रेजिना गौतम
विर्तामोड । ‘मलाई कन्यादान दिंदा कस्तो पीडा भएको थियो । त्यही बेलादेखि मेरो मनमा पस्यो छोरी दान गर्ने कुनै बस्तु होइन ’– विर्तामोड–५ निवासी कञ्चना ढकाल सिटौलाले २९ वर्ष अगाडि भएको आफ्नो विहेमा कन्यादान दिएको स्मरण गर्दै भनिन्–‘कन्यादान गरिसकेर फुलको थुँगा खुट्टामा राखेर बेहुलालाई ढोग्न लगाउँदै लु आजदेखि तपाईको शरणमा आए है भन्न लगाए, त्यो बेलादेखि नै मेरो मानसिकतामा छोरी दान गर्ने बस्तु होइन भन्ने कुरा गढ्यो ।’
आफ्नो विवाह गरेको २९ वर्षपछि यही माघ २२ गते छोरी आयुसीको विवाह झापा भद्रपुरका अनिष ढकालसँग गरिदिएकी सिटौलाको मनमा छोरीको विहेको मिति नजिकिंदै जाँदा आफूलाई आमा बाबुले कन्यादान गरेर गुरुले तपाईको शरणमा आएँ भन्दै ढोग्न लगाएको कुरा ताजा भएर आयो रे । छोरीको विहेको कुरा चल्दैदेखि कन्यादानको विषयले पिरोलिरह्यो, माइती र घर दुवै संस्कारी परिवारले के भन्लान् भन्ने चिन्ता थपियो–सिटौलाले भनिन्–‘तर सबै कुरा बुझाएपछि दुवै परिवारबाट साथ पाएँ ।’
छोरी मात्रै भएको परिवारमा कन्यादान गरिसकेपछि उत्पन्न समस्याले पनि सिटौलालाई कन्यादान गर्नुहुन्न भन्ने पक्षमा उभिन बाध्य बनायो । एकवर्ष अगाडि आफ्नै काकीको निधनमा दशगात्र (किरिया) कर्म गर्ने कुरामा समस्या भयो । उनकी कार्की लक्ष्मी ढकालका ४ वटी छोरी सबैको विवाह भइसकेको थियो । विहे भइसकेका छोरी मात्र, त्यसमा पनि विहे भइसकेका । छोरा नभएपछि किरिया कसले गर्ने भन्ने छलफल नै चल्यो ।
छलफलमा कन्यादान गरेर कर्म सारेका छोरीले किरिया गर्नुहुँदैन अर्कै मान्छे खोज्नुपर्छ भन्ने कुराले आफूलाई नराम्ररी छोएको उनले सुनाइन् । उनले भनिन्–‘बैनीहरुले काम गर्न बस्न हुने÷नहुने छलफल चल्यो, अर्को को मान्छे खोजेर ल्याउनु ? नौ महिना कोखमा राखेर जन्माएका छोरीले चै गर्नु नहुने रे, परबाट खोजेर ल्याएको मान्छेले चै गर्नु हुने रे ! हाम्रो चलन पनि कस्तो ? त्यसो भनेपछि बैनीहरुले हाम्री आमाको काम हामी आफैं गर्छौं भने र गरे ।’ उक्त घटनाले पनि विहेमा गरिने सबैभन्दा ठूलो कर्म कन्यादान नगरेको उनले बताइन् ।
छोरीको विहे गर्ने तर, कन्यादान नगर्ने भन्ने कुरामा गुरु (पुरोहित)–ले अलि अप्ठ्यारो मानेको उनले सुनाइन् । गुरुले कन्यादान गर्नुपर्छ भनेर सम्झाउन खोजेको सुनाउँदै उनले भनिन्–‘गुरुले कन्भिन्स गर्न खोज्नुभयो, कन्यादान नै नगर्ने भए विहेको कर्म चै किन गर्नुहुन्छ त ? पनि भन्नुभयो तर मैले मानिन ।’ उनले थपिन् –‘संस्कार तोड्नु हुँदैन, तर संस्कार भित्र भएका चित्त नबुझेका कुरालाई परिमार्जन पनि गर्दै जानुपर्छ, म संस्कार विरोधी होइन छोरीलाई बस्तु झैं दान गर्ने कुरा मेरो नजरमा कु–संस्कार लाग्यो ।’
कन्यादान कर्मका ठाउँमा आमा कञ्चनासहित बुबा होमप्रसाद सिटौलाले छोरी आयुसीको हात ज्वाँई अनिषका हातमाथि राखिदिंदै सुखद र सफल बैबाहिक जीवनको कामना गरेका थिए । छोरी कुनै वस्तु होइन जो दान गर्नुपर्छ भन्ने विषयका कट्टर विरोधी बीरगञ्जका बामपन्थी लेखक तथा पत्रकार गोपालचन्द्र गौतमलाई छोरीको बैबाहिक कार्यक्रम चलिरहेका बेला अचानक हृदयघात भयो । चार छोरा र एक छोरीका पिता गौतम छोरीलाई दान गर्नुहुन्न भन्ने विषयमा कलम नै चलाउथे रे । जब छोरीको विहेको दिन नजिकिंदै गयो उनी अलि तनावमा देखिन्थे रे, गौतमकी श्रीमती सुधा गौतमले स्मरण गरिन् ।
