बिर्तामोड ।
घटना नं. १.
बालिका बलात्कारको आरोपमा जेठ १४ गते झापाको बिर्तामोडबाट एक व्यक्ति पक्राउ परे । जेठ १३ गते बेलुका ९ बजे बिर्तामोडको बसपार्कस्थित भ्याली होटलमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय विर्तामोडको प्रहरी टोलीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पाँचथरको याङवरक–३ ओयामका धनबहादुर गुरुङ (२१) लाई नियन्त्रणमा लियो अहिले गुरुङमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
घटना नं. २.
२०७९ साल बैशाख २५ गते धुलावारीकी ९ बर्षीया बालिका बलात्कार गरेको आरोपमा मेचीनगर १० का विपुल राजवंशी पक्राउ परे । बालिकालाई ललाईफकाई लगेर बलात्कार गरेको पीडित परिवारले बताएसंगै प्रहरीले राजवंशीलाई नियन्त्रणमा लिएको हो ।
बालिकाको स्वास्थ्य परीक्षण गराएँदा चिकित्सकले बलात्कार भएको हुनसक्ने बताएपछि मात्रै परिवारका सदस्यले थाहा पाएको बताइएको छ । राजवंशी विरुद्ध पीडितका आफन्तले जेठ २ गते उजुरी दिएका थिए । गुरुङले भद्रपुर नगरपालिका वडा नं.–४ की १४ वर्षीया बालिकालाई ललाई फकाई होटलमा पुर्याएर बलात्कार गरेको आरोप छ । बलात्कार सम्बन्धी २० दिनभित्र झापामा भएका यी दुई घटनाले छोरी कति सुरक्षित छन् ? भन्ने प्रश्न गम्भिर बनेको छ । बलात्कार सम्बन्धी झापामा भएका यी घटना प्रतिकात्मक मात्र हुन् ।
घटना नं. ३
२०७४ साल जेठ ३ गते उदयपुरको ताप्लीमा रहेको गहते जंगलमा लगेर बालिकालाई बलात्कार गरेको अभियोगमा झापा प्रहरीले २०७९ साल जेठको पहिलो साता झापाको गौरीगञ्जबाट एक म्यादी प्रहरीलाई पक्राउ गर्यो पक्राऊ परेका उदयपुर ताप्ली गाउँपालिका–५ का ३० बर्षीय कमलप्रसाद पोखरेलले सोही गाउँपालिकामा रहेको गहते जंगलमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । बलात्कार आरोपका फरार आरोपीलाई खोजी गरेपनि प्रहरीले फेला पार्न सकिरहेको थिएन । तर, सरकारले स्थानीय तह निर्वाचन २०७९ का लागि म्यादी प्रहरीका लागि भर्ना आह््वान गरेसंगै पोखरेलले झापामा आवेदन दिइ छनौटमा परेका थिए । गौरीगञ्जमा निर्वाचन प्रयोजनमै खटिएका बेला पोखरेल पक्राउ परेका हुन् । उदयपुरको घटना भन्दै झापा प्रहरीले थप कारवाहीका लागि पोखरेललाई उदयपुर नै पठाइदियो ।
झापामा चालु आर्थिक वर्षको १० महिनाको अवधीमा जबरजस्ती करणीका मात्रै ७२ वटा उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । ७२ वटा जाहेरी दर्ता हुँदा ५६ जना पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । यो अवधीमा यौन तथा मानव बेचविखनसंग जोडिएका १०६ वटा घटना भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । जसमध्ये सबैभन्दा बढी जबरजस्ती करणीमा ७२, जबरजस्ती करणी गरी मानव बेचविखनमा १, अप्राकृतिक मैथुन–१, बालयौन दुरुपयोग १९ र जबरजस्ती करणी उद्योगमा १३ वटा जाहेरी परेको जिल्ला प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो ।
१०६ वटा घटनामा संलग्न रहेको आरोपमा ८६ जना पीडकलाई प्रहरीले पक्राउ गरेको छ । जसमा जबरजस्ती करणी गरी मानव बेचविखन आरोपमा २, अप्राकृतिक मैथुनमा १, बालयौन दुरुपयोगमा १७ र जबरजस्ती करणी उद्योग अन्तरगत १० जना पक्राउ परेका छन् ।
बलात्कृत हुनेहरुमा चार बर्षीया बालिकादेखि ६० बर्षसम्मका वृद्धा समेत रहेको प्रहरीले जनाएको छ । जिल्लामा पछिल्लो समय बालयौन दुरुपयोगका घटना बढेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बालिकाहरुमाथि भएका अधिकांश बलात्कारका घटनामा प्रायः परिवार, नातागोता, शिक्षक र छरछिमेकीहरु अभियुक्त हुने गरेको बताए । जिल्लामा चेतनामूलक कार्यक्रम र प्रहरीको निगरानी बढाइएको भए तापनि बलात्कारका घटनामा कमी आउन सकेको छैन । दश महिनामा भएका १०६ वटा बलात्कारघटनाका २० जना अभियुक्त अझै फरार देखिन्छन् ।
समाजमा हुने बलात्कार वा बलात्कारजन्य अथवा यौनजन्य अपराधका घटनाले आम मानिसको मानसिकता खल्बल्याइदिएको छ हाम्रा सामाजिक र कानुनी प्रबन्धहरूलाई महिलामैत्री बने पनि कार्यान्वयनमा कडाई नहुँदा समस्या देखिएको छ । तसर्थ आर्थिक, सामाजिक संरचना बदल्नुपर्ने आवाज पनि उठिरहेका छन् ।
झापामा १० महिना बलात्कार तथा यौनजन्य १०६ घटना

































































































