रेजिना गौतम
झापा। नेपालबाट कुष्ठरोग उन्मुलन भएको भनिएपनि झापासहित देशभरका ११ वटा जिल्लामा अझै कुष्ठरोगी औषधी सेवन गरिरहेका छन् भने नयाँ फेला पर्ने क्रम पनि जारी छ ।
सात प्रदेशमध्ये कुष्ठरोग संक्रमणका हिसाबले तेस्रोमा रहेको १ नं. प्रदेशको झापा ११ जिल्लामध्ये कुष्ठरोग संक्रमणका दृष्टिले तेस्रोमै रहेको तथ्याङ्क सार्वजनिक भएको छ । झापामा चालु आर्थिक वर्षको यो अवधिसम्ममा ३६ जना कुष्ठ रोगका नयाँ संक्रमित फेला परेका छन् । जो स्वास्थ्यमा समस्या आएपछि आफैं स्वास्थ्य कार्यालयमा पुगेका विरामीहरु हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले भने–‘स्वास्थ्यमा समस्या देखिएपछि जचाउन आएकाहरुमा देखिएको संख्या हो यो, महामारीका कारण हामी घर–घरमा खोज्न जान सकेका छैनौं ।’ श्रेष्ठले थपे–‘यो सरुवा रोग हो । जसलाई संक्रमण देखिएको छ, उनीहरु रहेको समुदायमा थप अरुमा पनि हुन सक्छ ।’ झापामा आर्थिक वर्ष २०७५/०७६ मा २१२ जनामा कुष्ठरोग देखिएका थिए भने २०७६/०७७ मा १४० र ०७७/०७८ मा ९५ जनामा कुष्ठरोग देखिएको थियो । पछिल्ला वर्षहरुमा कोभिड महामारीका कारण समुदायसम्म पुगेर स्वास्थ्य परीक्षण गर्न नसकेका कारण यो संख्या बढ्न सक्ने स्वास्थ्य कार्यालय झापाको अनुमान छ ।
तेस्रो स्थानमा रहेको झापामा आर्थिक वर्ष २०७७/०७८ मा प्रति १० हजार जनसंख्यामा प्रकोप (प्रिभिलेन्स) दर १.४२ रहेको स्वास्थ्य कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । प्रकोप देखिएका ११ जिल्लामध्ये नवौ स्थानमा रहेको मोरङमा प्रकोप दर प्रतिलाखमा १.२१ रहेको छ । कुष्ठरोगलाई समाजमा अझै पनि पूर्वजन्मको पापको फल भनेर हेयभावले हेर्ने, रोगीलाई विभेदपूर्ण ब्यवहार गर्ने जस्ता कारण रोगी आफैं खुल्न नसक्दा पनि रोग पहिचानमा समस्या देखिने गरेको श्रेष्ठले सुनाए । उनले भने–‘यो बेवास्ता गरिएको रोग हो’ राज्य र समाजबाट पनि ।’

झापाका पालिकाको अवस्था
आठ नगरपालिका र सात गाउँपालिका रहेको झापाको कचनकवल गाउँपालिका कुष्ठरोग प्रकोपका दृष्टिले जोखिममा छ । गत आर्थिक वर्षमा देखिएका ९५ जना संक्रमितमध्ये सबैभन्दा बढी कचनकवलका १९ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
त्यसैगरी दोस्रोमा रहेको बाह्रदशीमा १० जना, तेस्रोमा रहेको कमलमा ९ जना, विर्तामोड र भद्रपुर नगरपालिकामा समान ८/८ जना संक्रमित फेला पर्दा गौरादहमा ७ जना, बुद्धशान्ति, हल्दिबारी, शिवसताक्षी र दमकमा ५/५ जनामा कुष्ठरोगको प्रकोप देखिएको थियो भने गौरीगञ्जमा ४, मेचीनगर, अर्जुनधारा, र कनकाईमा ३/३ जनामा प्रकोप देखिंदा सबैभन्दा कम झापा गाउँपालिकामा १ जनामा मात्र प्रकोप देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
लक्षणः
शरीरको कुनैपनि भागमा लाटो वा फुस्रो दाग देखा पर्नु, विस्तारै उक्त दागमा रौं झरेर जानु, पसिना नआउनु र नचिलाउनु यस रोगका लक्षण हुन् । स्नायुमा असर पर्दा हातखुट्टा लगातार झमझम हुने गर्छन् । छालाको नमुनाबाट लिएको तन्तुको रस जाँच गर्दा यो रोगका किटाणु देखा पर्छन् । माथि उल्लिखित चिन्ह र लक्षणबाहेक अनुहार र कानका लोतीमा गिर्खा देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखी भौं झरेर जानु पनि कुष्ठरोगका लक्षण हुन् । पछि गएर हातखुट्टाका औंला लाटो तथा कमजोर भई खुम्चिँदै गएर अन्त्यमा अंगभंग पनि हुन सक्छ । कुष्ठरोगको एक मात्रा औषधीले ९९ प्रतिशत किटाणु निष्क्रिय पार्ने भएकाले औषधी सेवन गरिसकेका बिरामीबाट यो रोग अरूलाई सर्दैन ।
खुल्ला सीमाना चुनौति
विश्वका कुल कुष्ठरोग प्रभावितमध्ये भारतमा झण्डै ५० प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ । नेपाल भारतबीच खुल्ला सीमानाका काण हुने आवत–जावत र रोटीबेटीको साइनोले नेपालमा कुष्ठरोगको प्रकोप अत्यन्त चुनौति देखिन्छ ।
समस्या:
