झापा २९ बैशाख । स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतदान शुक्रबार (भोली) विहान ७ बजेबाट शुरु हुने निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालयहरुले जनाएका छन् । पाँच बर्षसम्म स्थानीय तहको नेतृत्व गर्नका लागि राजनीतिक दलको नेतृत्व गर्दै प्रतिष्पर्धामा होमिएका र स्वतन्त्र रुपमा उम्मेद्वारी गराएका प्रतिष्पर्धीहरु अब जनताको फैसलाका लागि प्रतिक्षारत छन् । झापाको १५ स्थानीय तहमा ३० जना प्रमुख उपप्रमुख र १३१ वडामा वडाध्यक्षसहित प्रतिवडा ५/५ जना जनप्रतिनिधि छानिदैछन् । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६७४३ वडा छन् । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडासहित ३५ हजार २२१ जना जनप्रतिनिधिका लागि १ लाख ५३ हजार २२० जनाले उम्मेद्वारी दर्ता गरेका छन् । तीमध्ये १२ हजार ७८९ जनाले स्वतन्त्र उम्मेद्वार रहेको निर्वाचन आयोगले जनाएको छ । यता झापामा २२१ जना स्वतन्त्र उम्मेद्वार रहेका छन् । उम्मेद्वारी दिएका मध्ये ३५३ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन् भने अब १ लाख ५२ हजार ८६१ जना चुनावी मैदानमा छन् ।
देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ ।
३० गतेको मतदानका लागि झापामा २८६ मतदान स्थल र ७५५ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा झापाको संख्या ६ लाख ४६ हजार २३४ जना मतदाता रहेका छन् भने निर्वाचन आयोगका अनुसार ३ लाख २१ हजार ५२० जना पुरुष, ३ लाख २४ हजार ७०५ जना महिला र ९ जना अन्य रहेका छन् । पुरुषको भन्दा महिलाको ३ हजार १८५ मत बढी छ । आयोगका अनुसार अन्य मतदाता रहेको छन् । झापामा मुख्य गरी गठबन्धन दल र एमालेबीच मुख्य प्रतिष्पर्धा रहने निश्चित छ, अबको पाँचबर्षका लागि कुन पालिकामा कसले नेतृत्वको अवसर पाउँछ ? त्यसका लागि भने निर्वाचन परिणाम कुर्नैपर्छ ।
गौरीगञ्ज २३ हजार ४ सय ७४ जना मतदाता रहेको गौरीगञ्ज गाउँपालिकामा राप्रपा पुनः अध्यक्ष पदमा वाजी मार्ने दाउमा छ ।यो गाउँपालिकामा दलहरु एक्ला एक्लै प्रतिष्पर्धामा छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा राप्रपाले अध्यक्ष पद जितेको थियो । गौरीगञ्जमा यो पटक चार प्रमुख दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । पालिकाको अध्यक्ष पदमा सातजनाको उम्मेदवारी परेको छ । अघिल्लो निर्वाचनमा प्राप्त परिणामलाई विश्लेषण गर्दा गाउँपालिका अध्यक्षमा मुख्यतः चार प्रमुख दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

