झापा १० जेठ । १५ वटा पालिका रहेको झापामा दुई महिलाले पालिकाको प्रमुखको जिम्मेवारी पाएका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय पालिका निर्वाचन मत परिणाम अनुसार विर्तामोड नगरपालिकाको मेयरमा पवित्रा महतारा प्रसाई निर्वाचित भएकी छन् भने गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष फुलवती राजवंशी निर्वाचित भएसंगै दुई पालिकाको नेतृत्व महिलाले पाएका हुन् ।
नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको मेयरको उम्मेद्वार प्रसाईले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका तर्फबाट मेयरका प्रत्यासी भोजराज सिटौलालाई पछि पार्दै मेयरमा निर्वाचित भएकी हुन् भने नेपाली कांग्रेसकातर्फबाट गौरीगञ्ज गाउँपालिकाको उम्मेद्वार बनेकी राजवंशीले नेकपा एमालेका प्रत्यासी विजयकुमार अग्रवाललाई परास्त गर्दै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी हुन् ।
चुनावी गठबन्धनका कारण दुईवटा पार्टीले समन्वय गरेर उम्मेद्वार बनाउँदा महिलालाई कम अवसर दिइएको आरोप लागेको थियो ।
झापामा कांग्रेसले गौरीगञ्ज र अर्जुनधारा नगरपालिकामा महिलालाई प्रमुखको टिकट दिएको थियो भने एमालेले बिर्तामोड, दमक र बुद्धशान्तिमा महिलालाई टिकट दिएको थियो । दुई दलले ५ पालिकामा महिलालाई प्रमुखको टिकट दिएको थियो ।
बैशाख ३० गते सम्पन्न मत परिणाम अनुसार झापाका २ सहित प्रदेश १ मा ६ जना महिलाले पालिका प्रमुखको जिम्मेवारी पाएका छन् । प्राप्त अन्तिम मत परिणाम अनुसार खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसबाट बिमला राई मेयरमा निर्वाचित हुँदा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाटै मिनादेवी कार्की निर्वाचित भएका छन् त्यस्तै नेकपा एमालेबाट मोरङको कानेपोखरी गाउँपालिकामा राजमति इङ्नाम पालिका अध्यक्षमा निर्वाचित हुँदा नेकपा माओवादीबाट खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षा अरुणादेवी राई निर्वाचित भएकी छन् ।
प्रदेश १ मा कांग्रेसबाट एक मेयर र दुई अध्यक्षसहित ३ जना नेकपा एमालेबाट १÷१ जना मेयर र अध्यक्ष तथा नेकपा माअोवादी केन्द्रबाट १ जना पालिका अध्यक्षसहित ६ जना महिला पालिका प्रमुखमा निर्वाचित भएका हुन् । जसमा झापा र खोटाङमा २÷२ जना महिलाले प्रमुखको जिम्मेवारी पाएका हुन् ।
कांग्रेसबाट अर्जुनधारामा टिकट पाएकी रञ्जिता कार्की, नेकपा एमालेका तर्फबाट दमक नगरपालिकामा गीता अधिकारी र बुद्धशान्ति गाउँपालिकामा मिरा भुर्तेललाई प्रमुखको प्रत्यासी बनाएको थियो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा झापाको कमल गाउँपालिकामा मेनुका काफ्ले अध्यक्ष भएकी थिइन् । प्रदेश १ का १३७ पालिका मध्ये पालिका प्रमुख हुने मेनुका एक्ली थिइन् ।
झापा र खोटाङका दुई/दुईसहित प्रदेशमा ६ पालिकाका प्रमुखमा महिला

































































































