झापा ४ जेठ । झापाका दुई पालिकामा पालिका प्रमुखको दोहोर्याउने आकांक्षाका साथ स्थानीय तह निर्वाचनमा उम्मेद्वार बनेका उम्मेद्वार पराजित भएका छन् । झापाको कचनकवल र बाह्रदशी गाउँपालिकाको प्रमुखमा पुन दोहोर्याउने अपेक्षाका साथ गत बैशाख ३० गते भएको निर्वाचनमा अध्यक्षको उम्मेद्वार बनेका कचनकवलका अन्जरा आलम र बाह्रदशीका खड्गप्रसाद राजवंशी पराजित भएका हुन् ।
आलम नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार भएका कालेन्द्र राजवंशीसंग पराजित भएका हुन् । राजवंशीले ११,४७७ मत प्राप्त गर्दा आलमले ६,६६७ मत मात्रै प्राप्त गरेका थिए । त्यस्तै बाह्रदशीमा नेकपा एमालेका उम्मेद्वार देवीन्द्र चौंलागाँईसंग कांग्रेस र माओवादीको गठबन्धनबाट अध्यक्षको उम्मेद्वार बनेका राजवंशी पराजित भएका हुन् । एमालेबाट अध्यक्षमा निर्वाचित चौलागाँईले ४७४८ मत प्राप्त गर्दा राजवंशीले ४३६१ मत प्राप्त गरेका थिए ।
त्यसैगरी विगतकै पद दोहोर्याउने हुँदा दुई उपप्रमुखका उम्मेद्वारले पनि हार व्यहोर्नु परेको छ । कनकाई नगरपालिकामा एमालेकातर्फ उपप्रमुखको उम्मेद्वार भएकी निवर्तमान मञ्जु प्रसाईले पराजय व्यहोर्नु पर्यो । प्रसाई कांग्रेसकी उपप्रमुखकी उम्मेद्वार आशा शिवाकोटीसंग पराजित हुनुभएको हो । शिवाकोटीले १०७१३ मत प्राप्त गर्दा प्रसाईले ८८४५ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी कचनकवल गाउँपालिकाको उपाध्यक्षको अनुभव संगालीसकेकी निमसरी राजवंशी पुनः दोस्रो कार्यकाल सोही पदमा दोहोर्याउने आकांक्षाका साथ उम्मेद्वार भएपनि मतपरिणामबाट पराजित भएकी छन् । राप्रपाबाट उपाध्यक्षको उम्मेद्वार भएकी राजवंशी नेकपा एमालेका उपाध्यक्षका उम्मेद्वार नवराज भट्टराईसंग पराजित भएकी हुन् । एमालेबाट विजेता भट्टराईले ८,१४३ मत प्राप्त गर्दा राजवंशीले ६८०१ मत प्राप्त गरेकी थिइन् । योसंगै राष्ट्रिय प्रजातन्त्र पार्टीको कचनकवलमा जुन विरासत थियो त्यो भत्किएको छ ।
कचनकवलमा राप्रपाले वडा नं. २ को दलित महिला सदस्य मात्र जितेको छ भने नेकपा एमालेले वडा नं. २ का वडाध्यक्षसहित अन्य सदस्य जित्दा नेपाली कांग्रेसले ६ वटा वडामा पूर्ण बहुमत ल्याएको छ ।
दोहोर्याउने दाउमा उम्मेद्वार भएका दुई प्रमुख र दुई उपप्रमुख पराजित

































































