अघिल्लो निर्वाचनमा अध्यक्षमा नेपाली कांग्रेस र राप्रपाबीच मुख्य प्रतिस्पर्धा भएकोमा राप्रपाका बाबुराजा श्रेष्ठले बाजी मारेका थिए । कांग्रेसकी प्रत्यासी फूलवती राजवंशी अन्तिमसम्म टक्कर दिए पनि थोरै मतान्तरले पराजित भएकी थिइन् । अरू पदहरूमा कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । गत निर्वाचनमा राप्रपाले ३७४० मत प्राप्त गर्दै अध्यक्षमा जित्दा नेपाली कांग्रेसले ३४५३, माओवादी केन्द्रले ३३५३ र एमालेले २७५७ मत प्राप्त गरेको थियो । कांग्रेसले नेतृ फूलवती राजवंशीलाई पुनः अध्यक्षको उम्मेद्वार बनाएको छ । महिला र स्थानीय आदिवासी तथा अल्पसंख्यकको प्रतिनिधित्व गर्ने भएकाले आफूलाई मतदाताको शुभेच्छासहितको समर्थन रहने राजवंशीको विश्वास छ ।
यो पटक पनि अध्यक्षको बाजी मार्ने दाउमा रहेका श्रेष्ठ र राजवंशीबीच नै प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । श्रेष्ठ भन्छन्( अधुरा(अपुरा काम पूरा गर्न पनि मैले नेतृत्वमा जानुपर्छ । गौरीगञ्जमा अध्यक्षमा एमालेबाट बिजयकुमार अग्रवाल र माओवादी केन्द्रकी मेनुका राजवंशी, जनता समाजवादी पार्टी (जसपा)बाट घनश्याम रिजाल अध्यक्षका उम्मेदवार बनेका छन् । गाउँपालिकाको उपाध्यक्षमा, कांग्रेसबाट मखना महतो, माओवादी केन्द्रबाट विद्यानन्दसिंह राजवंशी र एमालेबाट पुजन न्यौपाने कुँवर र राप्रपाबाट सन्थाल समुदायकी रानी सोरेन प्रत्यासी छन् ।
कमल : कमल गाउँपालिकामा अध्यक्ष पदका लागि सात जना र उपाध्यक्षका लागि आठ जना चुनावी मैदानमा छन् । यो पटकको चुनावी प्रतिस्पर्धामा नेकपा एमाले एक्लै चुनावी मैदानमा छ भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, संघीय लोकतान्त्रिक राष्टिूय मञ्च, लोकतान्त्रिक समाजवादी पार्टी, मंगोल नेशनल अर्गनाईजेशन लगायत छ दलीय गठबन्धन चुनावी प्रतिस्पर्धामा छ ।
गाउँपालिकाको अध्यक्ष पदका लागि एमालेका तर्फबाट भीमप्रसाद राई र उपाध्यक्षमा प्रमिला न्यौपाने तिवारीले उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्षमा हुकुमसिंह राई र उपाध्यक्षमा माओवादी केन्द्रका पर्शु सुवेदी चुनावी मैदानमा छन् । त्यस्तै राप्रपाबाट अध्यक्षमा विक्रम अधिकारी छन् भने नेपाल समाजबादीबाट रामबहादुर थापा, मंगोल नेशनल अर्गनाईजेसनका जमुना चेम्जोङ, राप्रपा नेपालका तर्फबाट तारादेबी अधिकारीले उम्मेद्वारी दिएका छन् । स्वतन्त्रतर्फ खगेन्द्रप्रसाद दाहाल, गणेश वान्तवा र सन्तोषकुमार राईले गाउँपालिकाको उपाध्यक्षमा उमेद्वारी दिएका छन् ।
कमल गाउँपालिकामा ३० गते हुने चुुनावका लागि ३७ हजार ९५० मतदाता छन् । यस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको बाजी कसले मार्ला भन्ने मतदातामा चासो चुलिँदैछ । एकातिर नेकपा एमाले अर्कोतर्फ ६ दलीय गठबन्धन चुनावी मैदानमा कम्मर कसेर लागेको छ । सबैले आफ्नो जित हुने बताउँदै आएका छन् ।
