भद्रपुर १ चैत्र । ३१ औं अन्तरराष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भ पारेर झापाको भद्रपुरमा ज्येष्ठ नागरिक तथा असल बुहारीहरुलाई सम्मान सहित अभिनन्दन गरिएको छ ।
ज्येष्ठ नागरिक संघ नगरकार्य समिति भद्रपुरको आयोजना तथा भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा मंगलबार चन्द्रगढीमा आयोजित कार्यक्रमका बीच नगरपालिका भित्रका १० वडा मध्ये प्रत्येक वडाबाट २/२ जना स्याहारकर्ता बुहारीका दरले २० जना र ४/४ जना ज्येष्ठ माता पितासहित ६० जनालाई सम्मान गरिएको हो ।
यसरी सम्मानीत हुनेहरुमा ७५ बर्ष माथिकाआमा बुबाहरु र असल स्याहरकर्ता बुहारी रहनु भएको छ । सम्मानित हुने ९६ बर्षीय मानबहादुर काफ्ले , ९२ बर्षिय माता निर्मला कोईराला सहितका ४० जनालाई सम्मान गरिएको हो ।
त्यसै गरी उत्कृष्ट बुहारीहरुमा भद्रपुर १० हनुमान् टोल निवासी ओमकुमारी घिमिरे (अम्बिका) , पुष्पा रेग्मी अधिकारी, इन्दिरा प्रसाई लगायत २० जना बुहारीहरुलाई सम्मान सहित अभिनन्दन गरिएको थियो ।
उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघ झापाका जिल्ला अध्यक्ष हरीप्रसाद ओली लगायतका अतिथिहरुले ज्येष्ठ आमा बुबालाई नगद सहित बस्त्र प्रदान गरी तथा बुहारीहरुलाई प्रशंसापत्रसहित नगद प्रदान गरेर अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ओली, संघका बरिष्ठ उपाध्यक्ष इृश्वरप्रसाद तिम्सिना, नागरिक एफ एम भद्रपुरका प्रबन्धक निर्देशक चिन्तामणी दाहाल, संघ झापाका उपाध्यक्ष सुर्यनारायण गणेश, भद्रपुर नगरपालिका सामाजिक विकाश शाखा अधिकृत जीवनकला राउत, ईश्वर पोखरेल, रेमनाथ चुडाल, लगायतले मन्तव्य राख्नु भएको थियो ।
संघ भद्रपुरका अध्यक्ष हेमप्रसाद खनालको अध्यक्षता तथा सचिव शंकर गौतमको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य संघ भद्रपुरका उपाध्यक्ष धनप्रसाद सिवाकोटीले गर्नु भएको थियो ।
ज्येष्ठ नागरिक दिवसमा ज्येष्ठ माता पिता र बुहारी सम्मानित

































































































