धुलावारी १८ चैत । परिवर्तन नै विकासको सोपान हो भन्ने मान्यता राखेर अघि बढेको रोटरी इन्टरनेशनल रोटरी डिष्ट्रीक्ट ३२९२ नेपाल–भूटानको १४ औं डिष्ट्रीक्ट कन्फ्रेन्स झापाको मेचीनगरमा शुक्रबार (आज) देखि शुरु भएको छ ।
कन्फ्रेन्समा एकहजार दुईसय बढी रोटेरियनहरु सहभागी हुने कन्फ्रेन्समा विभिन्न सातवटा विषयबस्तुलाई फोकस गरिएको छ ।
‘परिवर्तन नै विकासको सोपान हो’ भन्ने मुल उद्देश्यका साथ रोटरी इन्टरनेशनल, रोटरी डिष्ट्रीक्ट ३२९२ नेपाल–भुटानको ३ दिने १४औँ डिष्ट्रीक्ट कन्फ्रेसमा शान्ति स्थापना र संघर्षको रोकथाम, बुनियादी शिक्षा र साक्षरता, रोगको रोकथाम र उपचार, पानी र सरसफाई, सामाजिक आर्थिक विकास, मातृत्व र बाल स्वास्थ्य तथा पर्यावरण सहयोगका क्षेत्रमा काम गर्ने लक्ष्य रहेको बताइएको छ ।
कन्फ्रेन्सको पूर्व सन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलन गरेर कन्फ्रेन्सबारे जानकारी दिइएको हो ।
स्वलगानीमा कन्फ्रेन्समा सहभागी रोटेरियनहरुले आफ्नो कमाईको केही रकम रोटेरियन फन्डमा जम्मा गर्ने गरेका छन् । विगत ११७ वर्षयता विश्वका २०० बढी देशमा सामाजिक सेवाका काम गर्दै आएको रोटरीमा विश्वका १४ लाख सदस्य रहेका छन् भने प्रशासनिक ढाँचाको आधारमा लगभग ५ सय ४५ वटा डिष्ट्रीक्टहरु सञ्चालनमा रहेको बताइएको छ ।
रोटरी धनाढ्यहरुको मात्र संस्था हो भन्ने अधिकतम ‘नन रोटेरियन’हरुको बुझाईप्रति कटाक्ष गर्दै पत्रकार सम्मेलनमा सो अवसरमा पत्रकारले राखेका अन्य विविध विषयमा रोटरी डिष्ट्रीक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रीक्ट गभर्नर सन्तोष रिजाल, पूर्व डिष्ट्रीक्ट गभर्नरहरु सञ्जीव गिरी, चिन्तामणि भट्टराई, बासुदेव गोलियन, जय राज्य लक्ष्मी शाह, डिष्ट्रीक्ट गभर्नर नोमिनि राजेन्द्र धोजु, डिष्ट्रीक्ट सचिव प्रभात योञ्जन, कन्फ्रेसका कार्यक्रम संयोजक वेनी गोपाल मुन्द्रा, सहसंयोजक कुमार गिरी, सचिव सुजन प्रधानले पत्रकारको जिज्ञासाको जवाफ दिंदै, ‘रोटरी फाउण्डेसनमा हामीले जति डोनेशन गछौं त्यसको दश गुणा बढी फाउण्डेसनबाट सामाजिक कामका लागि हामीले प्राप्त गर्छौं, त्यो प्राप्त भएको रकमले आवश्यकता हेरेर आ–आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा सहयोग गर्छौं–जसले धनीको मात्र संस्था भनेर बुझ्नु भएको छ त्यो भ्रम हो, रोटेरियनहरु धनको धनी होइन मनको धनी हो ।’
‘मनका धनी’ हरुको संस्था रोटरीको १४ औं डिष्ट्रीक्ट कन्फ्रेन्स शुरु

































































































