Homeशिक्षाप्रविधिप्रतिको मोह बढ्दा सुस्ताउँदै पुस्तकालय

प्रविधिप्रतिको मोह बढ्दा सुस्ताउँदै पुस्तकालय

रेजिना गौतम


झापा ११ फागुन । ‘तपाईहरुले पुस्तकालय चलाउन सक्नुहुन्न, कस्ता कस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव भएका मान्छेले त पुस्तकालय चलाउन सकेका छैनन’–त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश पोखरेल (फलाहारी)–ले अग्रज साहित्यकार गणेशबहादुर प्रसाईले भनेको कुरा स्मरण गर्दै भन्नुभयो–‘२५ वर्ष भयो हामी दुःख सुख चलेका छौं ।’
पुस्तकालय चलाउन सहज नहुने राय व्यक्त गर्ने गणेशबहादुर जस्तै अर्का साहित्यकार भवानी घिमिरेको भनाई पनि स्मरण गर्दै भन्नुभयो–‘पुस्तकालय चलाउनु भनेको फलामको चिउरा चपाउनु जत्तिकै हो ।’ फलाहारीले थप्नुभयो–‘बलले मात्रै चलेको छ, कुनै पनि कुरामा लागेपछि म त्यसैमा समर्पित हुने भएकोले मात्र हो ।’
२०५३ सालमा जिल्ला शिक्षा कार्यालयमा सूचीकृत भएर सञ्चालनमा आएको पुस्तकालयलाई राष्ट्रिय पुस्तकालय बनाउनका लागि २०६० सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको थियो ।
आफ्ना पिताको शैक्षिक तथा आध्यात्मिक प्रभाव परेको बताउने फलाहारी त्यसअघि मेचीमहाकाली अभियानका क्रममा संकलन भएका लागूऔषध विरुद्ध र अन्य विधाका पुस्तक संकलन गरेर घरैमा अध्ययन गर्दै आउनु भएका फलाहारीलाई शिक्षाको क्षेत्रमा जागरण ल्याउन र अपठितहरुलाई पठन अभ्यासमा अभिप्रेरित गर्नुपर्छ भन्ने लागेपछि पुस्तकालयतर्फ सोच गएको बताउँदै भन्नुभयो–‘शिक्षाको क्षेत्रमा जागरण ल्याउन र अपठितहरुलाई पठन अभ्यासमा अभिप्रेरित गर्ने उद्देश्यले स्थापित भएको पुस्तकालय अहिले अध्ययन केन्द्र बनेको छ ।’
शिक्षाको क्षेत्रमा जागरण ल्याउन र अपठितहरुलाई पठन अभ्यासमा अभिप्रेरित गर्ने उद्देश्यले स्थापित पुस्तकालयको प्रवेशद्वारमै आगन्तुकका लागि राखिएको खातामा दर्ज भए अनुसार दैनिक लगभग ८ जना भित्रिने गरेको पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीले जानकारी दिनुभयो । संधै एउटै हुँदैन कहिले ११÷१२ जना पनि हुन्छन्, कहिले ५÷६ जना पनि त्यसलाई बीचमा राख्दा कति हुन्छ ।’ उहाँले थप्नुभयो–‘प्रवेशद्वारबाट भित्रिएका सबैको इन्ट्रि हुन्छ, पढ्न, अवलोकन गर्न वा अन्य काम ।’
पुस्तकालय भवन, मोतीराम भट्टको शालिक, सरस्वतीको प्रतिमा र संग्रहित पुस्तकसहित ५ करोड बढीको सम्पत्ती रहेको छ भने पुस्तकालयमा सबै विधा र सबै भाषाका पुस्तक संग्रहित रहेको बताइएको छ ।
तुलनात्मक रुपमा अझै पनि महिलाभन्दा पुरुष नै बढी शिक्षित छन् । यद्यपी त्रिफला पुस्तकालयमा भने पुरुषभन्दा महिलाको बढी उपस्थिति हुने बताउँदै अध्यक्ष फलाहारीले भन्नुभयो–‘केटाहरु सामाजिक सञ्जाल, तास, मदिरा अथवा अन्य काममा भुल्छन्, महिलाहरु त्यो समय पुस्तकलाई दिन्छन् ।’
