झापा ११ बैशाख । स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेद्वारी चयन गर्दा पालिकामा पार्टीकी इन्चार्जलाई बेवास्ता गरेकोप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले बुद्धशान्तिकी इन्चार्ज तथा झापा जिल्ला कमिटी सदस्य योगमाया पराजुलीले पद र पार्टीबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ भने नेकपा एमालेकै संगठित सदस्य हल्दिबारी ३ की इश्वरा तिवारीले पनि राजीनामा घोषणा गर्नुभएको छ ।
पछिल्लो समय पार्टीमा व्यक्तिवादी चरित्र हावी भएको तथा स्थानीय तहको उम्मेद्वार छनौट गर्दा क्षमता भएकालाई भन्दा पनि उपल्लो तहबाट भनसुनका भरमा टिकट वितरण गरेको भन्दै असन्तुष्ट रहनु भएकी पराजुलीले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गर्नुभएको छ । २०५४ सालको स्थानीय चुनावमा महिला सदस्यमा समेत निर्वाचित जनप्रतिनिधि हुनुहुन्थ्यो ।
आगामी दिनमा स्वतन्त्र रहेर सामाजिक काममा सक्रिय रहने जनाउँदै पराजुलीले राजीनामा घोषण गर्नुको कारण पहुँचवालाको हरेक कुरा सहि भन्ने परिपाटीबाट आफूँ मुक्त भएको बताउनु भयो ।
आगामी ५ वर्षे कार्यकालका लागि बैशाख ३० गते हुने निर्वाचनमा उम्मेद्वार बन्न मनोनयन दर्ता गर्ने पहिलो दिन आज झापामा नेकपा एमालेका तर्फबाट अधिकांस स्थानीय तहमा मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेको हल्दीबारी गाउँपालिका उपाध्यक्ष छनोटमा विवाद उत्पन्न भएको छ । उपाध्यक्ष छनोट तथा सिफारिस पारदर्शी र नियमसंगत नहुनुका साथै आफूलाई छेक्ने काम भएको भन्दै तिवारीले राजीनामा दिनुभएको हो । संविधान जारी भएपछि पहिलो स्थानीय तह निर्वाचन पश्चात हल्दिबारी गाउँपालिका तथा अन्य पालिकामा समेत सुशासनका लागि खबरदारी गर्दै आउनु भएकी तिवारी सूचनाको हक अभियानकी अभियान्ता समेत हुनुहुन्थ्यो । बैशाख ३० गते हुने निर्वाचनमा पार्टीका तर्फबाट गाउँपालिकाको उपाध्यक्ष पदको आंकाक्षी तिबारीलाई उमेद्वारका रूपमा एमाले हल्दिबारीले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा सामेल हुन नदिएपछि जिल्ला कमिटीमा उहाँले नेकपा एमाले जिल्ला कमिटी झापामा छलफल गरिपाउँ भनेर माग समेत गर्नुभएको बताउनु भयो।
नेकपा एमालेको १० औं महाधिवेशन पूर्व सदस्यता नविकरण गर्न मैले स्थानीय कमिटीमा अनुरोध गर्दा नवीकरण भईसकेको भनेर जानकारी पाएको थिए, निवेदनमा उल्लेख गर्नुभएको छ । पार्टीमा कस्ता ब्यक्तिले उम्मेद्वारी पाउने उहाँले पार्टी समक्ष जिज्ञाशा समेत राख्नु भएको छ । ‘मैले पहिले पार्टीमा उम्मेद्वारी दिन जाँदा दिन पाइने बताइयो’ तिवारीले भन्नुभयो– ‘पार्टीको गाउँपालिका बाहिर भएको छलफलमा गाउँपालिकाको टिमले तपाईको नाम टिपिदैन, यदि टिपिहाले पनि जिल्ला पठाइँदैन ।’
निवेदनमा संगठित सदस्यता नम्बर ख ७०११०२ रहेको उल्लेख गर्दै पार्टीको नीति, सिद्धान्त र बिचारको अनुशासन पूर्वक पालना गरेको बताएकी छिन् । ‘मलाई पार्टीको आन्तरिक प्रतिस्पर्धा र छनौटमै सामेल हुने फारम भर्नसम्म दिइएन ।’ उहाँले आफुलाई सदस्यता नविकरण नगरेको वहाना बनाएर अन्याय गरेको बताउनु भएको छ ।
यता एमाले हल्दीबारी गाउँपालिकाका अध्यक्ष त्रिलोचन सापकोटाले पार्टी केन्द्रको उम्मेद्वारी मापदण्ड नपुगेका कारण तिवारीले उम्मेद्वारी नपाएको प्रतिक्रिया दिनुभयो ।
सूचनाको हककी अभियान्ता समेत रहेकी तिवारीले गाउँपालिकामा सञ्चालन भएका विभिन्न सार्वजनिक सरोकारका सूचना माग गर्दा सहजरुपमा नपाएपछि सूचनाको हक समेत प्रयोग गर्नुपरेको थियो । सोही क्रममा तत्कालिन बहालवाला उपाध्यक्षसंग मौखिक टक्कर समेत परेको जानकारहरु बताउँछन् ।
एमाले बुद्धशान्ति इन्चार्ज पराजुली र तिवारीले छाडे एमाले

































































































