भद्रपुर । कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा बढिरहेका बेला विरामीलाई सेवा दिन मेची अस्पताल भद्रपुरमा थप अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा ल्याएको छ ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको पहलमा नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय काठमाडौँले मेची अस्पतालमा जडान गरेको ११० सिलिन्डर प्रतिदिन उत्पादन गर्ने क्षमता भएको अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो ।
चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा. लोचन कार्की, महासचिव डा. बद्री रिजाल लगायतको उपस्थितिमा कांग्रेस नेता सिटौलाले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् ।
चिकित्सक संघको पहलमा चुजी फाउन्डेसन ताइवानले मेची अस्पतालका लागि अक्सिजन प्लान्ट सहयोग गरेको सङ्घका केन्द्रीय अध्यक्ष डा कार्कीले जानकारी दिए । चुजी फाउन्डेसन ताइवानले मेचीसहित भोजपुर, पर्वत र कोसी अस्पताललाई अक्सिजन प्लान्ट दिएको उनले बताए । मेचीमा जडित अक्सिजन प्लान्टबाट एकै साथ धेरै सिलिन्डर उत्पादनका लागि बुस्टर जडान आवश्यक रहेको समेत जनाए ।
मेची अस्पतालमा आउने विरामी अक्सिजन अभावमा मनु पर्ने बाध्यता अन्त्य गर्न आफू लागि परेको नेता सिटोैलाले बताएका छन् । उनले बुस्टर जडानका लागि प्रदेश सरकार र स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए । त्यसका लागि आफूले पनि पहल गर्ने उनको भनाइ छ ।
मेची अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा टङ्कप्रसाद बाह्रकोटीले अक्सिजन प्लान्टको बारेमा जानकारी दिएका थिए
मेची अस्पतालमा थप अक्सिजन प्लान्ट जोडियो