२०७४ को निर्वाचनमा अध्यक्षका प्रत्याक्षी मेनुका काफ्ले र हुकुमसिंह राई दुबै जनाले ८ हजार २ सय ७५ मत प्राप्त गरेका थिए । गोलाप्रथाद्वारा नेकपा एमालेका काफ्ले बिजयी भएकी थिइन् । २०७४ सालको चुनावमा माओवादी केन्द्रले प्राप्त गरेका १ हजार ९०९ मतलाई आधार मान्ने हो भने गठबन्धनको जीत सहज देखिन्छ । तर, दल परिवर्तन गरिरहने अस्थिर प्रबृत्ति र राप्रपाको प्रभाव कस्तो पर्छ ? भन्ने कुरामा निर्भर गर्छ । गत चुनावमा ३४५ मत प्राप्त गरेको राप्रपाको माहौल सुधारिएको पाइन्छ ।
बिर्तामोड : बिर्तामोड नगरपालिकामा प्रमुखमा १० जना र उपप्रमुखका लागि ९ जना चुनावी मैदानमा छन् । सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी केन्द गठबन्धनबाट प्रमुखमा भोजराज सिटौला र उपप्रमुखमा सिपी कडरियाले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै नेकपा एमालेबाट प्रमुखमा पवित्रादेवी महतारा र उपप्रमुखमा नगेन्द्रप्रसाद संग्रौला उम्मेद्वार रहेका छन् । नेपाल परिवार दलका केदार ढुंगाना र नगेन्द्र अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
जनता समाजवादी पार्टी नेपालबाट क्रमश प्रमुख र उपप्रमुखमा उदय गुरुङ र चिजा राई, राष्टिूय प्रजातन्त्र पार्टीबाट धु्रवकुमार उप्रेती र रञ्जु प्याकुरेल, एकीकृत समाजवादीबाट तीर्थ सिग्देल, विवेकशील साझाका निसासोनी कर्ण, मंगोल नेशनल अर्गनाइजेशनका राजकुमार लावती र रीतादेवी शर्मा, आमुल परिवर्तन मसिहा पार्टी नेपालका मनकुमार खुदाङ लिम्बू, नेपाल लोकतान्त्रिक पार्टीका अञ्चल धिमाल, मौलिक जरोकिलोबाट प्रज्ज्वल अधिकारी शर्मा र रोमादेवी घिमिरेले उम्मेद्वारी दिएका छन् ।
५७ हजार ४०९ जना मतदाता रहेको यो नगरमा प्रमुख र उपप्रमुखसहित अन्य पदमा कसले बाजी मार्ला भन्ने जनचासो चुलिएको छ
पूर्वकै व्यापारिक केन्द्रका रुपमा रहेको बिर्तामोडमा अबको नेतृत्व कस्तो आउला सबैको ध्यान खिचेको छ ।
अघिल्लो निर्वाचनमा एमालेले नौ हजार ११२ मत प्राप्त गर्दै प्रमुख पद जित्दा कांग्रेसले ८ हजार २१७ मत प्राप्त गरेको थियो भने माओवादी केन्द्रले तीन हजार ७९७ मत प्राप्त गरेको थियो ।
अघिल्लो निर्वाचनलाई आधार मान्ने हो भने नेपाली कांग्रेस र माओवादी केन्द्रको मत संख्या १२ हजार १४ हुन जान्छ । एमाले एक्लैको मत नौ हजार एक सय १२ छ । यसपटक नेकपा एमालेभित्रको फुट र गठबन्धन दल एक ठाउँमा उभिँदा गठबन्धनले जित्ने देखिए पनि एमालेले नै प्रमुख र उपप्रमुख जित्ने दाबी गर्दै आएको छ । एमालेले आफ्नो जित देख्नुको कारण कांग्रेसभित्रको आन्तरिक कलहलाई आधार मानेको छ ।
स्थानीय चुनावमा तेस्रो शक्तिको रुपमा रहेको राप्रपाले पनि आफूले जित्ने दावी गर्दै आएको छ । ‘गठबन्धन दलसँग हाम्रो प्रतिस्पर्धा हो । अघिल्लो निर्वाचनमा जितको नजिक पुगेता पनि यसपटक कार्यकर्ताको उत्साहजनक उपस्थिति र नयाँ पार्टी प्रवेश गरेका सदस्यले मतदान गर्ने हुँदा राप्रपाको जित निश्चित छ’( जिल्ला अध्यक्ष ओझाले भने ।
