विर्तामोड २४ फागुन । ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर प्रजातान्त्रिक आन्दोलनका अग्रणी महिला नेतृहरुलाइ सम्मान गरिएको छ ।
नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर–२ को आयोजनामा राणा शासनको अन्त्य, तत्कालीन राजा महेन्द्रले २०१७ सालमा जननिर्वाचित सरकारलाइ अपदस्त गरी एकदलीय तानाशाह लादेपछि प्रजातान्त्रिक समाजबाद, बहुदलीय ब्यवस्था र वाक एवं अभिव्यक्ति स्वतन्त्रताका लागि संघर्ष गर्नुभएका सातजना महिला नेतृहरुलाइ सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा धर्मकला प्रसाईं, दिब्या प्रसाईं, यज्ञकुमारी सिटौला, उमा पोखरेल, पद्मा बजगाइ, मिठु ढकाल र निर्जला बन रहनुभएको छ । सम्मानित अधिकांस नेतृहरुले निर्दलीय शासन ब्यवस्थाका बेला कांग्रेसले सञ्चालन गरेको प्रजातान्त्रिक समाजवादी आन्दोलनमा लागेकै कारण जेल, नेल, यातना, निर्वासन एवं सर्वस्वहरणसम्मको यातना भोगेका थिए ।
सम्मानित ब्यक्तित्वहरुलाई प्रमुख अतिथि एवं डिला संग्रौला, पूर्व मन्त्री उदयसमशेर राणा, विशेष अतिथिहरु नेपाली कांग्रेस १ नं प्रदेश सभापति उद्वव थापा, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्लीप्रसाद सिटौला, झापा सभापति देउमान थेवे, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले सम्मानपत्र, दोसल्लाले सम्मान गर्नुभएको हो । सम्मानित ब्यक्तित्वको जीबनी समेटिएको सम्मानपत्र उपसभापति लक्ष्मीप्रसाद आचार्य र सचिब चन्द्र चुडालले बाचन गर्नुभएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा। डिला संग्रौलाले कम्युनिष्टलाई मतदान गर्नु राष्ट्रघात हुने सन्देश लिएर गाउँ–टोलमा पुग्नुपर्ने बताउनुभएको छ ।
उहाँले एमाले अध्यक्ष के।पी। ओलीतर्फ संकेत गर्दै पार्टी संहाल्न नसक्ने, संसद बन्धक बनाउने र मुलुकमा अस्थिरता निम्त्याउने कम्युनिष्ट पार्टीलाई ‘नो भोट’ को मूल नारा लिएर गाउँ–गाउँ जानुपर्ने बताउनुभएको हो । कम्युनिष्ट नेतृत्वको सरकारले मुलुकलाई अस्थिरतातर्फ धकेल्दैगर्दा संविधानको रक्षा, राष्ट्रवाद एवं मुलुकको समृद्धिका लागि कांग्रेसले सिद्धान्त, विचार र नीति नमिल्ने दलहरुसँग गठबन्धन गरेर सरकारको नेतृत्व लिएको बताउनुभयो ।
‘सरकारमा गठबन्धन भएपनि कांग्रेसले अरु दलको बैशाखी टेकेर निर्वाचनमा जानुहुँदैन’–नेतृ संग्रौलाले भन्नुभयो–‘कांग्रेस पार्टी देशको मियो हो । कांग्रेसले मात्रै लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि निर्णायक भूमिका निर्वाह गर्छ ।’
संगठनभित्र मुद्धा, विचार र बल चाहिने उल्लेख गर्दै नेता संग्रौलाले आगामी २७ गतेबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु ‘घर–घर जाऔं कांग्रेस बचाऔं’ भन्ने मुल नारासहित गाउँ–टोलसम्म पुग्ने बताउनुभयो ।
कम्युनिष्ट शासन भएका मुलुकहरुमा महिला अधिकारको अवस्था कमजोर रहेको उल्लेख गर्दै संग्रौलाले लोकतान्त्रिक शासन ब्यवस्थामा मात्रै महिला, पिछडिएको वर्ग र सबै जातजातिको अधिकार सुरक्षित हुने दावी गर्नुभयो ।
आर्थिक क्रान्ति, आत्मनिर्भरता र सशक्तिकरणका लागि उत्पादन र विकासमा महिला सहभागिता बढाउनुपर्ने धारणा राख्दै नेता संग्रौलाले लैङ्गिक समताले मात्रै समाज रुपान्तरण र परिवर्तन सम्भव हुने बताउनुभयो । अहिले स्थानीय तहमा ४१ प्रतिशत महिलाहरुको सहभागिता रहेकोमा ९६ प्रतिशत उपमेयर–उपप्रमुखमा सिमित रहेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले अबको निर्वाचनमा ९६ प्रतिशत महिला मेयर–प्रमुखमा आउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री एवं नेपाल तरुण दलका पूर्व अध्यक्ष उदयसमशेर राणाले एमसिसि मुलुकको हितमा रहेकै कारण कांग्रेसकै नेतृत्वमा पारित गराएको दावी गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य उदयशमशेर राणाले आफू उपप्रधानमन्त्री हुँदा भीम रावलले एमसिसीको विषयमा एक शब्द नबोलेको र अहिले चर्का कुरा गर्नु राजनीतिक बेइमानी भएको बताउनुभयो । उहाले नारायणकाजी श्रेष्ठ, झलनाथ खनालले एमसिसीको विरोध गरेर आफूहरूलाई बेइमान नेताको पङ्क्तिमा उभ्याएको तर्क गर्नुभयो । राणाले उनीहरूलाई छेपारोले रङ फेरेजस्तो बोली नफेर्न सचेतसमेत गराउनुभयो । उनले एमसिसीका कारण अमेरिकी सेना नेपाल आए आफू धराहराको टुप्पोमा गएर हाम फाल्न तयार रहेको दावी गर्नुभयो ।
कार्यक्रममा सम्मानित ब्यक्तित्व यज्ञकुमारी सिटौला, झापा जिल्ला सभापति देउकुमार थेबे, अर्जुनधारा नगर सभापति हेमराज खरेललगायतले मन्तब्य राख्दै आधा आकाश ढाक्ने महिलाहरुको समान सहभागीताले मात्रै सामाजिक रुपान्तरण र परिवर्तन सम्भव हुने धारणा राख्नुभएको थियो ।
चारसय कार्यकर्ता कांग्रेसमा प्रवेश
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी लगभग चारसय कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशी कार्यकर्तालाई प्रमुख अतिथि, विशेष अतिथिहरुले पार्टीको साधारण सदस्यता प्रदान गर्दै खादा र अविरले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका नेपाल चिया बगान श्रमीक संघका अध्यक्ष दीपक तामाङ, शहीद परिवारका केदार समशेर गिरी र युवराज विमली, प्रदेश सदस्य मिरा खड्का, राजकुमार बराईली, जिल्ला सदस्यहरु सरस्वती सिटौला, पार्वता गिरी, एलबहादुर गिरी, झुमा बेडारी, लीला ढकाल, प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, महाधिवेशन प्रतिनिधिहरु उमा शिवाकोटी, टिका प्रसाई, भुमा घिमिरे लगायत नेपाली कांग्रेसमा आबद्ध विभिन्न तह र तप्काका महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत किरण श्रेष्ठ र सञ्चालन सचिव राम धिमालले गर्नुभएको थियो ।
सात अग्रज प्रजातान्त्रिक नेतृहरु सम्मानित

































































































