बिर्तामोड १७ असार । बिर्तामोडस्थित कृषि उपज बजारको अनुगमन गरिएको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेको नेतृत्वमा सरोकारवाला सरकारी निकाय तथा विभिन्न संघ संस्थाका प्रतिनिधिसहितको टोलीले बजार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा कत्तिपय व्यापारीहरुले प्रयोग गरेका ढक–तराजु मापदण्ड अनुसारको नभएको पाइएपछि सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बिधी संवत ढंगले उपभोक्ताको हितमा व्यवसाय सञ्चालन गर्न निर्देशन दिनुभयो । अनुगमनपछि व्यापारीहरुसंग आयोजित छलफलमा न्यौपानेले अर्को पटक अनुगमन गर्दा त्रुटी भेटिएमा कानूनतः कार्वाहि हुनेतर्फ सचेत समेत गराउनु भयो ।

व्यवसाय सञ्चालनका क्रममा भएका कमजोरीलाई स्वीकार गर्दै आगामी दिनमा कमजोरी सच्याउने प्रतिवद्धता जनाएका छन् । टोलीले कृषिथोक बजारभित्रका कृषिजन्य, मासुजन्य पसलहरुको अनुगमन गरेको हो ।
अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी न्यौपाने, घरेलु तथा साना उद्योग झापाका प्रेमप्रसाद सापकोटा, उद्योग अधिकृत विनोदप्रसाद न्यौपाने, आन्तरिक राजस्व कार्यालय झापाका विशाल काफ्ले, खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका भद्रपुर का प्रमुख भरत पुरी, गुण तथा नापतौल कार्यालयका प्रकाश बस्नेत, बिर्तामोड उद्योग बाणिज्य संघका जनसम्पर्क उपाध्यक्ष नैनकला भट्टराई, सहकोषाध्यक्ष राधिका चुडाल, चेम्बर अफ कमर्स प्रदेश एक का उपाध्यक्ष सन्तोष अग्रवाल, बिश्व उपभोक्ता महासंघ झापा अध्यक्ष सरस्वती चापागाई, उपभोक्ताहित संरक्षण मञ्चका उपाध्यक्ष भीमा शिवाकोटी, राष्ट्रिय उपभोक्ता मन्च झापाका प्रतिनिधी शिला उप्रेती, इलाका प्रहरी कार्यालय विर्तामोडका होमराज दाहालसहित पत्रकारहरुको उपस्थिति रहेको थियो ।

































































