कुष्ठरोगको पहिचान सहज नभएकाले पनि प्रकोप निधानमा समस्या देखिएको छ । दाग देखिएपनि नदुख्ने र नचिलाउने भएकोले पनि उपचारमा ढिलाई हुने गरेको छ । तत्काल असर नदेखिने तर जुन ठाउँमा संक्रमण भयो त्यही ठाउँको नशा वा मासुमा क्रमिक रुपमा असर बढ्दै जाँदा अंगभंग समेत हुने गरेको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले बताए । उनका अनुसार १०० जनामा कुष्ठरोगको संक्रमण छ भने ३ जनामा मात्र लक्षण देखिन्छ ।
विरामी र उपचार दर:
प्रति १ लाख जनसंख्यामा ७.२० का दरले नयाँ विरामी पत्ता लाग्दा वर्षको अन्त्यमा उपचारमा रहेको विरामीको प्रकोप दर प्रति १० हजारमा ०.७३ रहेको छ भने नयाँ विरामीमध्ये १४ वर्ष मुनिका विरामीको अनुपात ४.६५ रहेको छ । जसमध्ये सोही उमेर समूहमा असमर्थताको तह २ भएका विरामीको अनुपात ०.०५ रहेको जनाइएको छ । कुल नयाँ विरामी असमर्थताको तह २ भएको अनुपात ४.३७ रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रकोप देखिएको कुलसंख्यामध्ये ३६.६३ प्रतिशत महिला रहेका छन् ।
दोस्रो तहको असमर्थताका तह निकै बृद्धि हुनुका साथै पछिल्लो समय बालबालिकामा कुष्ठरोग सर्ने क्रममा पनि बृद्धि भएको स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुले बताउँदै आएका छन् ।
प्रकोप देखिएका जिल्ला र प्रकोप दर
आर्थिक वर्ष २०७७/०७८ मा प्रति १० हजार जनसंख्यामा प्रकोप (प्रिभिलेन्स) दर १ भन्दा बढी भएका ११ जिल्लामध्ये प्रकोप जोखिमको १ नम्बरमा कपिलबस्तु रहेको छ । कपिलबस्तुमा प्रति १० हजार बराबर प्रकोप दर २.१५ रहेको छ । त्यस्तै दोस्रोमा रहेको बाँकेमा १.५९, तेस्रो झापामा १.४२, चौथो र पाँचौ कैलाली र रुपन्देहीमा समान १.३९ रहेको छ । त्यसैगरी पर्सामा १.३५, धनुषामा १.३३, रौतहटमा १.२३, मोरङमा १.२१, बारामा १.१९ र म्याग्दीमा १.१८ प्रकोप दर रहेको छ ।

कुन प्रदेशमा कति
आव २०७७/०७८ मा प्रदेश अनुसार १८ प्रतिशत प्रकोप दर देखिएको १ नं. प्रदेश तेस्रो स्थानमा रहेको छ । यो प्रदेशमा ३८५ जना कुष्ठरोगका संक्रमित रहेका छन् । देशभरमा प्रकोपका दृष्टिले पहिलो नंं.मा रहेको मधेश प्रदेश (साविक २ नं. प्रदेश) मा ३४ प्रतिशत संक्रमित रहेका छन् भने लुम्बिनी प्रदेशमा २५, सुदुरपश्चिममा १०, गण्डकी र बाग्मतीमा समान ५/५ प्रतिशत प्रकोप देखिंदा कर्णालीमा भने प्रकोपको दर ३ प्रतिशत रहेको सरकारी तथ्याङ्कमा उल्लेख छ । यो अवधिमा नयाँ संक्रमित २ हजार १ सय ७३ जना रहेका थिए ।
झापा र मोरङमा बढी प्रकोप
१ नं. प्रदेशका झापा र मोरङमा कुष्ठरोगका संक्रमित बढी छन् । नेपाल कुष्ठरोग संगतिका झापा इन्जार्च पर्शुराम पोखरेलले बताए । नेपाल कुष्ठरोग संगतिले २०५७ सालदेखि झापासहित विभिन्न जिल्लामा कुष्ठरोग नियन्त्रणका क्षेत्रमा काम गर्दै आएको छ । कुष्ठरोग नियन्त्रण कठिन रहेको बताउँदै उनले भने–‘एकदमै नजिकको साथी पनि कुष्ठरोग छ भन्ने थाहा पाएपछि टाढिन्छ ।’ उनले थपे–‘त्यसकारण पनि लुकाएर राख्छन् ।’ १ नं. प्रदेश अन्तरगत सुनसरीमा झिनो संख्यामा कुष्ठरोगी छन् भने सबैभन्दा बढी झापा र दोस्रोमा मोरङ रहेको छ ।
उपचारमा समस्या
कुष्ठरोगको सरकारले निःशुल्क औषधी उपलब्ध गराउँछ । परीक्षणका लागि पनि शुल्क लाग्दैन । तर, रोग बढ्दै गएर जटिल छ भने उपचारका लागि प्रदेश १ मै उपचार केन्द्र नहुँदा भने समस्या हुँदै आएको बताइएको छ । उपचारका लागि संक्रमितले कि त लालगढ पुग्नुपर्छ कि त ललितपुर । संक्रमणको जटिल समस्यामा भएका विरामीलाई रिफर सेन्टर नहुँदा समस्या भएको पोखरेलले बताए । कुष्ठरोग संगतिले चालु आर्थिक वर्षमा फेला परेकामध्ये २१ जनालाई लालगढ कुष्ठरोग सेवा केन्द्र र ललितपुरको आनन्दगञ्जमा रिफर गरेको बताउँदै पोखरेलले भने–‘नजिकमा रिफर गर्ने ठाउँ नहुँदा अप्ठ्यारो भएको छ ।

































































