कनकाई : कनकाई नगरपालिकाको मेयरमा कसले बाजीमार्ला ? त्यो त हेर्न बाँकी नै छ । कनकाईमा मेयर पदको टिकट नपाएपछि कांग्रेस छोडेर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका शेरबहादुर थापा र एमाले छोडेर राप्रपामा प्रवेश गरी सो पार्टीबाट मेयर पदका उम्मेदवार बनेका श्यामसुन्दर ओलीले कति मतदातालाई प्रभाव पार्लान् ? भन्ने विभिन्न अनुमान हुन थालेका छन् ।
शेरबहादुर र श्यामसुन्दरले प्राप्त गर्ने मतका आधारमा सत्तारुढ गठबठन्धन र एमालेका उम्मेदवारको हार(जितको आँकलन गर्न थालेका छन् । ३५ हजार ४७१ जना मतदाता रहेका छन् ।
कनकाईमा गठबन्धनकाबाट नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरिया एमालेकाबाट राजेन्द्रकुमार पोख्रेल त्यस्तै विवेकशील साझा पार्टीबाट भीमप्रसाद अधिकारीले, राप्रपाबाट श्यामसुन्दर ओली र मौलिक जरोकिलो पार्टीका टंक उप्रेती, स्वतन्त्रका तर्फबाट शेरबहादुर थापा, देवीप्रसाद उप्रेतीले समेत प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनलाई आधार मान्दा यो नगरमा कांग्रेस र एमालेको मुख्य प्रतिष्पर्धा थिए । गतनिर्वाचनमा नेकपा एमालेका तर्फबाट राजेन्द्रकुमार पोखरेलले ८ हजार ४१६ मत प्राप्त गर्दै नगर प्रमुखमा बिजयी हुँदा कांग्रेसका एकराज उप्रेतीले ६ हजार १९७ मत प्राप्त गरेका थिए । एमाले र कांग्रेसको दुई हजार २१९को अन्तर देखिन्छ ।
यी दुवै दललाई यसअघि दल छोडेर गएका कांग्रेसका शेरबहादुर थापा र एमाले छोडेर राप्रपामा गएका श्यामसुन्दर ओली दुवैका लागि चुनौति मानिएका छन् । कनकाईमा पोखरेल, चिमरिया र थापाबीचमा नै मुख्य प्रतिष्पर्धा हुने आंकलन गरिएको छ । निर्वाचनबाट कांग्रेस, एमालेका साथै स्वतन्त्र उम्मेद्वार थापाले पनि आफ्नो जीत दावी गर्दै आएका छन् ।
कनकाईको उपप्रमुख सात जनाको उम्मेदवारी परेको छ । जसमा गठबन्धनकातर्फबाट उममेयरमा आशा शर्मा शिवाकोटी, एमालेबाट मञ्जु प्रसाई, नेकपा समाजवादीबाट अम्बिकादेवी महत, विवेकशील साझा पार्टीबाट अम्बिका चापागाँई, राप्रपाबाट सचित्रा खनाल, मौलिक जरोकिरोबाट शान्ता दाहाल र उन्नत लोकतन्त्र पार्टीबाट बिन्दिया बराइलीले उम्मेदवारी दिएका छन् ।
बाह्रदशी : २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेस एक्लैले जितेको बाह्रदशी गाउँपालिकामा यो पटक गठबन्धन गरिएको छ । उबेला ७ वटा वडा मध्ये वडा नं.–४ कांग्रेसले जितेको थियो ।
पालिको अध्यक्षमा २०७४ मा अध्यक्षमा खड्गप्रसाद राजवंशी र उपाध्यक्षमा रत्नाकुमारी राजवंशी निर्वाचित भएका थिए ।
गाउँपालिका अध्यक्षमा राजवंशीले एमालेका उम्मेदवार लक्ष्मण पाठकलाई ४२८ मतान्तरले पछि पारेका थिए । राजवंशीले ५ हजार ५३९ मत प्राप्र्दै अध्यक्ष बन्दा पाठकले ५ हजार १११ मात प्राप्त गरेका थिए भने माओवादी केन्द्रले १ हजार७९५ र राप्रपाले १४१४ मत प्राप्त गरेको थियो ।
