेरले जानकारी दिनुभयो ।
सम्मेलन सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारी, सांगठानिक प्रतिवेदन, राजनीतिक प्रतिवेदन लगायतका सबै काम पूरा भएको अनेम संघ झापाकी सचिव चन्द्रा श्रेष्ठले जानकारी दिनुभयो ।
सम्मेलनमा नगरपालिका÷गाउँपालिका, प्रदेश, क्षेत्र लगायत विभिन्न क्षेत्रबाटसहित गरी ४०१ जना प्रतिनिधि रहने सम्मेलनले १५१ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । सम्मेलनले सहमतिकै आधारमा आगामी नेतृत्व चयन गर्ने तयारी गरेको बुझिएको छ ।
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य काफ्ले, झापा क्षेत्र नं.–२ की सांसद पवित्रा निरौला खरेल, अनेम संघका केन्द्रीय सदस्यहरु सुमित्रा भण्डारी, लिला कट्टेल, शान्ता रोक्का, टिका बस्नेत, पवित्रा पाठक, पवित्रा महतारा प्रसाई, प्रचार संयोजक भीमा शिवाकोटी लगायत अनेम संघका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
झापाको बिर्तामोडमा दुईदिन सम्म चल्ने सम्मेलनको सम्मेलनको पूर्वप्रधान मन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अध्यक्ष गजमेरले जानकारी दिनुभयो ।
अनेम संघ झापाको नवौं जिल्ला सम्मेलनको तयारी पूरा

































































































