बिर्तामोड २३ फागुन । विर्तामोडमा सोमबार आयोजित एक अन्तरकृयाका वक्ताहरुले कार्यस्थलमा हुने हिंसा र उक्त हिंसा विरुद्ध बनेको कानूनी अस्पष्टताका कारण पीडितले न्याय नपाउने गरेको गुनासो गरेका छन् ।
११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला हिंसाका अवसरमा नारी सञ्चार गृह झापाको संयोजन तथा सोलिडारिटी सेन्टर र मिडिया एड्भोकेसी ग्रुपको आयोजनामा ‘महिलाको सफलताका लागि हिंसामुक्त कार्यस्थलको आवश्यकता’ विषयक कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् । कार्यस्थलमा हुने हिंसाका विषयमा बोल्दै सहभागी वक्ताहरुले प्रत्येक व्यक्तिको अनुभवका आधारमा हुने हिंसा मानिदै आएको उल्लेख गर्दै हिंसाको स्पष्ट ब्याख्या नहुनु र हिंसाको प्रकृति अनुसार आकर्षण हुने कानूनका विषयमा नागरिकमा चेतना नभएका कारण हिंसा नियन्त्रणमा समस्या देखिएका औल्याए ।
हिंसा अन्त्यको शुरुवात घरैबाट हुनुपर्नेमा जोड दिएका सहभागीले सबै क्षेत्रमा कुनै न कुनै प्रकारको हिंसा भइरहेको बताए ।
हिंसा केलाई मान्ने भन्ने प्रश्न अहंम बनेको धारणा राख्दै सहभागीले हिंसाको अनुभूति, ब्याख्या र बुझाई फरक हुनु, हिंसाका अनेक किसिम, महिला हिंसामा परेपनि पुरुषको पक्षमा महिला उभिनु, श्रमिक आफैं आफ्नो कानूनी अधिकारबारे बेखबर हुनु, कार्यस्थलमा सिनियर र जुनियरलाई सिकाउने बहानामा हुने हिंसा, महिला महिलाबीचको प्रतिष्पर्धात्मक ज्वलेसी, अधिकार स्थापित गर्न आस्था र निष्ठा भन्दा माथि उठ्न नसक्नु, कानून कार्यान्वयनमा राज्यले तदारुकता नदेखाउनु जस्ता कारणले श्रमिक तथा अन्य महिलाले अहिले पनि कुनै न कुनै ठाउँमा कुनै न कुनै बेला हिंसाको अनुभूति भएर पनि बोल्न नसकेको अवस्था रहेको बताएका छन् ।
कार्यक्रममा नेपाल बार एसोसिएसन झापाकी सचिव तथा अधिवक्ता हेमकला कट्टेलले कार्यस्थलमा हुने यौनजन्य हिंसा र दुव्र्यवहार सम्बन्धी बनेको कानूनमै खोट रहेको स्पष्ट पार्नुभयो ।
ौनजन्य हिंसा र दुव्र्यवहार सम्बन्धी कानून २०७१ लहडमा बनाइएको बताउँदै कट्टेलले कमजोर यौनजन्य कानूनमा टेकेर प्रशासनले कारवाही गर्नै कठिन रहेको बताउनु भयो ।
विभेदपूर्ण मानसिक सोचबाट, प्रमाण लुकाउने गरी कानून बनाइएको टिप्पणी गर्दै कट्टेलले आत्मशुद्धिकरण गरेर मात्रै अघि बढ्नुपर्ने उहाँको सुझाव थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख सन्तोष आचार्यले हिंसा र कार्यस्थलमा हुने हिंसा, हिंसाको कारण र प्रकृति बुझ्न जरुरी रहेको बताउनु भयो ।
अन्तरकृयामा सिता सापकोटा, पार्वता खरेल विमली, संगीता रौनियार, निरु परियार, विष्णु मैनाली, कञ्चना ढकाल सिटौला, संगीता थापा, रमा भण्डारी, रञ्जु प्याकुरेल, टिका लामिछाने, रोमा भण्डारी, इन्दु पूर्वेली, विष्णु चापागाँई, ज्ञानेन्द्र निरौला, मोहन काजी, लिला अनमोल, जानुका ओली, रेनुका डाँगी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
अम्बिका भण्डारीले सहजीकरण गरेको कार्यक्रममा आयाेजक संस्थाका तर्फबाट कार्यक्रमकाे अध्यक्षता गर्नुहुने सावित्रा दाहालले औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रम संयोजक संस्थाका अध्यक्ष भीमा शिवाकोटीले धन्यवादसहित कार्यक्रम समापन गर्नुभएको थियो ।
कार्यस्थलमा हुने हिंसाको परिभाषा र कानून नै अस्पष्ट

































































