वैशाख ३० मा हुने निर्वाचनमा एमालेसंग प्रतिष्पर्धामा उत्रिएको गठबन्धनबाट अध्यक्षमा राजवंशी र माओवादी केन्द्रले शंकरप्रसाद सेढार्इँलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।
यो निर्वाचनमा बाह्रदशीमा गुमेको विरासत फर्काउन नेकपा एमालेले देवेन्द्र चम्लागाँईलाई अध्यक्षको उम्मेदवार बनाएको छ । राप्रपासहित अन्य दल र स्वतन्त्रसहितको पालिकाको अध्यक्ष पदका लागि ९ जना चुनावी प्रतिष्पर्धामा छन् ।
अर्जुनधारा : झापाका १५ वटा स्थानीय तहमध्ये प्रमुख पदका लागि सबैभन्दा कम उम्मेदवारी दर्र्ता भएको नगरपालिका अर्जुनधारा हो । यो नगरको प्रमुख पदका लागि गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसकी रञ्जिता कार्कीसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट बलदेवसिंह गोम्देन तामाङ्ग र राष्टिूय प्रजातन्त्र पार्टीबाट सूर्यकुमार खतिवडाको उम्मेदवारी रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट प्रमुखमा उम्मेद्वारी दिएकी रमा खवासले उम्मेद्वारी फिर्ता गरेसंगै नगरप्रमुख पदका लागि तीन जना प्रतिस्पर्धा छन् ।
त्यस्तै उपप्रमुखमा पनि समाजवादीबाट उम्मेदवार बनेका प्रेम सागर सापकोटाले उम्मेद्वारी फिर्ता लिएसँगै चार जना प्रतिष्पर्धामा छन् । प्रतिष्पर्धामा गठबन्धनबाट माओवादी केन्द्रका जितेश योञ्जन छन् भने एमालेबाट खड्गमाया पराजुली, राप्रपाबाट तारादेवी बस्नेत र उन्नत लोकतान्त्रिक पार्टीका चित्रबहादुर विकको उम्मेदवारी छ ।
यो नगरमा प्रमुख र उपप्रमुखका लागि प्रमुख दुई दलबीच तीब्र प्रतिष्पर्धा हुने देखिन्छ । २०७४ को निर्वाचनमा हरिकुमार रानाले १३ हजार ८७९ मत प्राप्त गर्दा कांग्रेसका मेयरले ९ हजार ६४१ प्राप्त गरेका थिए । त्यो बेला माओवादीले २ हजार ५०६, जनमुक्तिले ३५९ मत प्राप्त गरेको थियो भने राप्रपाले ७५४ मत प्राप्त गरेको थियो ।
यो नगरमा ५३७४५ मतदाता रहेका छन् । जसमा पुरुषको संख्या २६५५९ र महिला मतदाताको संख्या २७१८४ तथा अन्य दुई जना छन् । गठबन्धन दलले आफूहरुसंग प्रशस्त जित्ने आधार रहेको बताउँदै आएको छ ।
कचनकवल : कचनकवल गाउँपालिकाको नेतृत्व गर्ने आकांक्षा देखाउँदै एक स्वतन्त्रसहित आठजनाले अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका छन् ।
यसअघि एक्ला एक्लै प्रतिष्पर्धा गर्दा राष्टिूय प्रजातन्त्र पार्टीले जितेको कचनकवलमा यो पटक अनौठो तालमेल गरिएको छ ।
कचनकवल अध्यक्षका लागि कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशीले उम्मेद्वारी दिएका छन् । राजवंशीलाई एमालेले सघाउने सहमति भएको छ । तालमेलमा एमालेले उपाध्यक्ष लिएको छ ।
