बिर्तामोड ५ असार । बिर्तामोड नगरपालिका क्षेत्रमा लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेंगुलगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो । वडा नम्बर १ को कार्यालयमा शनिबार बिहान आयोजित एक कार्यक्रमका बिच अभियानको सुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले विषादी छर्किने प्राविधिकहरु तालिम प्राप्त रहेकोले सिकेको सिपलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव दिनु भयो । लापर्वाहि ढंगले काम गरे आफ्नो स्वास्थ्यमा समेत क्षति पुग्नेतर्फ सचेत गराउनु भयो ।
यस्तै वडाध्यक्ष अग्निप्रसाद पाण्डेले प्राविधिकहरुले निर्देशनअनुसार काम गर्न आग्रह गर्नु भयो । उहाँले विषादी छर्किने स्थलमा टोल विकास संस्थाका पदाधिकारी तथा वडाका जनप्रतिनिधिहरुले सहयोग गर्ने बताउनु भयो ।
यो अभियान असार १७ गतेसम्म सञ्चालन हुनेछ । अभियानमा विषादी छर्किने तालिम प्राप्त २५ जनाको टोली खटिएको बताइएको छ । वडा नं. १ मा ४ र ५ गते, वडा नं. ५ मा ६ र ७, वडा नं. ३ मा ८ र ९, वडा नं. ४ मा १० र १५, वडा न. २ मा १२, वडा नं. ६ मा १३, वडा नं. ७ मा १४, वडा नं. ८ मा १५, वडा नं.९ मा १६ र वडा नं. १० मा १७ गते विषादी छर्किने तालिका रहेको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । एकपटक छर्किएको विषादीले ३ महिनासम्म प्रभावकारी रुपमा काम गर्नेछ ।
अभियान उद्घाटन कार्यक्रममा नगरका स्वास्थ्य शाखा प्रमुख राजिव विष्ट लगायत उपस्थिति रहेको थियो ।
बिर्तामोडमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु



