‘जन्तीले खाना खाँदै गर्दा घरभित्र पसेका उनी एक्कासी लडे, हतार हतार एम्बुलेन्स बोलाएर अस्पताल पु¥याइयो, तर अस्पतालबाट सकुशल फर्काउन सकिएन’– गौतमकी श्रीमती सुधाले भनिन्–‘मनमा पीडा जस्तो बुझिन्थ्यो कसैलाई पनि भन्नुहुन्नथ्यो, एउटी छोरी, औधी माया गर्नुहुन्थ्यो, दान गरेर दिने छोरी कुनै बस्तु होइन भन्नुहुन्थ्यो ।’ ‘त्यो बेला उहाँको भनाईलाई सहयोग गर्न कसले मान्थ्यो र ! त्यसमा पनि विरगञ्ज जस्तो ठाउँमा’– विहेको दिनको घटना स्मरण गर्दै उनले भनिन्–‘जन्ती आए, हाँसी खुशी नै हुनुहुन्थ्यो, बेहुलासहित जन्तीलाई खाना खाने ठाउँतिर आफैं पठाउनु भएको । त्यो पछि के भयो के भयो एकैचोटी घरभित्र आएर लड्नु भयो, हतार–हतार एम्बुलेन्स बोलाएर अस्पताल पुर्याए, त्यो पछि विहेको कर्म मैले एक्लै गरें, कन्यादान पनि एक्लै दिएँ, छोरी अन्माएपछि अस्पताल पुग्दा भेन्टिलेटरमा हालेको छ भने, ५ दिनपछि उहाँको त्यही निधन भयो ।’ ‘उहाँको मृत्युका कारण नै कन्यादान भएजस्तो लाग्छ, त्यसअघि कुनै विरामी भएको थाहा थिएन्’–सुधाले सम्झिइन् ।
२०५७ सालमा दिवंगत भएका गौतमको स्मृतिमा २०६७ सालदेखि पुरस्कार स्थापना गरी बार्षिक रुपमा उनको बार्षिक पुण्यतिथी माघ २ गते वितरण गरिंदै आएको छ । १० हजार राशीबाट शुरु गरिएको उक्त पुरस्कारको राशी बढाउँदै हाल एकतोलाको सुनको तक्मा (स्वर्ण पुरस्कार) प्रदान गर्ने गरिएको छ ।
हिन्दु धर्मशास्त्रअनुसार दान कायिक, वाचिक र मानसिक गरी तीन प्रकारले दिने चलन छ । संकल्पपूर्वक सुवर्ण, रजत आदि दान दिनुलाई कायिक दान भनिन्छ । आफ्नो रक्षाका लागि जौ अभय दान दिनुलाई वाचिक दान र जप, ध्यान गरेर दिइने वस्तुको दानलाई मानसिक दान भन्ने गरिन्छ । जो व्यक्ति दान प्राप्त गर्छ त्यसलाई दानको पात्र भन्ने चलन छ ।
माथिका कुराले दान गर्ने कुनै वस्तु हो, मान्छे होइन । तर, हामी ‘कन्यादान’ गर्छौं । के कन्या दान गर्ने वस्तु हो ? के उसको अरू कुनै महत्व छैन ? दानको परिभाषाअनुसार दान गरेको वस्तुमाथि दान गर्नेको कुनै अधिकार रहँदैन ?
यही विषयमा रामहरी ओझा लेख्छन्–‘मैले मोक्ष प्राप्तिका लागि सम्पूर्ण देवीदेवता र मानवलाई साक्षी राखेर मेरी छोरी धर्मार्थ कार्यका लागि तपाईंलाई दान गरेँ, यसले कुनै अपराध गरी भने पनि यसलाई नत्याग्नुहोला । धर्मार्थ कामका लागि यसलाई सधैं आफूसँगै राख्नुहोला । यो कन्यादान कार्यबाट भगवानले मलाई शान्ति दिऊन् ।’ आफ्नो छोरीलाई वरको हातमा सुम्पिँदा यी शब्दहरूको प्रयोग हुन्छ । अनि भनिन्छ, ‘ददाति, ददाति, ददाति’ अर्थात् मैले मेरो छोरी तपाईंलाई दिएँ, दिएँ, दिएँ । यसैलाई ‘कन्यादान’ भन्ने गरिन्छ ।’
छोरी कन्यादान गर्नुलाई हिन्दु परम्परामा सबै भन्दा ठूलो दान मान्ने चलन पनि छ । कुनैपनि बस्तु दान गरिसकेपछि छुनु वा प्रयोगमा ल्याउनु, अथवा घरमा फर्काउनु हुँदैन भनिन्छ । दान गरेका अन्य चिजहरुको हकमा त्यही कुरा लागू भएपनि सबै भन्दा ठूलो दान मानिएको कन्यादानको चलन भने अलि फरक छ । केही वर्षयता हिन्दु धर्मशास्त्रभित्रको ठूलो दानका रुपमा उल्लेख गरेको कन्यादानको विषय बन्दै गएको छ । छोरी दान गर्ने हो कि होइन ? भन्ने बहसकै बीच परिवर्तनका पक्षमा उभिने आमा बाबुले परम्परागत रुपमा चल्दै आएका केही त्यस्ता नकारात्मक कुराको विपक्षमा उभिने हिम्मत गरेका छन् ।

































































































