बिर्तामोड २५ साउन । बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरण नहुञ्जेलसम्मको लागि यस अघिको आर्थिक वर्षकै करको दरलाई निरन्तरता दिने भएको छ ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (बुधबार) बसेको कार्य पालिकाको बैठकले भू–उपयोग ऐन तथा नियमावली अनुसार नगर क्षेत्र भित्रका जग्गाको ६ महिना भित्र वर्गिकरण गरिसक्नु पर्ने र सोहि अनुसार सम्पति, भूमिकर समायोजन गर्नुपर्ने भएकोले प्राविधिक कठिनाई उत्पन्न हुने हुँदा त्यस अवधिसम्मका लागि गत आर्थिक वर्ष २०७८/०७९ को आर्थिक ऐन अनुसारकै क्षेत्र र दरमा कर संकलन गर्ने निर्णय गरेको हो ।
कार्यपालिकाको बैठकले भूू–उपयोग ऐन तथा नियमावली अनुसार नगर क्षेत्रभित्रका जग्गाहरु आगामी ५ महिना भित्र वर्गिकरण कार्य सम्पन्न गर्ने निर्णय गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि आफ्नो क्षेत्रभित्र लगाउने सम्पति कर तथा भूमिकर सम्बन्धि आर्थिक ऐन २०७९ निर्माण गरि कर संकलन सुरु गरेको थियो ।
बढेको कर बुझाई सकेकाहरुको हकमा भने आगामी आर्थिक वर्षमा लाग्ने करमा हिसाब मिलान गर्ने प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए । उनले करको विषयमा विज्ञहरुसंग समन्वय गरि कार्यपालिकामा व्यापक छलफल गरेर निर्णयमा पुगेको बताउनु भयो ।
बिर्तामोड नगरपालिकाले भूमिकरको दर गत वर्षकै कायम गर्ने

































































































