झापा १५ फागुन । झापा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको छ । एककरोड ५६ लाख ८४ हजार सातसय ७९ रुपैयाँको लागतमा निर्मित गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको हो । भवनको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले गर्नुभएको हो ।
साढे चार वर्षसम्म भाडाको घरबाट गाउँ पालिकाको सवै सेवा प्रवाह गरेको गाउँपालिकाले वडा नम्बर ३ मा छुट्टै भवन निर्माण गरेसंगै अब आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीय पाँचजना दाताले जमिन प्रदान गरेसंगै गाउँपालिकाले भवन निर्माण गरेको बताइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले यस अघि झापा गाउँपालिकामा चारवटा वडा कार्यालयको समेत भवन निर्माण गर्दै उद्घाटन गरिएको बताउनु भयो । गाउँपालिकाको आफ्नै छुट्टै भवन नहुँदा साँघुरो ठाउँबाट सेवा प्रवाह गर्दै आएको तर, नयाँ प्रशासनिक भवन निर्माण गरिएसंगै सेवा प्रवाहमा समेत सहज हुने बताएका छन् । भवन निर्माणका लागि स्थानीयदाता देवेन्द्र राजवंशी, चन्द्रकला राजवंशी, आदुलदेवी राजवंशी, चित्रबहादुर श्रेष्ठ र निताई राजवंशीले निःशुल्क जग्गा प्रदान गरेका थिए ।
झापा गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष मोतिलाल गणेशको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीसहित नेपाली कांगे्रसका तर्फबाट सागीरथ गणेश, नेकपा एमालेबाट जगेन्द्र ताम्ली, नेकपा माओवादी केन्द्रबाट रुद्र बजगाई, वडा नम्बर २ का वडाध्यक्ष नेत्रवहादुर खड्का, ६ नम्वर वडाध्यक्ष हरिबहादुर बानिया, समाजसेवी विश्वनाथ सिंह राजवंशी, नेपाल शिक्षक महासंघका तर्फबाट जगन्नाथ राजवंशी नेपाल रेडक्रस सोसाइटी कुमरखोदवाट सुन्दरलाल गणेश, एनआइसी वंैकका तीलक शर्मा दुलाल, राप्रपाका तर्फबाट तारामाया राई, लोकतान्त्रिक समाजवादी पार्टीका प्रभुनारायण यादव, जनता समाजवादी पार्टीबाट बिष्णु महतो लगायतले बोलेका थिए । भवन उद्घाटन कार्यक्रमको सञ्चालन वडा नम्वर ६ का वडा सदस्य मोहन पोखरेलले गर्नुभएको थियो ।

































































































