बिर्तामोड २४ चैत । स्थानीय निर्वाचनको सन्दर्भमा बालमैत्रीका सवालहरु बिषयक अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।
प्रथम बहुद्देश्यीय सहकारी संस्था लिमिटेड एवं बालबालिका तथा शिक्षा संचार मञ्च नेपालको आयोजनामा समपन्न कार्यक्रममा स्थानीय निर्वाचनका घोषणापत्रमा बालमैत्री अभियानलाई कसरी समेट्न सकिन्छ ? भन्ने बिषयमा राजनीतिक दल, संघसंगठनका प्रमुखहरूसग अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले संविधानले ब्यवस्था गरेका सबैका अधिकार कार्यान्वयन भए कि भएनन् समीक्षा गर्ने बेला आएको र कार्यान्वयनका लागि प्रतिबद्धता जरुरी रहेको धारणा राख्नुभयो ।
घोषणापत्रमा सबै दलले बालमैत्री र बाल अधिकारका बिषय समेट्न सचेत बनाउन कार्यक्रम प्रभावकारी भएको टिप्पणी गर्दै नेता थेवेले निर्वाचित जनप्रतिनिधिले घोषणापत्रको ब्यवहारिक कार्यान्वयनका लागि खबरदारी गर्न आग्रह गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका झापा संयोजक राजु आचार्य अग्निले देशका कानून र संविधानले दिएका अधिकार कार्यान्वयनमा आफ्नो पार्टी प्रतिबद्ध रहेकोे बताउदै बर्गीय, जातीय, क्षेत्रीय, बर्णाश्रमका आधारमा बाल अधिकारको अवस्था फरक रहेकोे टिप्पणी गर्दै सोही आधारमा बालमैत्री वातावरण र अधिकार र कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राख्नुभयो ।
नेकपा समाजबादीका झापा अध्यक्ष बेदराज रेग्मीले बालबालिका भविष्यका कर्णधार बालबालिका भएको बताउँदै अहिलेका बालबालिका प्रबिधि र चेतनाका हिसाबले अगाडि रहेको धारणा राख्नुभयो । चेतना र प्रविधिको पहुँचले क्रमशः बालमैत्री सवालमा सुधार भएको धारणा राख्दै उहाँले सन्ततिको उन्नति सबैले चाहने हँुदा राजनीतिक दल र संघसंगठनको साझा प्रयास जरुरी रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य देवराज कार्कीले बालबालिका बिषयमा अलिक कम्जोर बुझाइ रहेकोे र यसको ब्यवस्थापन घर–परिवारबाटै शुरु गर्नुपर्ने धारणा राख्नुभयो । बालकको मस्तिष्कको सर्वाङ्गीण बिकास २ बर्षकै उमेरमा हुने र यो समयमा पर्याप्त पौस्टिक आहार खुवाउनुपर्ने धारणा राख्नुभयो ।
सरोज पौडेलको सभापतित्वमा सप्पन्न कार्यक्रमको उद्देश्यमाथि प्रकाश फणिन्द्र दाहालले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै बालमैत्री नगर (भद्रपुर)की भावना पोखरेलले बालबालिका भविष्यका कर्णधार मात्रै नभएर बर्तमानका साझेदार पनि भएको बताउँदै हिंसामा परेका बालकालिकाको संरक्षणका लागि बाल आश्रम आवाश्यक रहेको धारणा राख्नुभयो । बालबालिकाले न्याय पाउन नेता वा जनप्रतिनिधि गुहार्नुपर्ने बाध्यता रहेको बताउँदै उहाँले यसको अन्त्य जरुरी रहेको धारणा राख्नुभयो । कार्यक्रममा सहजीकरण दिपक पाण्डेले गर्नुभएको थियो ।
स्थानीय निर्वाचनको सन्दर्भमा बालमैत्रीका सवालहरु बिषयक अन्तरक्रिया सम्पन्न

































































































