झापा ९ माघ । १ नं. प्रदेश प्रहरी तथा मातहतका कार्यालयबाट चालु आर्थिक वर्षको ६ महिना अवधिमा अघिल्ला वर्षभन्दा अबैध काठ चोरी निकासी नियन्त्रण शिर्षकमा ४४ लाख ४ हजार ६ सय ६६ रुपैयाँ राजश्व संकलन गरेको छ ।
यो गत आवको वर्षभरीमा सोही शिर्षकमा संकलन भएको राजश्वको तुलनामा दोब्बर भन्दा बढी हो । गत आवको एकवर्ष अवधिमा २० लाख ६४ हजार ९ सय रुपैयाँ राजश्व संकलन गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। यो अवधिमा १ हजार ५ ६१ क्यु फिट काठ नियन्त्रणमा लिंदा ३६ जना मानिस पक्राउ परेका थिए ।
कार्यालयले चालु आवको ६ महिना अवधीमा अघिल्ला वर्षहरुको तुलनामा अवैध काठ चोरी निकासी र नियन्त्रणतर्फ रेकर्ड ब्रेक गरेको छ । यो अवधीमा १ हजार ९ सय ५२ क्युविक फिट काठ नियन्त्रणमा लिंदा ४२ जना मानिस पक्राउ परेका छन् ।
प्रहरीको यो तथ्याङ्कले पछिल्ला वर्षहरुमा अवैध काठ निकासीको प्रयास बढेको स्पष्ट बुझ्न सकिन्छ ।
२०७५÷७६ को एक आवमा अबैध काठ चोरी निकासी नियन्त्रण शिर्षकमा ३ लाख ८२ हजार ४० रुपैयाँ राजश्व संकलन गरेको प्रहरीले १३ जना व्यक्ति पक्राउ गरेको थियो भने १ हजार २ सय २६ क्यु.फिट काठ नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी आव ०७६÷०७७ मा १२ लाख ७० हजार ६ सय ३० रुपैयाँ राजश्व संकलन गरेको प्रहरीले एक वर्षको अवधीमा १३ जना मानिस पक्राउ गर्नुका साथै ५ सय क्यु.फिट काठ बरामद गरेको तथ्याङ्कमा उल्लेख छ ।
बढ्यो अबैध काठ चोरी निकासी र नियन्त्रण, राजश्व दोब्बर बढी



















