बिर्तामोड १४ असार । बिर्तामोड–५ स्थित बुधबारे हटियाका व्यवसायीहरुको बिद्युतको समस्या समाधान गर्न बिर्तामोड नगरपालिका सहमत भएको छ। मंगलबार बिर्तामोड उद्योग वाणिज्य संघ, जग्गादाता तथा समस्या समाधानका लागि बिर्तामोड नगरपालिकाद्वारा गठित कार्यदलसहितको सर्वदलीय बैठकले एक हप्ताभित्र ब्यवसायीहरुलाई बिद्युत ब्यवस्थापन गर्ने सहमति गरेको हो ।
नगरपालिकामा भएको बैठकले सात दिनभित्र बिजुली बत्ती बाल्ने व्यवस्था नगरपालिकाले मिलाउने सहमति भएको बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताउनु भयो । नगरपालिकाले सहमति जनाएसंगै आफूहरुको आन्दोलन सफल भएको न्यापानेले बताउनु भयो ।
आगामी सात दिनभित्र कार्यपालिकाको बैठक बसेर भइरहेको मिटरबाट व्यवसायीहरुलाई बिजुली बत्ती बाल्ने व्यवस्था मिलाउने मौखिक सहमति भएको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताउनु भयो । बिर्तामोड नगरपालिकाले बुधबारे देवी हाटको समस्या समाधानको लागि संग्रौलाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । तत्कालीन गाविस भएको बेला निकालिएको मिटरबाटै सबै व्यवसायीहरुलाई बिजुली बत्ती पाउने व्यवस्था मिलाइने संयोजक संग्रौलाको भनाई छ ।
बैठकमा जग्गादाताको तर्फबाट टोरुप प्रसाईं, नेकपा एमाले नगर अध्यक्ष सुवास भट्टराई, नेपाली कांग्रेसका तर्फबाट लक्ष्मी आचार्य, राप्रपाकी नगर अध्यक्ष रन्जु प्याकुरेल, एकीकृत समाजवादीका नगर अध्यक्ष श्री सिटौला, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, वाणिज्य संघका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । जेठ २८ गते नगरपालिकामा एक हप्ताभित्र समाधान खोज्न भन्दै ब्यवसायीहरुले संयुक्त निवेदन दर्ता गराएका थिए । तर नगरपालिकाले व्यवसायीको माग पूरा गर्ने तदारुकता नदेखाएपछि असार ५ गतेदेखि व्यापारी व्यवसायीहरुको छाता संस्था विर्तामोड उद्योग बाणिज्य संघको नेतृत्वमा शान्तिपूर्ण आन्दोलन हुँदै आएको थियो । तर, उक्त आन्दोलनलाई नगरको नेतृत्व गरिरहेको राजनीतिक दलले जबरजस्ती राजनीतिकरण गर्न खोजेपछि नगरपालिका र बाणिज्य संघबीचको सम्बन्ध धमिलिंदै गएर उत्कर्षमा पुगेको थियो ।
सहमतिको बिर्तामोड उद्योग बाणिज्य संघले आभार व्यक्त गरेको छ । संघका अध्यक्ष प्रकाश शिवाकोटीले सहमतिको स्वागत गर्दै समस्या समाधानका लागि भूमिका खेल्ने सबै पक्ष, नगरपालिकाद्वारा गठित कार्यदलका संयोजक, जग्गादाता सबैलाई विज्ञप्तिमार्फत धन्यवादसहित आभार व्यक्त गर्नुभएको छ ।
देवी हाट बुधबारे हटियामा हप्तादिनमा बत्ती ब्यवस्थापन गर्ने सहमति

































































































