विर्तामोड ३ फागुन । समाचार लेखेकै विषयमा पत्रकार मदन राजवंशीलाई दिएको धम्कीप्रति पत्रकार महासंघ झापाले ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै गौरीगञ्जस्थित सोसियल मिरर मिडिया प्रा.लिद्वारा सञ्चालित गौरीगञ्ज दर्पण डटकमका प्रधान सम्पादक राजवंशीलाई समाचार लेखेकै विषयमा स्थानीय सञ्जय महतोले गालीगलौज गर्नुका साथै धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको ठहर गर्दै महासंघले समाचारप्रति चित्त नबुझे उपचारमा जान सुझाएको छ ।
महासंघका सचिव डिकेश लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘प्रकाशित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे त्यसउपर कानूनी सपचारमा जान सकिने विकल्प हुँदाहुादै पत्रकालाई धम्क्याउँदै गालीगलौज गर्ने तथा हतोत्साहि बनाउने जस्ता हर्कत हुनु प्रेस विरोधी काम हो ।’ विज्ञप्तिमार्फत महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा त्यस्ता गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराउँदछ ।
राजवंशीले सम्पादन गर्दै आएको गौरीगञ्ज दर्पणमा महतोमार्फत बैदेशिक रोजगारीका लागि भिजिट भिषामा दुवई पुगेका ११ जना युवा अलपत्र परेको विषयमा समाचार प्रकाशित भएको थियो । उक्त समाचार सार्वजनिक भएसंगै फागुन २ गते महतोले सम्पादक राजवंशीलाई फोनबाट गालीगलौज गर्दै समाचार लेख्ने हात काटिदिन्छु भन्दै धम्की दिएका थिए ।
पत्रकार राजवंशीलाई दिएको धम्कीप्रति महासंघको ध्यानाकर्षण

































































































