अर्जुनधारा २२ बैशाख । अर्जुनधारा नगरपालिका वडा नं. ९ अन्तर्गत गठबन्धनको चुनावी प्रचार अभियानमा प्रमुख पदका उम्मेद्वार महिला नेतृ तथा अभिवक्ता रञ्जिता कार्कीले धर्म, संस्कृतिको संरक्षणसँगै समतामूलक समाज निर्माणमा गठबन्धन उम्मेद्वारको अहम् भूमिका हुने बताउनु भयो ।
कटहर डाँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कृषिमा आधारित नगर भएको हुँदा हरित नगरसँगै अग्र्यानिक नगरको रुपमा अगाडि बढाउने बताउँदै मेयरका उम्मेद्वार कार्कीले गठबन्धनलाई मतदान गरेर परिवर्तनको बाटोमा उभिन नगरबासीलाई आग्रह गर्नुभयो ।
घरदैलो अभियानमा उपप्रमुखका प्रत्यासी जीतेश योञ्जन, जनमुक्तिका दिलीप राई, एमाओवादीका सरु न्यौपाने लगायतले सम्बोधन गरेका थिए ।
यसरी नै घरदैलो अभियानमा सरिक नेपाली कांग्रेसका प्रदेश १ का सभापति उद्धव थापाले अब नगरलाई हाक्न गठबन्धनको पालो भएको बताउनु भयो । जहाँ–जहाँ हामी पुग्छौं, त्यहाँ गठबन्धनलाई स्वागत गरेको देख्न पाउँदा नगरवासीले नगरमा महिलाको नेतृत्व खोजेको स्पष्ट भएको बताउनु भयो ।
प्रचार अभियानमा नेपाली कांग्रेसका बीरमणि ढकाल, दिपेन्द्र ढकाल, युवा नेता मदन बुढाथोकी, मधेस नेता अजय देव, महिला नेतृ सरस्वती गोले, देवकला प्रसाई, लीलादेवी कटुवाल, पम्फा विश्वकर्मा, उपसभापति चतुर्भुज काफ्ले, जनमुक्तिका नगर अध्यक्ष राज खम्बू, भुपाल राना लगायतको टिम सरिक थिए ।
आजै गठबन्धनले वडा नं. ७ र ८ का बुथ कमिटि लगायतलाई मतदाता शिक्षा प्रदान गरेको छ । नेपाली कांग्रेसका अर्जुनधाराका कार्यवहाक सभापति प्रशान्त भण्डारीका अनुसार ७० जनाभन्दा बढीलाई प्रशिक्षण दिएको बताउनु भयो ।
प्रशिक्षण रुपक दाहालले नगर पार्टी कार्यालयमा प्रदान गर्नुभएको थियो । यसरी नै भोली वडा नं. १० र पर्सी वडा नं. ११ मा घरदैलो अभियान गरिने भएको छ । घरदैलो अभियानमा कार्यकर्ताहरु सहभागि हुन गठबन्धनले आव्हान गरेको छ ।
हरित तथा अग्र्यानिक नगर गठबन्धनको एजेण्डाः कार्की

































































