पुस्तकालय २५ औं वर्षमा पुग्दा सम्पर्क विस्तार गर्दै लगेको छ । धुलाबारीमा मुख्य कार्यालय रहेको त्रिफलाले सिक्किमका गान्तोकमा सम्पर्क कार्यालय स्थापना गरेको छ भने नेपालमा १३ वटा शाखाको तयारी गरिसकेको पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीले बताउनु भयो ।
२५ औं वर्षसम्म ल्याइपु¥याउन ठूलो संघर्ष गर्नुपरेको बताउँदै अध्यक्ष फलाहारीले भन्नुभयो–‘पुस्तकालय खोल्नु र बन्द हुनु नेपालको इतिहास नै हो, काठमाडौं भित्रै स्थापित ठूल्ठूला पुस्तकालय पनि बन्द भएका छन्, जिल्लामा स्थापना भएका धेरै राम्रा मानिएका पुस्तकालय बन्द भएका छन्, पुस्तकालयका प्राविधिक कुरा धेरै छन्, त्यसबारे पूर्ण जानकार त म पनि छैन ।’
एकमात्र सरकार रहँदा बार्षिक रुपमा केही आर्थिक सहयोग प्राप्त हुँदै आएको पुस्तकालयले स्थानीय सरकार आएपछि भने सहयोगको अनुभूति गर्न नसकेको जनाएका छन् । ‘पुस्तकालय पनि स्थानीय सरकारको सम्पत्ती हो, गहना हो, सरकारले पुस्तकालयमाथि अभिभावकीय भूमिका खेलेन’ फलाहारीले भन्नुभयो–‘एउटा मात्र सरकार हुँदा बर्षको ६÷७÷८ लाखसम्म सहयोग हुन्थ्यो ।’ त्रिफला पुस्तकालयमा मोतीराम भट्टको स्मृतिमा साहित्यिक पुरस्कार स्थापना गरिएको छ । उक्त पुरस्कारबाट साविक पूर्वाञ्चल तथा पूर्वी भारतका सिक्किम, दार्जेजिङ, आसाम, मनिपुर, सिलीगुढीका नेपालीभाषी साहित्यकार पुरस्कृत हुँदै आएका छन् । त्रिफला पुस्तकालयमा नेपाली साहित्यकार जति आउँछन् त्यत्तिकै मात्रामा भारतीय भूमिका साहित्यकार आउने गरेको बताइएको छ । यसरी हेर्दा भौगोलिक रुपमा सीमाना छुट्टिएपनि पुस्तकालयले जोडिरहेको स्पष्ट हुन्छ ।
कोरोनाका कारण २ वर्षसम्म पाठक नपाउने समस्याले झेलेको त्रिफलामा अहिले भने क्रमशः पाठक बढ्न थालेका छन् । भौतिक साधन स्रोतले सक्षम भएपनि यी पुस्तकालयको ठूलो चुनौती पाठक आकर्षित गर्न नसक्नु नै रहेको अध्येताहरु बताउँछ । काँकरभिट्टामा स्थापित सहकारी पुस्तकालय, मिर्मिरे पुस्तकालय, टाउनहलमा स्थापित पुस्तकालयसहित पाठक अभाव, पुस्तकालय व्यवस्थापन सकसका कारण झापाका १० देखि १२ वटा पुस्तकालय हालसालै बन्द भएका छन् ।
झण्डै दशकअघिसम्म अत्यावश्यक ठानेर स्थापना भएका पुस्तकालयप्रतिको आकर्षण क्रमिक रुपमा घट्दै गएको छ । बुढ्यौली पुस्तामा पुस्तकालयप्रतिको मोह भएपनि युवा पुस्तालाई पुस्तकालयले तान्न सकेको छैन । त्यही कारण करोडौंको लगानी गरेर निर्माण गरिएका पुस्तकालय सुस्ताउन पुगेका छन् । सामाजिक सञ्जालको प्रयोग र सुविधायुक्त मोवाइलले युवापुस्तामा क्रमशः पठन संस्कृति हराउँदै गएको छ ।
