बुधबारे १८ फागुन । दारी ग्याङ झापाले बुद्धशान्तिमा बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिला सहित ५५ जनाले रक्तदान गरेका छन् ।
झापासहित विभिन्न जिल्लाहरुमा भएकाे रगतको चरम अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको दारी ग्याङ झापाका अध्यक्ष तथा कार्यक्रम सभापति गोकुल पौडेलले जानकारी दिनुभयाे ।
बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।
पछिल्लो समय सामाजिक कार्यमा सक्रिय रहेको दारी ग्याङले यसअघि छैठौँ वार्षिक उत्सवको अवसरमा दमकमा पनि रक्तदान कार्यक्रम गरेको थियो भने यस अघि आपत्कालिक रगत व्यवस्थापन लगायत विभिन्न असहाय गरिब लगायतलाई आर्थिक सहयोग गर्दै आएको बताइएको छ ।
बुधबारे तल्लो चौकमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस झापाका सभापति लाेकराज ढकाल, पूर्वेली साप्ताहिक पत्रिकाका अध्यक्ष चन्द्र प्रकाश कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै मन्तव्यकै क्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष भूजेलले दारी ग्याङले समाजको सकारात्मक विकास, विस्तार र प्रर्वद्धनका लागि गरेका विभिन्न सामाजिक कार्यलाई आफूँहरुले नजिकबाट निहालिरहेको बताउँदै आगामी दिनमा लागू औषध न्यूनीकरण सम्बन्धी कार्यक्रमहरु गर्न समेत सुझाव दिएका थिए । दारी ग्याङले आगामी दिनमा गर्ने विभिन्न कार्यक्रमहरुमा हरेक किसिमको सहयोग गर्न समेत आफूँहरु तत्पर रहेको उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
दारी ग्याङ झापाका सल्लाहकार सदस्य उमेश तिम्सिनाको संयोजनमा भएको कार्यक्रममा दारी ग्याङका सदस्य रामजंग क्षेत्रीले शाब्दिक स्वागत गरेका थिए भने दारी ग्याङ झापाका सचिव विवेक सुन्दासले कार्यक्रम संचालन गरेकोे दारी ग्याङ सदस्य दिपेश भट्टराईले जानकारी दिए ।
दारी ग्याङद्वारा आयाेजित रक्तदानमा ५५ जनाले गरे रक्तदान



