नेकपा माओवादी केन्द्रका तर्फबाट बुद्धिप्रसाद नेपाल , जनता समाजवादी पार्टीबाट ज्ञानबहादुर राई, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट कर्णलाल राजवंशी, नेपाल कम्युनिष्ट पार्टी (एस) बाट खेपचरण यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अन्जरा आलम जनमत पार्टी (जपा) बाट वाकसिंह राजवंशी र विनोदकुमार खरेलले स्वतन्त्रबाट अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका छन् ।
त्यस्तै उपाध्यक्षमा नेकपा एमालेबाट नवराज भट्टराई, नेकपा माओवादी केन्द्रबाट भागीरथा अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट हेलामती राजवंशी, राप्रपाबाट निमसरी राजवंशी र जनमत पार्टी (जपा) बाट सरस्वती मुखियाले उम्मेद्वारी दिएका छन् ।
कचनकवलमा उम्मेद्वारी दिएका राप्रपाका अन्जरा आलम र निमसरी निवर्तमान अध्यक्ष र उपाध्यक्ष हुन् भने कांग्रेसका प्रत्यासी राजवंशी २०७४ को निर्वाचनका प्रतिष्पर्धी हुन् ।
यो पटक कचनकवलमा कांग्रेस र एमाले राप्रपाको आधार क्षेत्र भत्काउने दाऊमा छन् भने राप्रपालाई विरासत जोगाउने चुनौति छ ।
भद्रपुर : भद्रपुर नगरपालिकामा मुख्य गरी कांग्रेस माओवादीको गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिष्पर्धा हुने आंकलन गरिएको छ । यद्यपी पछिल्लो समय राप्रपा समेत शसक्त बन्दैै आएको कुरालाई नजरन्दाज गर्न सकिन्न ।
भद्रपुरमा नगरको आगामी ५ वर्षे नेतृत्वका लागि गठबन्धनका तर्फबाट प्रमुख पदमा कांग्रेसका गणेश पोखरेल, नेकपा एमालेबाट असारु राजवंशी, जनता समाजवादी पार्टी नेपालबाट समरकुमार राई, राप्रपाबाट नवराज पनेरु, राष्टिूय जनमुक्ति पार्टीबाट यामबहादुर लिम्बू,संघीय लोकतान्त्रिक राष्टिूय मञ्चका तर्फबाट विष्णु कर्मकार, मंगोल नेशनल अर्गनाइजेसनबाट इन्द्रकुमार सुहाङ, मौलिक जरोकिलो पार्टीबाट चुडामणी अधिकारी नगरपालिकाको प्रमुखका लागि आकांक्षा देखाउँदै चुनावी मैदानमा छन् ।
त्यसैगरी उपप्रमुख (उपमेयर)मा गठबन्धनका तर्फबाट नेकपा माओवादीका शिवकुमार राजभण्डारी, नेकपा एमालेबाट कौशल्या अधिकारी, राप्रपाबाट राधा कार्की, राष्टिूय जनमुक्ति पार्टी मञ्जु वर्मा, मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट यमकुमारी लिम्बू, मौलिक जरोकिलो पार्टीबाट कृष्णदेवी चुडाल ओली र जन समाजवादी पार्टीबाट नुतन झापाले उम्मेद्वारी दिएका छन् ।
स्थानीय तहको निर्वाचनमा दल रोज्ने कि व्यक्ति भन्ने कुरा प्रश्नले पनि अल्मल्याएको छ भने मुख्य प्रतिष्पर्धी मानिएका दलहरु आपसमा प्रतिष्पर्धा गरिरहँदा त्यसको लाभ तेस्रो शक्तिले पनि नउठाउला भन्न सकिने अवस्था छैन । किन कि साना दलहरु पनि अस्तित्वको लडाँई र आफ्ना मत संगाली राख्नका लागि दिएको उम्मेद्वारीले कुन कुन ठूला दललाई असर पार्छ आंकलन गर्न सकिने अवस्था छ्रन।
दमक : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा नगरपालिकाको नेतृत्वका आकांक्षा गर्दै स्वतन्त्रसहित १६ जनाले मनोनयन दर्ता गरेका छन् ।
