झापा १४ बैशाख । झापाका ५ वटा पालिका प्रमुखमा दुई ठूला दलले महिलालाई उम्मेद्वार उठाएका छन् । यसअघि महिलाहरुले माग गर्दै आएको प्रमुख पदमा पनि महिलालाई उम्मेद्वार बनाइनुपर्ने माग तत्कालका लागि सम्बोधन भएको देखिन्छ । महिलाहरुले निर्णायक तहमा पनि ३३ प्रतिशत सुनिश्चितताको माग गर्दै आएका थिए ।
झापाका १५ पालिका मध्ये दमक, बिर्तामोड, अर्जुनधारा नगरपालिका तथा गौरीगञ्ज गाउँपालिका र बुद्धशान्ति गाउँपालिकाका प्रमुखमा संसदमा दुई ठूला राजनीतिक दलहरु एमाले र कांग्रेसले महिला उम्मेद्वार बनाएका हुन् ।
एमालेले दमकमा गीता अधिकारी र विर्तामोड नगरपालिकामा पवित्रा महतारा प्रसाईलाई मेयरको उम्मेद्वार बनाएको छ । अधिकारी र प्रसाई तत् तत् नगरपालिकाका यसअघिका उपमेयर पनि हुन् ।
त्यस्तै नेपाली कांग्रेस तथा सत्ता गठबन्धनको तर्फबाट अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्कीलाई मेयरको उम्मेद्वार बनाएको छ । कानूनमा राम्रो दख्खल राख्ने कार्की अधिवक्ता हुन् ।
कांग्रेसका तर्फबाट गौरीगञ्ज गाउँपालिकाको अध्यक्षका लागि फुलवती राजवंशी र एमालेबाट बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मिरा भुर्तेललाई उम्मेद्वार बनाएको छ ।
कांग्रेसबाट गौरीगञ्जको अध्यक्षमा उम्मेद्वारी दिएकी राजवंशी २०७४ सालको निर्वाचनमा पराजित उम्मेद्वार हुन भने बुद्धशान्तिकी भुर्तेल सोही गाउँपालिकाकी उपाध्यक्ष हुन् ।
नेतृत्वका लागि ३३ प्रतिशत महिलाले उम्मेद्वारी पाउनु सुखद कुरा हो । तर, महिला उम्मेद्वार भनेका पालिकामा उनीहरुका प्रतिष्पर्धी तिनै ठूला दलमध्येबाटै पुरुष रहेका छन् !
झापाका ५ पालिकाको प्रमुखमा महिलाको उम्मेद्वारी
