झापा २५ माघ । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन कार्य बन्द गरिने जनाएको छ । स्थानीय तहको चुनावको मिति तोकिएसँगै आयोगले नामावली संकलन कार्य स्थगित गर्ने भएको हो ।
निर्वाचन ऐनको दफा ४ को उपदफा २ अनुसार चुनावको मिति घोषणा भइसकेपछि चुनावको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन । आयोगले चुनावलाई लक्षित गरी गएको मंसिर १७ गतेदेखि १९ गतेसम्म गाउँपालिका र नगरपालिकास्तरमै नामावली संकलन गरेको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आज नै ७७ वटै जिल्ला निर्वाचन कार्यालयलाई हिजोसम्म संकलित मतदाता विवरण तीन दिनभित्र केन्द्रमा पठाउन निर्देशन दिइएको बताउनुभयो ।
मन्त्रिपरिषद्को हिजोको बैठकले स्थानीय तहको चुनाव २०७९ साल वैशाख ३० गते गर्ने निर्णय गरेको थियो ।
मतदाता नामावली संकलन कार्य स्थगित, तीन दिनभित्र विवरण पठाउन निर्देशन

































































































