बिर्तामोड २४ साउन । बिर्तामोडस्थित बुधबारे (देवीहाट) बजारका व्यवसायीले आजदेखि बिजुली बत्ती बाल्न पाएका छन् ।
बिगत लामो समयदेखि व्यापार व्यवसाय सञ्चालन गर्दै आएका देवीहाट बजारका व्यापारी व्यवसायीहरूले निकै कठोर संघर्षपछि बिजुली बत्ती बाल्न पाएसंगै खुशी व्यक्त गरेका छन् ।
नव जडित बिजुली बत्तीको उद््घाटन बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रकाश शिवाकोटीले गर्नुभएको थियो ।
बिजुली बत्तीको उद्घाटन गर्दै अध्यक्ष शिवाकोटीले आफू नेतृत्वमा रहेको संघले जहिले पनि व्यवसायिक हितका लागि काम गर्ने उल्लेख गर्दै व्यापारी व्यवसायीको समस्या पर्दा बाणिज्य संघले आवाज उठाउनु कर्तब्य रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै शिवाकोटीले देवीहाट बजारमा भौतिक संरचना निर्माणका लागि व्यवसायीले नगरपालिकालाई सहयोग गर्नुपर्नेमा जोड दिंदै संरचना निर्माण पछि हाल व्यवसाय गरिरहेका व्यवसायीलाई त्यही स्थापित गर्नुपर्ने शर्तमा संघले सहयोग गर्ने बताउनु भयो ।

त्यस्तै संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले संविधानमै उल्लेख भएको गाँस, बास, कपास, स्वच्छ खानेपानी, बिजुली बत्ती बाल्न पाउने व्यवस्था भएपनि सामान्य बिजुलीको माग पूरा गर्न ९ दिनसम्म आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुखद भएको बताउनु भयो ।
जनताको सरोकारका विषयमा जनप्रतिनिधिहरू गम्भीर हुनुपर्ने उल्लेख गर्दै न्यौपानेले भन्नुभयो–‘जनप्रतिनिधि भइसकेपछि पार्टीको आस्था भन्दा माथि उठेर सबै नागरिकलाई सम्मानजनक व्यवहार गर्न आग्रह समेत गर्नुभयो ।
बिजुली बत्ती जडान भएसंगै व्यापारीहरूमा खुशी छाएको स्थानीय व्यापारी पृस्किला अधिकारीले भन्नुभयो–‘हाम्रा साथीहरूको अनुहारमा खुशी छाएको छ । हामीले फेनको हावा खान पाएका छौ ।’
अर्का व्यवसायी उमेश अग्रवालले व्यापारीबीचको एकताकै कारण लामो संघर्षपछि बत्ती बाल्न सफल भएको बताउँदै व्यापारी एकतामा जोड दिनुभयाे । उहाँले भन्नुभयो–‘हामी एक भयौं भने कसैले छुन सक्दैन, तर हामीले बीच फुट आयो भने गल्लीको कुकुरले पनि हेप्छ ।’
बुधबारे (देवीहाट) बजार व्यवस्थापन समितिका अध्यक्ष उमेश अग्रवालको अध्यक्षता तथा शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मीप्रसाद भट्टराईले गर्नुभएको थियो भने स्वागत गरिमा राईले गर्नुभएको थियो । सो अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष सञ्जीव घिमिरे, सहकोषाध्यक्ष राधिका चुडाल, निवर्तमान अध्यक्ष कुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

































































































