विर्तामोड। पद र प्रतिष्ठाका लागि जो कोही इच्छुक हुन्छ । अझ निर्वाचनको माहौललाई हेर्ने हो भने त झन् एकले अर्कालाई नजिती नेतृत्वमा पुग्न असम्भव हुन्छ , तर आइतबार नेपाली कांग्रेस झापा मातहतका क्षेत्रीय सभापतिहरु पद लिन तथा दिन आफैं तयार देखिए ।
‘निर्देशिकाभन्दा बाहिर जान हामी सक्दैनौं, निर्देशिका मान्न म तयार छु । निर्देशिकामा उल्लेखित विधान बमोजिम म सभापति भए मै पार्टी चलाउँछु , नभए सहमतिमा साइन गर्छु, रोहितजीलाई सहयोग गर्छु ’– साविक झापा क्षेत्र नं–७ का सभापति ढुण्डी भण्डारीले भने । संयोग प¥यो पनि उस्तै । पदावधि पनि बराबर, भूगोल पनि लगभग उस्तै । दुवैजना नेतृत्वका लागि तयार देखिए । अन्ततः निर्णय भयो–क्षेत्रीय प्रतिनिधि संख्याको आधारमा र भण्डारी नै झापा क्षेत्र नं –५ को सभापति बने । शाह उपसभापति साथै उनी क्षेत्रीय प्रतिनिधि रहेको प्रदेश समितिको सभापति बन्ने निर्देशिकाका आधारमा पक्का भयो ।
कांग्रेस केन्द्रीय समितिको गत साउन २६ गते सम्पन्न बैठकले ‘नेपाली कांग्रेसको विधान, २०१७ (संसोधन सहित)को धारा ७२ (४) बमोजिम पार्टीका स्थानीय तह संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकोले विधानको धारा ५० (५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम निर्देशिका २०७६ पारित गरी लागु’ गरेपछि सहमतिकै आधारमा साविक सातवटा क्षेत्रका सभापतिहरु पद दिन र लिन आफैं तयार भए ।
अन्तरिम ब्यवस्थापनका लागि नेपाली कांग्रेसले निर्वाचन भन्दा पनि संघीय निर्वाचन क्षेत्रमा एउटै सभापति भए साविक सभापति नै स्वतः सभापति हुने, सहमति नभएको अवस्थामा भूगोल, क्षेत्रीय प्रतिनिधि संख्या, कृयाशील सदस्य संख्यालाई आधार बनाएर सभापति चयन गर्ने यी आधारमा पनि क्षेत्रीय सभापति चयन हुन नसकेको अवस्थामा कार्यगत जेष्ठता र गोलाप्रथाबाट भए पनि सभापति चयन गर्ने ब्यवस्थासहितको निर्देशिका जारी गरेपछि पार्टी पुनर्संरचनामा सहमतिको विकल्प रहेन ।
कांग्रेसको अन्तरिम ब्यवस्था निर्देशिका बमोजिम झापा क्षेत्र नं–१ मा मणिकुमार उप्रेती स्वतः सभापति भए । उनका क्षेत्रमा अरु कुनै पनि क्षेत्रका सभापति नभएपछि उनी स्वतः प्रतिनिधिसभा क्षेत्र नं–१ को क्षेत्रीय सभापति बनेका हुन् । क्षेत्र नं–२ मा यसअघि नै भएको सहमतिलाई निरन्तरता दिदै खगेन्द्र मैनाली सभापति बने । साविक क्षेत्र २ र ४ मिलेर हालको क्षेत्र नं २ कायम भएपछि क्षेत्र नं–४ का सभापति भीम राजवंशी हाल कायम ४ नं क्षेत्रमा नै परे भने क्षेत्र नं २ का तत्कालीन सभापति नविन विमली क्षेत्र नं–३ मा कायम भए । दुवै सभापति हाल कायम क्षेत्र नं–२ मा नपरेपछि क्षेत्र नं ४ का उपसभापति खगेन्द्र मैनाली र क्षेत्र नं–२ का उपसभापति धर्म लक्सम्बाबीच यसअघि नै खगेन्द्र मैनालीलाई सभापतिको कार्यभार दिने सहमति भएको थियो । उनीहरुले सोही सहमतिलाई निरन्तरता दिदै मैनाली २ नं क्षेत्रीय सभापति बने भने लक्सम्बा उपसभापति र उनी क्षेत्रीय प्रतिनिधि रहेको प्रदेश निर्वाचन क्षेत्रको सभापति बन्ने विधानतः पक्का भएको छ ।
