सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’
वेद, पुराण र धार्मिक ग्रन्थहरुमा वर्णन गरिएको, श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने रक्षाबन्धन पर्व मारवाडी समुदायको मूख्य पर्वहरु मध्ये पर्दछ । दिदी बहिनीहरुले दाजु भाईको दिर्घायु, सुस्वास्थ्य, ऐश्वर्य र भाउजुको अटल सौभाग्यको कामना सहित हर्षोल्लास पूर्वक रक्षाबन्धन पर्व मनाईन्छ । मारवाडी समुदायका केही परिवारहरूले भने पूर्णिमाको अघिल्लो दिन घरका हरेक प्रवेशद्वारहरूका दुवैतर्फ शुद्ध भावले गोबर पानीले गोलाकार बनाई भोलीपल्ट त्यसमा रातो माटो रंग (हिर्मच)ले शुभ चित्र बनाउने, कसैले राम राम, स्वस्तिक कलस आदि बनाउन्छन त्यसलाई मारवाडी भाषामा ‘सुण माण्डना’ भनिन्छ भने पूर्णिमाको दिन बिहान सो चित्रमा रोली अक्षता, डोराले पूजा गरी प्रसाद लगाउछन जसलाई ‘सुण जिमाणा’ भनिन्छ ।
आजकाल यस्ता हस्त रचित सुण को स्थान रेडीमेड चित्रहरुले पनि लिएको पाईन्छ ।त्यस दिन घरमा विशेष भोजन बनाईन्छ, जसमा मूख्यतया खीर, पुड़ी, हलुवा र अन्य परिकार हुन्छन । आ आफ्नो समय र सुविधा हेरी दिदी बहिनीहरुले सर्व प्रथम आफ्ना दाजु भाईलाई टिका लगाई नाडीमा रक्षा सुत्र बाँध्छन जसलाई राखी भनिन्छ भने भाउज्यूको हातमा वा चुरामा बाँधिने रक्षा सुत्रलाई ‘लुम्बा’ भनिन्छ ।
पहिले–पहिले आमा, दिदीहरूले पर्व आउनु भन्दा १–२ महिना पहिलादेखि नै हातले बत्त्तु, गुलीन, सीतारा, सिल्केन र मखमली कपडा उपयोग गरी कलात्मक राखी बनाउनु हुन्थ्यो जसमा एक अलग्गै प्रकार को आत्मिक प्रेमभाव र समर्पण भाव हुन्थ्यो । वर्तमान समयमा हजारौं डिजाइनका रेडीमेड राखीको करोंडौंको व्यापार हुन्छ । दाजु भाईलाई राखी लगाई सकेपछी दिदी बहिनेले नरीवल, मिठाई, फलफुल, वस्त्र उपहार दिन्छन् भने दाजु भाईले आशिर्वाद स्वरुप पैसा, उपहार र अन्य सामग्री दिन्छन । बदलिँदो परिवेशमा उपहारहरूको बढदो प्रदर्शन र होडबाजीले यो पवित्र प्रेम तथा सद्भावको पर्वको सुन्दर पक्ष ओझेलमा परेको छ । घरबाट टाढा रहेका दाजु भाईलाई हुलाक, कुरीयर र अन्य माध्यमबाट राखी पठाईने गरिन्छ भने दाजु भाईले भेट भएको समय दिदी बहिनीलाई राखीको भनेर अलग्गै रूपैया पैसा दिन्छन । दिदी बहिनी न भएका दाजु भाईहरूले मठ मन्दिरहरुमा गई पुरोहित पुजारीबाट वा दिदी बहिनी बनाई राखी (रक्षा सुत्र) धारण गर्दछन ।
मारवाडी समूदायको चार घटक (अग्रवाल, ओसवाल, ब्राह्मण र माहेश्वरी) मध्ये माहेश्वरी समाजले श्रावण शुक्ल पूर्णिमाको दिन रक्षा बन्धन न मनाई भाद्र शुक्ल पंचमी अर्थात ऋषि पञ्चमीको दिन रक्षा बन्धन मनाउछन् ।
वर्षमा एक दिन आफ्ना प्रिय दिदी बहिनी अर्थात समस्त महिला जातीलाई मरणोपरान्त रक्षा गर्नेछुं , सम्मान गर्नेछुँ भनी समर्पित वचनलाई यर्थातमा मन, वचन र कर्मले निर्वाह गरेमा यस पर्वको महत्व र गरिमा अझ बढने छ भन्नु सान्दर्भिक होला ।
धन्यवाद ।
मारवाडी समुदाय र श्रावण शुक्ल पूर्णिमा

































































