इमेल इन्टरनेट, यूट्युव, फेसबुक जस्ता विद्युतीय सुविधासँगै झापाका पुस्तकालयहरुमा पनि पाठकको उपस्थिति हुन छोडेको छ । शैक्षिक क्षेत्रको विकासका दृष्टिले अग्रस्थानमा रहेको झापामा त्यस्ता धेरै पुस्तकालयहरु छन् जसको इतिहास र लगानी निकै आकर्षक छ । तर अहिलेको युवा पुस्ता विद्युतीय प्रविधिसँग रमाउन थालेसंगै झापामा पुस्तकालयहरुमा पाठकको भौतिक उपस्थिति ओरालो लागेको हो । लेखनाथ पुस्तकालय चन्द्रगढीका पूर्वअध्यक्ष तथा साहित्यकार देवीचरण भण्डारीले भन्नुभयो–‘युवा स्रष्टाहरु प्रायः आउँदैनन्, पुरानो पुस्ता मात्रै हो ।’ भण्डारीले थप्नुभयो–‘कुनै पनि पुस्तक नभइ नहुने (थेसीस) भो भने मात्र खोज्न आउँछन्, नत्र युवा पुस्ता प्रविधिमै रमाएको छ ।’
२०३७ सालमा साहित्यकार चुडामणी रेग्मीको अगुवाईमा डिल्लीराम खतिवडाको अध्यक्षतामा गठित लेखनाथ पुस्तकालय स्थापनाको केही वर्ष पछि अस्तित्वकै संकटमा थियो । त्यो अवस्थाबाट पुनः बौरिएको पुस्तकालयको अहिले आफ्नै भवन छ, एकजना कर्मचारी भएपनि उचित व्यवस्थापनको अभावमा पुस्तकहरु व्यवस्थित हुन नसकेको भण्डारीले बताउनु भयो । पुस्तकालयको नियमित क्यालेण्डर अनुसार शुक्रबारे भेट मुख्य हो । त्यसका अतिरिक्त आमाहरुसंग पुस्तकालय, बाहरुसंग पुस्तकालयका नाममा अन्तरक्रिया गर्ने, उहाँहरुका अनुभव साटासाट गर्ने, पुस्तक विमोचन जस्ता कार्यक्रम सञ्चालन गरेर पुस्तकालयलाई चलायमान राखेपनि पाठकको आकर्षण नबढ्दा खल्लो महशुस गरिरहेको छ ।
प्रत्येक वर्ष लेखनाथ जयन्तीका दिन बार्षिकोत्सब मनाउँदै आएको पुस्तकालयमा स्थापित पुरस्कार वितरण गर्दै आएको भण्डारीले जानकारी दिनुभयो । सरकारी जमिनमा भोगचलनको स्वामित्व पाएको लेखनाथ पुस्तकालयको १० कठ्ठा जमिन आफ्नो स्वामित्वमा छ ।
पुस्तकालय सञ्चालनमा स्थानीय सरकारका रुपमा रहेको नगरपालिकाले कुनै चासो नदेखाएको सञ्चालकहरुको गुनासो छ । पुस्तकालय नगरको पनि सम्पत्ती हो, उसको पनि केही दायित्व हुनुपर्ने हो तर, दयित्व बहन गरेको देखिएन ।’ भण्डारीले थप्नुभयो–‘कम्प्युटरको समेत ज्ञान भएको एउटा कर्मचारी नगरले व्यवस्था गरिदिएको भए व्यवस्थित हुने थियो, पुस्तकालयले पाठक तान्न नसक्नुको कारण व्यवस्थित हुन नसकेर पनि होला ।’ उहाँका अनुसार न्यूनतम तलब दिएर एउटा कर्मचारी राखेको भएपनि राखिएको कर्मचारीमा पुस्तकालय सम्बन्धी दक्षता नभएका कारण व्यवस्थित हुन नसकेको हो । लेखनाथ पुस्तकालयमा सबै विधाका ७ हजार बढी पुस्तकहरु संग्रह गरिएको छ ।
