बिर्तामोड १७ चैत । राजस्व अनुसन्धान कार्यालय पसल शिलबन्दी गरेको विरोधमा दिउँसोदेखि भएको सडक अवरुद्ध अपरान्ह्रदेखि खुलेको छ । राजश्व अनुसन्धान विभागका कर्मचारीसँग शुक्रबार छलफल गर्ने सहमतिपछि राजमार्ग खुलाउने निर्णय भएको उद्योग वाणिज्य संघ विर्तामोडले जनाएको छ । बिर्तामोडसिथत शनिश्चरे रोडको साह कपडा पसलमा शिलबन्दी गरेको भन्दै व्यवसायीहरु सडकमा उत्रिएर बाटो अवरुद्ध पारेका थिए ।
कार्यालयले राजश्व चुवाहट भएको भन्दै पसलमा खानतलासी गरेको थियो । कोरोना कहरका कारण ब्यवसायी मारमा परेका बेला व्यवसायीलाई थप मारमा पार्न नहुने विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवकोटीले बताउनु भयो । राज्यले नियमन गर्न पाँउने भएपनि ब्यवसायीलाई आतंकित पार्ने अधिकार नभएको शिवाकोटीको भनाई छ ।
विभागले बिहीबार दिउँसो एकजना बालक मात्र भएको अवस्थामा छापा मारेको व्यवसायीहरुको आरोप छ । व्यवसायीलाई आतंकित पार्ने काम भएकाले आन्दोलित हुनु परेको उद्योग वाणिज्य संघ विर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने बताउनु भयो । वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र सहजकर्तासहितको बैठक बस्ने सहमति भएकाले तत्काललाई आन्दोलनका कार्यक्रम स्थगित गरिएको बाणिज्य संघका महासचिव अर्जुन मैनालीले जानकारी दिनुभयो ।
बिर्तामोडमा अवरुद्ध राजमार्ग खुल्यो

































































































