बिर्तामोड । स्थानीय तहको आगामी नेतृत्वका लागि भएको निर्वाचन मतपरिणाम अनुसार बितामोड नगरपालिकामा कांग्रेसको प्रतिनिधित्व गर्दै ९ जना निर्वाचित हुन सफल भएका छन् ।
बिर्तामोड ५ मा नेपाली कांग्रेसबाट रोहित प्रसार्इं निर्वाचित हुँदा वडा नं.–६ मा सूर्यप्रसाद कन्दङ्वा पुनः अध्यक्षमा निर्वाचित भएका छन् भने वडा नं. १० मा दुर्योधन गुरुङ पनि पुनः वडाध्यक्षमा निर्वाचित भएका छन् ।
वडा नं.–५ मा निर्वाचित प्रसाईले नेकपा एमालेका उम्मेद्वार राजेन्द्रप्रसाद लिङ्देनलाई पराजित गर्दै प्रसाई निर्वाचित भएका हुन् । प्रसाईले २४७९ मत प्राप्त गरे । लिङ्देन २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा सोही वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस्तै बिर्तामोड नगरपालिका ६ मा पुनः सूर्यप्रसाद कन्दङ्वा वडाध्यक्षमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका तर्फबाट उनले १२८३ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिष्पर्धी बुद्धिराम भट्टराईले ९८६ मत प्राप्त गरेका थिए ।
त्यस्तै वडा नं. १० मा नेकपा एमालेका उम्मेद्वार रिमानध्वोज लोक्तामलाई पराजित गर्दै कांग्रेसका तर्फबाट पुनः अध्यक्षको उम्मेद्वार बनेका दुर्योधन गुरुङ विजयी भएका हुन् । गुरुङले १९९३ मत प्राप्त गर्दा लोक्तामले १५५९ मत प्राप्त गर्नुभएको थियो ।
यो पटका नगरमा कांग्रेसको प्रतिनिधित्व खस्किएको छ । अघिल्लो पटक वडा नं. ३, ४, ६ र १० नं वडामा अध्यक्षसहित १५ जनाको प्रतिनिधि थियो भने यो पटक ३ वटा वडाका वडाध्यक्ष निर्वाचित हुँदा वडा नं.–५ मा वडाध्यक्षबाहेक सबै पद एमालले जितेको छ भने वडा नं. ६ मा १ जना एमाले र वडा नं. १० मा राप्रपाका १ सदस्य निर्वाचित भएका छन् । यो पटकको निर्वाचनमा ५२ जना निर्वाचित हुने नगरपरिषदमा कांग्रेसका तर्फबाट ९ जनामात्र निर्वाचित भएका छन् ।
बिर्तामोडका वडामा कांग्रेसकातर्फबाट निर्वाचित वडाध्यक्षहरु

































































