सात सालको जनक्रान्तिपछि पूर्वी नेपालमा गठित पहिलो जनसरकारले २००८ सालमा स्थापना गरेको भद्रपुर पुस्तकालय विगतमा चर्चित रहे पनि अहिले गुमनाम छ । ऐतिहासिक महत्व बोकेको करिव सातदशक पुरानो झापाको यो पुस्तकालय विगत दुई दशक यता पाठक विहीन बनेको छ । पश्चिमी झापाको गौरीगञ्जमा २०११ सालमा स्थापना भएको अर्काे ऐतिहासिक महत्वको त्रिभुवन आदर्श पुस्तकालयको पीडा पनि उही हो । खजुरगाछी बजारमा दुई कठ्ठा जग्गामा निर्माण भएको एक तले पक्की भवनमा यो पुस्तकालय बनेको थियो । एक हजार पुस्तक संग्रहित यो पुस्तकालयको गौरादह–९ मा आफ्नै स्वामित्व रहेको खेतीयोग्य तीन विगाहा जमिन पनि छ ।
पुस्तक ज्ञानको आधार हो । मानिसले प्राप्त गरेका अनुभवलाई अझ परिष्कृत बनाउन पुस्तकजन्य पाठ्य सामग्रीको गहन अध्ययन गरी अनुसन्धान र प्रयोगमा ल्याउने गर्छ । प्राचिन समयमा प्राप्त गरेको ज्ञान सीपको संरक्षण गुफा हुँदै मध्ययुगतिर मठमन्दिर,मस्जिद, गुम्बाचैत्य, पाटीपौवा तथा आधुनिक समाज तथा युगमा पुस्तकको प्रयोग तथा अनुसन्धानलाई बढावा दिन छुट्टै शाखा वा भवनमा पुस्तकको संरक्षण र परिचलन गरिँदै आएको छ, जहाँ पुस्तकको घरलाई आधुनिक पुस्तकालयको रुपमा लिइन्छ ।
राजनीतिक, सामाजिक र शैक्षिक रुपमा अग्रणी जिल्लाको रुपमा चिनिएको झापामा २००७ सालको परिवर्तनपछि दर्जनौँ स्थानमा पुस्तकालय खोलिएका थिए । प्रजातन्त्रमाथि प्रतिबन्ध लगाइएको पञ्चायतकालीन अवस्थामा समेत झापाका चेतनशील युवाले गाउँगाउँमा पुस्तकालय र बाचनालय खोलेर राजनीतिक आन्दोलनलाई ऊर्जा भर्ने गर्थे । तर अहिले नयाँ पुस्तकालय खोल्ने क्रम ठप्प जस्तै छ भने पुराना र ऐतिहासिक महत्व बोकेका पुस्तकालयसमेत बन्द हुने अवस्थामा पुगेका छन् ।
दमकमा स्थापित दमक पब्लिक लाइब्रेरी पाठक नपाउने समस्या नभएको बताइएको छ । यो पुस्तकालय स्थानीय साहित्यकार तथा युवा पाठकहरुको सक्रियतामा राम्रैसँग सञ्चालन भइरहेको छ । विसं २०६९ मा स्थापित दमकको पब्लिक लाइब्रेरीमा ७ हजार पुस्तक रहेको र पाठकका रुची समेट्ने खालका नयाँ पुस्तकसमेत राखिएका कारण पाठक नघटेको अध्यक्ष भेषराज न्यौपानेले बताउनु भयो । पुस्तकालयमा अहिलेपनि दैनिक २० देखि २५ जना पाठक आउने गरेको उहाँले जानकारी दिनुभयो । विशेष गरेर रिटायर कर्मचारी, विद्यार्थी र खोज अनुसन्धानका युवाहरु पाठक रहेको अध्यक्ष न्यौपानेको भनाइ छ । दमक पब्लिक लाइब्रेरीले अहिले झापाको कमल, दुधे, दमकबाहेक बाहिरी जिल्ला पोखरा, बुटवल, चितवन, विराटनगर, इटहरीलगायतका १२ ठाउँमा शाखा विस्तार गरेको न्यौपानेले बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
शिक्षाप्रविधिप्रतिको मोह बढ्दा सुस्ताउँदै पुस्तकालय
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img