बिर्तामोड २२ चैत । स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले उम्मेद्वार सिफारिस गर्ने समयतालिका तोकेका छन् । राजनीतिमा सक्रिय धेरै ब्यक्ति वडा सदस्यदेखि अध्यक्ष–मेयरसम्म आकांक्षीहरु छन् । आफूले आस्था राखेको राजनीतिक दलबाट टिकट पाइन्छ कि पाइदैन ? भन्नेमा आकांक्षीहरु आशावादी छन् ।
विगतको जनाधार, सरकारमा रहँदा गरेका काम, सांगठनिक अवस्था आदिका कारण मुख्य गरी नेपाली कांग्रेस र एमालेबीच नै निर्वाचनमा प्रतिष्पर्धा हुने देखिन्छ । १५ वटा पालिका र १३१ वटा वडा रहेको झापामा पालिकामा अध्यक्ष–उपाध्यक्ष÷मेयर–उपमेयर, वडाध्यक्षसहित प्रत्येक वडामा ५ जना सदस्यसमेत गरी ६५५ जना जनप्रतिनिधि वडामा निर्वाचित हुनेछन् भने ३० जना पालिकामा निर्वाचित हुनेछन् ।
आफ्नो पालिका तथा वडाको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने जनप्रतिनिधि आफैंले चयन गर्ने अवसर लोकतन्त्रले प्रदान गरेको छ । आवधिक निर्वाचनमार्फत काम गर्न असक्षम नेतृत्वलाई विस्थापन र सक्षम नेतृत्व स्थापित गर्ने मुख्य अवसर निर्वाचन नै हो । यो अवसरको भरपुर उपयोग गरेर सक्षम र साझा नेतृत्व चयन गर्नसके पालिकाको मुहार फेर्न सम्भव छ ।
आगामी बैशाख ३० गतेका लागि निर्वाचनको समयतालिका सार्वजनिक भइसकेको छ। बैशाख ११ गतेदेखि नै निर्वाचन प्रक्रिया प्रारम्भ हुनेछ । यसका लागि समान हैसियतका प्रतिष्पर्धीहरुलाई उम्मेद्वारी दर्तामा सँगसँगै लैजानका लागि पनि चैतभरमा वडा एवं पालिकातहका उम्मेद्वारको टुङ्गो लगाइसक्नुपर्ने बाध्यता राजनीतिक दलहरुलाई छ ।
आफ्नो उम्मेद्वार आफैं चयन गर्ने अधिकारको भरपुर रक्षा गर्दै नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेद्वार सिफारिसको समयतालिका तोकिसकेका छन् । नेपाली कांग्रेसले चैत २१ गतेदेखि चैत २९ गतेभित्रमा उम्मेद्वार चयन टुङ्ग्याएर प्रदेश कार्यसमितिमा सिफारिस गरिसक्न कांग्रेस केन्द्रीय समितिले सर्कुलर गरिसकेको छ । केन्द्रीय समितिको सर्कुलरलाई आधार मान्दै नेपाली कांग्रेस झापाले चैत २३ देखि २९ सम्ममा उम्मेद्वार सिफारिस गरिसक्न सर्कुलर गरिसकेको छ ।
चैत २३ गतेभित्र वडा कार्यसमितिको बैठक बसी पालिकातहमा उम्मेद्वार सिफारिस गर्नुपर्ने, चैत २४ गते गाउँ–नगर समितिको बैठब बसी प्रदेशसभा क्षेत्रीय समितिमा उम्मेद्वारको नाम सिफारिस गर्नुपर्ने, चैत २५ गते प्रदेशसभा क्षेत्रीय समितिको बैठब बसी क्षेत्रीय समितिमा सिफारिस गरिसक्न, चैत २७ गते क्षेत्रीय समितिको बैठक बसी जिल्लामा सिफारिस गर्ने र चैत २९ गते जिल्ला समितिको बैठक बसी प्रदेशमा सिफारिस गर्न सर्कुलर गरिसकेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।
यसैगरी नेकपा एमालेले पनि वडातहबाटै उम्मेद्वार सिफारिसको कार्यतालिका सर्कुलर गरिसकेको छ । जस अनुसार चैत २७ गतेभित्रमा वडाबाट पालिकातहमा उम्मेद्वार सिफारिस गरिसक्न भन्दै वडातहलाई सर्कुलर गरेको छ । यसैगरी चैत ३० गतेभित्र प्रदेश समितिमा सिफारिस गरिसक्ने समयतालिका तोकेको नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख झापाका संयोजक गोपाल काफ्लेले जानकारी दिए ।
निर्वाचन सम्बन्धि कानून एवं पार्टी विधान समेतलाई आधार मान्दै नेपाली कांग्रेस र नेकपा एमालेको सर्कुलरमा केही समानता भने देखिन्छ । वडाबाट बढीमा एउटा पदका लागि ३ जनासम्म सिफारिस गर्न पाउने, वडाबाट सर्वसम्मत रुपमा एकजनाको मात्रै नाम सिफारिस भए उसैको टिकट सुनिश्चित हुने एवं वडातहको उम्मेद्वार जिल्लाले टुङ्ग्याउने र पालिकातहको उम्मेद्वार प्रदेश समितिले टुङ्ग्याउने समानता छन् ।
पार्टीमा गरेको योगदान, जनप्रिय, सामाजिक योगदान आदिको मूल्याङ्कन गर्दै लोकप्रिय उम्मेद्वार उठाएर आफ्नै पार्टीको पक्षमा मतपरिणाम ल्याउने रणनीतिमा नेपाली कांग्रेस र एमाले दुवै पार्टी छन् ।
स्थानीय तह निर्वाचनः कांग्रेस–एमालेको उम्मेद्वार सिफारिस तालिका

































































