साना(ठूला गरी ११ वटा दल र ५ स्वतन्त्रसहित १६ जनाले नगरप्रमुख पदमा उम्मेद्वारी दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
दमकमा एमालेको विरासत भत्काउन राप्रपाका राम थापालाई दमक नगरको मेयर पदमा समर्थन गर्दै गठबन्धन दलका तर्फबाट उपप्रमुखमा मात्रै उम्मेद्वारी दिएको छ ।
नगरका प्रमुख पदमा थापा राप्रपाबाट चुनावी मैदानमा रहँदा गठबन्धनबाट उपप्रमुखमा कांग्रेसबाट रेगिना भट्टराई, नेकपा एमालेबाट निवर्तमान उपमेयर गीताकुमारी पौडेल अधिकारी र उपप्रमुखमा अम्बिकाप्रसाद खनालले उम्मेद्वारी दिनुभएको छ । त्यस्तै नगरप्रमुखको आकांक्षा देखाउँदै समाजवादी पार्टीबाट पवन विष्ट, लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रमुखमा कृष्ण राया र उपप्रमुखमा मेरी राजवंशी, विवेकशील साझाबाट रेवतचन्द्र भण्डारी, नेपाली जनता दलबाट रामप्रसाद तिम्सिना, संघीय लोकतान्त्रिक राष्टिूय मञ्चबाट प्रमुखमा यामबहादुर लिम्बु र उपप्रमुखमा विष्णुमाया थापा, मंगोल नेशनल अर्गनाइजेसनबाट दिपेशकुमार राई मौलिक जरोकिलो पार्टीबाट प्रमुखमा राजकुमार दाहाल र उपप्रमुखमा खेमकुमारी ओलीले उम्मेद्वारी दिएका छन् । त्यसैगरी किरात खम्बुवान साझा पार्टीबाट देउकुमार राई, उन्नत लोकतन्त्र पार्टीबाट दिपेन्द्र पौडेल उम्मेद्वारी दिंदा बीरसिंह धिमाल, निलकण्ठ सापकोटा, नेत्रजंग थापा, कमल पराजुली र कृष्ण खनालले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका छन् । उपप्रमुखको दावी गर्दै रुक्मीणा विष्टले स्वतन्त्र उम्मेद्वारी दर्ता गर्नुभएको छ ।
मेचीनगर : मेचीनगर पालिकामा आगामी ३० गते हुने निर्वाचनमा कांग्रेस माओवादी केन्द्र गठबन्धनबाट नगरपालिकाको प्रमुख (मेयर) पदमा इन्द्रबहादुर बुढाथोकी उम्मेद्वार बन्दा नेकपा एमालेका तर्फबाट गोपालचन्द्र बुढाथोकीले प्रमुखमा उम्मेद््वारी दिएका छन् ।
बहालवाला प्रदेश सांसद बुढाथोकीले सांसदबाट राजीनामा दिएर नगरको प्रमुखका लागि चुनावी मैदानमा उत्रिएका हुन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट लवनसिंह धिमाल, राष्टिूय प्रजातन्त्र पार्टी
रमेश दाहाल, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) भरोसादास पौडेल, मंगोल नेशनल अर्गनाइजेसनबाट किशोर धिमाल, मौलिक जरोकिलो पार्टीबाट हिरा बाँस्तोलाले प्रमुखमा उम्मेद्वारी दर्ता गर्दा रामकुमार बुढाथोकी र विजयकुमार अधिकारी स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गरी चुनावी मैदानमा छन् ।
नगरपालिकाको उपप्रमुखतर्फ नेकपा एमालेबाट निवर्तमान उपमेयर मीनाकुमारी पोख्रेल, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्थाल समुदायकी अनिता मुर्मू, नेपाल कम्युनिष्ट पार्टी (एस)बाट शारदा शर्मा घिमिरे, राप्रपाबाट सबिना बजगाई, मंगोल नेशनल अर्गनाइजेसनबाट शिखा लिम्बू, मौलिक जरोकिलो पार्टीबाट सीता दुलाल र डिल्लीराम घिमिरेले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।
