साबित्रा दहाल
चारआली ३० फागुन । त्रिदेव बहुमुखी क्याम्पस, मेचीनगर–१३, चारआलीले गुणस्तर सुनिश्चितता प्रत्ययनको प्रमाणपत्र पाएको अवसरमा सरोकारवालासँग खुशियाली साटासाट गरेकोछ । पूर्वको एक उत्कृष्ट शैक्षिक प्रतिष्ठानको रुपमा रहेको यस क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्ययनको प्रमाणपत्र प्राप्त गरेको खुशियालीमा चारआलीदेखि काँकडभिट्टा र काँकडभिट्टाबाट विर्तामोड हुँदै पुनःक्याम्पससम्म मोटरसाइकल ¥यालीपछि क्याम्पस प्राङ्गणमा पुगेर सभाको आयोजना गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आफ्नो कार्यकालमा मेचीनगरको गहनाको रुपमा रहेको त्रिदेव बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्ययनको प्रमाण–पत्रप्राप्त गर्नु सारा मेचीनगरबासीको गौरवको विषय भएको बताउनु भयो । उहाँले त्रिदेव क्याम्पसले क्यूएए प्रमाणपत्र प्राप्त गर्नुमा नगरपालिकाको पनि साथ र सहयोग रहेको बताउँदै यसको श्रेयमा नगरपालिकाले समेत भूमिका निर्वाह गरेको धारणा राख्नुभयो ।
कार्यक्रममा सल्लाहकार समितिका सहसंयोजक दुर्गाप्रसाद भट्टराईले क्यूएए प्रमाणपत्र भनेको कस्तुरीको सुगन्ध जस्तै भएको उल्लेख गर्दै सुवास लिन मेचीनगरबासी, छिमेकी पालिका र सरोकावालाहरुले जान्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समिति पूर्व अध्यक्ष सन्तोष नेउपाने, संस्थापक सञ्चालक समिति उपाध्यक्ष सरद शिवाकोटी, क्याम्पसलाई एक विगाह जग्गा प्रदान गर्नेे दाता दिलीप कार्की, मेचीनगर नगरपालिका वडा नं. १४ का वडाध्यक्ष शंकर पोखरेल, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका सहायक क्याम्पस प्रमुख शेरबहादुर बानियाँ, पार्टीहरुको तर्फबाट नेकपा एमाले मेचीनगर नगरपालिका वडा नं. १३ का अध्यक्ष भोजराज पराजुली लगायतले क्याम्पसले छोटो समयमा गरेको प्रगतिको प्रशंसा गर्दै यस क्याम्पसले प्राप्त गरेको महत्वपूर्ण सफलताले क्याम्पस र यस क्षेत्रको उचाई बढेको धारणा राखे । प्राप्त गरेको चिजलाई टिकाउने विषय चुनौतीपूर्ण रहे पनि सबै सरोकारवालाहरुको साथ र सहयोगबाट अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षता र प्राध्यापक संघका सभापति प्रकाश बास्तोलाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख माधव प्याकुरेल र सहायक क्याम्पस प्रमुख तेजप्रसाद खनालले संयुक्त रुपमा गरेका थिए।
क्याम्पसको स्थापना, विकास र सञ्चालनमा स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान पु¥याउने स्थानीय अग्रज बुद्धिजीवी, शिक्षासेवी, दाता महानुभावहरु, पूर्व तथा वर्तमान सञ्चालक समिति, सल्लाहकार समिति, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, प्राध्यापक, कर्मचारी विभिन्न विद्यार्थी संघ संगठनका प्रतिनिधि र विद्यार्थीहरु लगायत सम्पूर्ण सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
वि.सं. २०६४ सालमा स्थापना भएको क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्ययन (क्यूएए) प्रमाणपत्र प्राप्तिको लागि २०७२ साल साउनमा इच्छा पत्र पेस गरेको थियो । उक्त इच्छा पत्रलाई स्वीकृति प्रदान गर्दै विश्व विद्यालय अनुदान आयोगले विभिन्न समयमा विभिन्न विषयका विज्ञहरु पठाएर स्थलगत अध्ययन, अवलोकन गरी दिएको सल्लाह र सुझावलाई क्याम्पसले कार्यान्वयन गर्दै अघि बढेको थियो । आयोगको सल्लाह र सुझावलाई निरन्तर कार्यान्वयन, परिमार्जन र परिस्कार पश्चात ६ वर्षको अन्तरालमा २०७७ साल चैत्र १८ गते क्यूएए साईकल पूरा भएको पत्र प्राप्तभए पश्चात पुनःकेही महत्वपूर्ण विषयमा सुधार र परिमार्जन गर्नुपर्ने भनि आयोगको सुझाव अनुसार २०७८ असोजमा पुनः समकक्षी अध्ययन टोलीबाट पुनःअनुगमन भएको थियो । त्यस पश्चात २०७८ फागुन २३ गते देशभरका ४ बटा क्याम्पसलाई एकै मितिमा गुणस्तर सुनिश्चितता प्रत्यायनको प्रमाण–पत्र वितरण गरेको थियो ।
देशभर रहेका १४०० वढी क्याम्पसहरु मध्ये हालसम्म विश्व विद्यालय अनुदान आयोगले ५७ बटा क्याम्पसहरुलाई गुणस्तर सुनिश्चितताको प्रमाणपत्र वितरण गरिसकेको छ ।

































































































