बिर्तामोड १६ चैत । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाँईले पहिलोपटक मतदान गर्ने तरुण, युवा, विद्यार्थीहरुलाई शान्ति र लोकतन्त्रको पक्षमा रुखमा मतदान गर्न अपिल गरेका छन् । नेपाल विद्यार्थी संघ गौरादह कृषि क्याम्पस इकाइ समितिद्वारा आज आयोजित नवआगन्तुक विद्यार्थीको स्वागत तथा सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कांग्रेसका युवा नेता हुमागाँईले जीवनमा पहिलोपटक गरेको मतदान गलत ठाउँमा नपरोस् भन्नेतर्फ विद्यार्थीहरु सचेत रहनुपर्नेमा जोड दिए । कार्यक्रममा गौरादह नगरपालिकाका मेयर रोहित साह, गौरादह कृषि क्याम्पसका क्याम्पस प्रमुख कृष्णहरि बाँस्कोटा, प्राध्यापक डा. बसन्त आचार्य, उपप्राध्यापक सन्तोष खनाल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अनिलकृष्ण प्रसाईं, नेपाली कांग्रेस गौरादह नगर सभापति यादवराज सेढाई, नेवि संघ झापाका प्रवक्ता सर्वेन्द्र निरौला लगायतले नेपाली कांग्रेसलाई विजयी गराएमात्र देशमा शान्ति, स्थिरता र विकास हुनसक्ने भनाइ राखेका थिए । नेवि संघ गौरादह कृषि क्याम्पस इकाइ समितिका सभापति राजेन्द्र काफ्लेको सभापतित्वमा भएको सो कार्यक्रममा विद्यार्थी नेताहरु अस्मिता साह, राम पौडेल, राजु घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेवि संघ गौरादह कृषि क्याम्पसका संस्थापक सभापति कुशल लामिछानेलाई कुशल संगठकको रुपमा कार्यक्रमको प्रमुख अतिथि हुमागाँईले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । विविध मनोरञ्जनात्मक सांस्कृतिक गीत, नृत्य र प्रहशन प्रदर्शन गरिएको उक्त कार्यक्रमको सञ्चालन रुपेश कार्की र दिप्ती तिम्सीनाले गरेका थिए ।

































































































