भद्रपुर ९ फागुन । भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी प्रकाशक÷सम्पादक माया पकुवालको सोमबार बिहान निधन भएको छ । केही वर्ष अघि मिर्गौलाको सफल प्रत्यारोपण पश्चात् घरमै स्वास्थ्य लाभ गरेकी पकुवाल दशदिन अघि अचानक विरामी परेपछि भद्रपुरस्थित ओमसाई हस्पिटलमा उपचारार्थ भर्ना गरिएको थियो । पत्रकार पकुवालका उपचारकै क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रेस क्लब भद्रपुरकी उपाध्यक्ष समेत रहेकी पत्रकार पकुवाल घरमै बसेर पत्रकारिता गर्दै आएकी थिइन् । एक साता अघि रुघाखोकी र निमोनिया देखिएको थियो । सोही अस्पतालमा नियमित पनि डाइलासिस भइरहेको थियो ।
ओम साई हस्पिटलको आइसियुमा राखेर उपचार भइरहेकै अवस्थामा सोमवार बिहान ३ बजेर ३५ मिनेटमा पकुवालको निधन भएको उनका पति सञ्जय प्रधानले जानकारी दिए । उनी नेपाल पत्रकार महासंघ झापा, प्रेस चौतारी झापा, नारी सञ्चार गृह झापा लगायतका संस्थामा आबद्ध रहेकी थिइन् ।
पत्रकार पकुवालका दुई छोरी रिचा र इचा छन् । एक छोरी घरमै रहेकी छन् भने अर्की छोरी अध्ययनका लागि विदेशमा रहेकी छन् । दिवंगत पकुवालको सोमबारै भद्रपुरस्थित मेची किनारमा दाहसंस्कार गरिएको छ । मृतक पकुवालका श्रीमान र दुई छोरीहरु रहेका छन् ।
पत्रकार पकुवालको निधन

































































































