भद्रपुर ६ चैत । पौराणिक कालदेखि शक्ति प्रदर्शनमा महत्वपूर्ण मानिएको धनुषकाँण खेललाई नेपालबाट लोप हुन नदिन झापा जिल्लामा पनि खेलाडी उत्पादनको कार्य सुरू गरिने भएको छ । झापा जिल्ला आर्चरी संघले यही चैत ११ देखि तीन दिनसम्म भद्रपुरस्थित मेची रङ्गशालामा धनुषकाँण खेल सम्बन्धी तालिममार्फत खेलको अस्तित्व स्थापित गर्ने भएको हो ।
आर्चरी संघका झापा जिल्ला अध्यक्ष प्रज्ज्वल राईको अध्यक्षता तथा संघका केन्द्रीय अध्यक्ष एवम् अन्तराष्ट्रिय खेलाडी दीपकराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न पत्रकारसितको अन्तरक्रिया कार्यक्रममा खेलको बारेमा जानकारी समेत गराइएको थियो ।
नेपालमा २०४४ मा दर्ता भए पनि खेलको सुरुवात २०६२ सालबाट भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सन २०१६ मा रियो ओलम्पिकमा नेपालबाट मकवानपुरका जीतबहादुर मोक्तानले भाग लिए पनि पूर्व तयारी नपुगेका कारण सफल हुन नसकेको उहाँले जानकारी दिनुभयो । खेलको बारेमा पूर्ण जानकार नहुँदा खेलाडीमा विचलन आइ खेलबाट खेलाडी नै पलायन हुने कारण यो खेल ओझेलमा परे पनि अब नेपालभर सक्रिय गराइने बताउनु भयो ।
खेलका प्रमुख प्रशिक्षक समेत रहेका गुरुङले हाल नेपालका १७ जिल्लामा यो खेल फैलिए पनि सन्तोषजनक खेलाडी उत्पादन गर्न नसकिरहेको गुनासो गरे । उनले खेलमा १४ वर्षभन्दा माथिका दुवै समूहले भाग लिन सक्ने कारण अन्य विशेष कुनै मापदण्ड नरहेको बताउनु भयो । प्रदेश ४ को पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलमा प्रदेश १ बाट महिला पुरुष गरी ८ जना खेलाडीलाई छनौट गरी खेलमा भाग लिने वातावरणका लागि तालिम महत्वपूर्ण मानिएको गुरुङको भनाइ छ ।
संघका सचिव दीप पौडेलले सहजीकरण गरेको कार्यक्रममा झापा जिल्ला उपाध्यक्ष शमशेर तामाङ, सहसचिव महेन्द्र कोइराला, कोषाध्यक्ष विशाल राई, सदस्यहरू विवेक लिम्बु, भूपाल कार्की, भरत गुरुङ, राजन भट्टराई, विशाल लिम्बु, विजय लिम्बु, सुभाष राई, विवेक आचार्य, हाङ्ग नारायण लिम्बु, सञ्जय राई लगायतको उपस्थिति रहेको थियो ।
सघंलाई दरविलो बनाउन आदित्य पराजुली, प्रज्वल राई ,विगत ओझा र विनोद चापागाईँ सल्लाहकार समेत राखिएको अध्यक्ष प्रज्वल राईले जानकारी दिनुभयो ।
धनुषकाँण खेल बचाउन झापामा चैत्र ११ गतेदेखि प्रशिक्षण

































































