झापा : झापा गाउँपालिकाको आगामी नेतृत्वको इच्छा राख्दै ८ जनाले मनोनयन दर्ता गरेका छन् । एक स्वतन्त्रसहित विभिन्न दलबाट समेत जम्मा ८ जनाले मनोनयन दर्ता गराएका हुन् ।
झापा गाउँपालिकामा आगामी नेतृत्वका लागि नेकपा एमालेका तर्फबाट गौरीशंकर राजवंशी, राष्टिूय प्रजातन्त्र पार्टीका तर्फबाट चन्द्रबहादुर कार्की, नेपाली कांग्रेसका तर्फबाट निवर्तमान अध्यक्ष जयनारायण साह, मंगोल नेसनल अर्गनाइजेसनबाट दुर्गादेवी तामाङ, जनता समाजवादी नेपालबाट मोहितलाल कामती, नेकपा माओवादी केन्द्रबाट रुद्र बजगाँई, जनमत पार्टीबाट लोथ्र्रो हेमरम र लक्ष्मीप्रसाद गणेशले स्वतन्त्र गरी गाउँपालिकाको अध्यक्षमा ८ जनाले उम्मेद्वारी दिएका हुन । यो गाउँपालिकामा २०७४ को निर्वाचनमा पनि दलहरुले आ–आफ्नै उम्मेद्वार उठाएका थिए । जसमा कांग्रेसका अध्यक्ष पदका उम्मेदवार जयनारायण साहले ४ हजार ३९३ मत ल्याएर विजयी बन्दा नेकपा गजेन्द्र ताम्लीले ३ हजार ७८९ मत प्राप्त गर्दै उपविजेता बनेका थिए । माओवादी केन्द्रका बजगाईंले ३ हजार ४९९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष एमालेका तर्फबाट देवीमाया अधिकारी, राप्रपाबाट तारामाया राई, कांग्रेसबाट अन्जुदेवी थपलिया, नेकपा एकीकृत समाजवादीबाट इश्वरप्रसाद दाहाल र नेकपा माओवादी केन्द्रबाट मुन्नावती गणेशले उपाध्क्षमा आकांक्षा देखाउँदै मनोनयन दर्ता गरेर चुनावी प्रतिष्पर्धामा छनन् ।
हल्दिबारी : हल्दिबारी गाउँपालिकामा चारवटा दलले छुट्टाछुट्टै उम्मेद्वारी दर्ता गराएका छन् ।
गाउँपालिकाको अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष रविन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट अध्यक्ष पदका लागि मनोनयन दर्ता गर्दा नेकपा एमालका तर्फबाट डम्मर गिरीले अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका छन् । गिरी निवर्तमान उपाध्यक्ष हुन् ।
त्यसैगरी अन्यत्र सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्रले पनि अलग अलग उम्मेद्वारी दर्ता गराएका छन् । हल्दिबारीको पालिका प्रमुख मागेको माओवादी केन्द्रले आफूले भनेको नपाएपछि अध्यक्ष, उपाध्यक्षसहित केही वडाध्यक्ष र सदस्यहरुमा उम्मेद्वारी दर्ता गराएको हो । हल्दिबारी गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसका तर्फबाट तुलसी ओलीले उम्मेद्वारी दर्ता गरेका छन् भने माओवादी केन्द्रका तर्फबाट भवानी दंगाल (भानु) ले पनि सोही पदमा दावेदारी गर्दै उम्मेद्वारी दिएर चुनावी मैदानमा होमिएका छन् ।

































































































