बिर्तामोड २८ बैशाख । कुनै पनि निर्वाचनमा सही ठाउँमा मतदान नगरे मत बदर हुन्छ । यस पटक दलहरुबीच धेरै स्थानीय तहमा तालमेल भएको र मतदाता शिक्षा पनि प्रभाबकारी नभएका कारण मत बदरको संख्या बढ्ने धेरैको पूर्वानुमान छ ।
आफूले गरेको मतदान बदर हुन नदिन आम मतदाता पनि सचेत हुनुपर्छ । निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्र बदर हुन्छ । आयोगद्वारा निर्धारित स्वस्तिक चिन्ह्रबाहेकका अन्य चिन्ह्र जस्तै, औठा छाप, डटपेनले राइट वा क्रस गरेको वा मत पत्रमा कुनै मतसंकेत गरेको पाइएमा मतपत्र बदर हुन्छ ।
साथै मतसंकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको छ भने त्यस्तो मत बदर हुनेगर्छ । उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मतसंकेत नगरी अन्यत्र मत संकेत गरे र उम्मेद्वार नरहेको निर्वाचन चिन्ह्नमा मतसंकेत गरे पनि मत बदर हुने आयोगले जनाएको छ । दुई चिन्हको बिचमा मतसंकेत गरेको मतपत्र पनि बदर हुन्छ ।
कुनैपनि उम्मेद्वारको निर्वाचन चिह्नमा मतसंकेत नगरेमा पनि स्वतः मत बदर हुनेछ । निर्वाचित गर्नुपर्ने संख्याभन्दा बढी उम्मेद्वारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मतसंकेत गरेमा पनि मत बदर हुनेछ । आयोगका अनुसार मतसंकेत नगरी मतदान अधिकृतलाई मतपत्र फिर्ता दिएमा, आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरेमा, मतपेटिका भन्दा बाहिर मतपत्र राखेमा र जाली मतपत्रको प्रयोग गरेमा पनि मत बदर हुनेछ । स्थानीय तह निर्वाचनको लागि ६ वटा मतपत्र एउटै कागजमा निर्वाचन आयोगले छापेको छ । तसर्थ मतदान गर्ने व्यक्ति आफैले पनि मतपत्रमा निर्वाचन अधिकृतको दस्तखत छ कि छैन ? मत पत्र नबुझिने वा च्यात्तिएको छ कि छैन ? भन्ने कुरा हेर्न जरुरी छ ।
मतपत्रमा पहिलो अध्यक्ष वा प्रमुखको, दोस्रो उपाध्यक्ष वा उपप्रमुखको, तेस्रो वडाध्यक्षको, चौथो महिला वडा सदस्यको, पाँचौं दलित महिला वडा सदस्यको र छैंटौं खुल्ला सदस्यको मतपत्र छ । पहिलोदेखि पाँचौ मतपत्रमा कुनै एक स्थानमा मतदान गर्नुपर्छ भने छैटौंमा कुनै दुई चिन्हमा मतदान गर्नुपर्छ ।
यस्तो अवस्थामा मत बदर हुन सक्छ

































































































