रेजिना गौतम
बिहानै घरको छतमाथि परेवा काग र केही थान रुपीहरु चारो खान आउँछन् । छिमेकी अधिकारी बा ले बिहानको ६ बजेको सेरोफेरो पारेर बालबालिकालाई बोलाए झैं ल है केटाकेटी हो आओ भन्ने वित्तिकै दैनिक ती परेवा, काग र रुपीहरु हुरुरु उडेर छतमा आइपुग्छन् र तँछाड मछाड गर्दै चारो (परेवा र रुपीका लागि चामल वा खुदी र कागका लागि विस्कुटका पाना) खान्छन् । आफू स्वयंपनि यो दृष्य नियालेर आनन्दानुभूति भइरहेको हुन्छ । पल्लो घरका बाले म बसेको घरको छतमा छरिदिएको चारो खाने ति पंक्षीहरुलाई अलि अलि जिस्क्याउन मन लाग्दा छेउमा जान खोज्छु, उनीहरु पखेटा फ्याट फ्याट पार्छन्, केही त उडेर नजिकैको बिजुलीको तारमा गएर बस्छन्, अनि यसो अर्कोतिर फर्कन्छु फेरी आउँछन् र खान्छन् कहिले काँही यस्तो पनि चल्छ ।
सदा झै बाले आज पनि रेडियोमा कायाकैरनको धुन बज्न शुरु हुँदा आओ है केटाकेटीहरु भन्दै बोलाए । बा को आवाज सुन्ना साथ भाषा बुझेझैं हुरुरु विगतमा झैं तिनै, परेवा, काग र रुपीहरु आए । परेवा र रुपीहरुले चामल टिपीरहँदा कागले चुच्चामा बिस्कुटका चोइटा च्यापेका देखिन्थे । चारो खाइसकेपछि उनीहरु तिनै बिजुलीका तारमा बस्छन् जहिले पनि । बिहान सबेरै पेट भरेपछि घामका किरणसंगै तारमा बसेर आसपासको दृष्य नियाल्नु उनीहरु (चारो खाने पंक्षी) को पनि दैनिकी नै भन्दा फरक पर्दैन ।
तर, आपत कतिबेला आइलाग्छ न त चेतनशील भनिएका मान्छेलाई थाहा हुन्छ न त हामीले मानिसको तुलनामा अचेतन ठानिएका पशु–पंक्षीलाई नै । ट्रान्समिटरको छेवैमा बसेको एउटा काग अकस्मात भुँईमा बजारियो । अरु कागहरु कोकोहोला पारामा कराउन थाले । भुँईमा झरेको काग झट्याक झट्याक गरिरहेको थियो । उत्तर दक्षिण शनिश्चरे रोडको सिनेप्लाजा छिर्ने बाटामा करेन्ट लागेर भुँईमा अकस्मात बजारिन पुगेको काग मर्नु न बाँच्नुको अवस्थामा पखेटामात्र भ्याट्–भ्याट पार्दै गर्दा एउटा पिकअप पुग्यो । बिहान सखारैको भएका कारण मानिसको आवत जावत खासै थिएन, सवारीहरु पनि खासै देखिंदैन थे । यस्तो बेलामा पुगेको पिकअपले घुमाउरो ठाउँमा मरणासन्न अवस्थामा छट्पटाइरहेको कागलाई किच्याउला भन्ने डर लागिरहेको थियो । तर पिकअप जति नजिकियो माथि तारमा बसेर कराइरहेका कागहरु अझ जोडले कराउन थाले । शायद त्यसैको प्रभाव हुनसक्छ–चालकले पिकअप रोकेर आफ्ना सहयोगीलाई फट्फटाइरहेको कागलाई सडक किनारामा सार्न लगाए । नजिकैको झारमा सारेर सहयोगी गाडीमा चढेका मात्र के थिए चालकले फेरी कागलाई पानी खुवाउन सहयोगीलाई अह््राए । सहयोगीले पनि झारमा छटपटाइरहेको कागलाई उठाएर बाटाको खाल्डोमा जमेको पानीमा चुच्चो चोबलेर पानी खुवाइ नजिकैको घरको सिंडीका छेउमा राखुञ्जेलसम्म पनि कागहरु कराइरहेका कागहरुको स्वर अलि मत्थर भइसकेको थियो । उनीहरु तलको दृश्य नियालीरहेका थिए ।
पिकअप पश्चिमतर्फ लाग्यो, सिंढीमा काग छट्पटाइरहेको छ, माथि तारका कराउने कागको संख्या पनि क्रमशः घटेपनि सकिएका छैनन् । केहीले रखवाली गरिरहेका छन् । अलि अलि गर्दै भुँईको काग उठ्यो । शरीर तन्कायो र घस्रिदै हिड्न थाल्यो । मृत्युको मुखबाट फर्किएको कागले अलि अलि गर्दै ५० मिटरको यात्रा तय गर्दै गर्दा भुँईमा उ जति अघि बढ्छ, तारमा उसैलाई पर्खिरहेका कागहरु पनि कराउँदै त्यतैतिर विस्तारै विस्तारै अघि बढ्छन् । विरामी काग भएतिर कसैले जान खोज्यो भने माथिबाट टाउकोमा ठुगौला झैं गर्छन् र कराउँछन् । पानी खुवाएको लगभग आधा घण्टापछि घाइते काग पूर्ण रुपमा उडेर तारका साथीसंगीलाई भेट्न नसकेपनि अलि अलि गर्दै पखेटा फिंजाउँदै दक्षिणतर्फ अघि बढ्यो । उसको सुरक्षा गरिरहेका कागहरु पनि उसैलाई पछ्याउँदै ओरालो झरे ।
सहकर्मी भुँइमा बजारिंदा किन कराए ती कागहरुको भाषा बुझ्नेलाई थाहा हुन्थ्यो होला । तर, बिडम्बना म स्रोता मात्र बन्न सकें, शायद साथी सकियो भन्ठानेकी भन्ने आंकलन गरे ।
मृत्यु शाश्वत सत्य हो । यही सत्य बुझ्दा बुझ्दै पनि सचेत भनिएका मानिसलाई कालगतिको मृत्युले गुमाएका आफन्त बियोगको पीडा सहज मान्न सकिन्न एकातिर भने अर्कोतिर त्यही शाश्वत सत्य हो भन्ने जान्दा जान्दै पनि आपराधिक मानसिकताका मान्छेकै कारण मृत्युका डर लाग्दा घटनाहरु दोहोरिइरहेका छन् । प्रकृतिमा सर्वश्रेष्ठ मानिएको सचेत प्राणी नै मानिसलाई मृत्युको मुखमा पुर्याउन उद्दत देखिन्छन् । मानिसबीच समवेदना हराएको बेला काग–कागको प्रेमले हामीलाई ब्यङ्ग्य गरेझैं अनुभूति गर्नु शिवाय केही रहेन केवल एउटा कागले पाएको पुर्नजन्मको साक्षी मात्र ।