यता क्षेत्र नं–३ मा परेका गणेश पोखरेल र नविन विमलीबीच पनि यसअघि नै गणेश पोखरेललाई सभापतिको कार्यभार दिने सहमति भइसकेको थियो । उनीहरुले पनि सोही सहमतिलाई निरन्तरता दिदै पोखरेल ३ नं क्षेत्रीय सभापति बने ।
क्षेत्र नं– ४ मा रहेका भीम राजवंशी र साविक ५ मा रहेका जयनारायण शाहबीच निर्देशिकाको आधारमा यसअघि नै अनौपचारिक कुराकानी भइसकेको रहेछ । भीम राजवंशीले भने–‘हामीले निर्देशिका हेरिसकेका छौं । निर्देशिकाको आधारमा शाह जीलाई नै सभापति बनाउने अनौपचारिक कुराकानी हामीबीचमा भइसकेको छ त्यसैले उहाँ नै सभापति हो ।’ शाह हाल कायम ४ नं क्षेत्रीय सभापति बने भने राजवंशी उपसभापति भए ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न पदाधिकारी, नेपाली कांग्रेसका अग्रज नेताहरु डिल्ली सिटौला, सुधिरकुमार शिवाकोटी, क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, गाउँ÷नगर÷वडा समितिको समायोजनका लागि केन्द्रीय निर्वाचन प्रतिनिधि यज्ञप्रसाद अधिकारी, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि सहभागी भेलाले पाँचवटै क्षेत्रका क्षेत्रीय सभापति चयन गरेको नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलले जानकारी दिए । सो भेलाले आगामी भदौ १९ गते झापाका १० वटै प्रदेश निर्वाचन क्षेत्रीय समितिहरु समायोजन गर्न निर्वाचन समिति गठन गरेको छ । गठित समिति संयोजकमा क्षेत्र नं–१ को क मा हरि अधिकारी, ख मा विजय ढुङ्गाना, क्षेत्र नं २ मा लक्ष्मीप्रसाद शिवाकोटी र नारायण पौडेल, क्षेत्र नं–३ मा सन्तोष प्रसाई र चेतनाथ आचार्य, क्षेत्र नं ४ मा अमृतबहादुर बुढाथोकी र खगेन्द्र खरेल तथा क्षेत्र नं–५ मा तिलकसिंह पाण्डे र भरत प्रसाई तोकिएका छन् ।
यसैबीच नेपाली कांग्रेस झापाको आइतबार सम्पन्न बैठकले प्रचार विभाग गठन गरेको छ । गठित समितिको संयोजकमा कृष्ण हुमागाई चयन भएका छन् । पार्टी उपसभापति राम कट्टेलले स्वागत मन्तब्य राखेको कार्यक्रममा नेपाली कांग्रेसका अग्रज नेता डिल्ली सिटौला, पूर्व सांसद सुधिरकुमार शिवाकोटीलगायतले नवगठित क्षेत्रीय सभापतिहरुलाई शुभकामना दिएका थिए ।
यसैबीच बैठकले १०६ औं वी.पी. जयन्ती आगामी भदौ २३ गते पाँचवटै क्षेत्रीय समितिको आयोजनामा विविध कार्यक्रम साथ मनाउने र २४ गते जिल्लाका १० वटा प्रदेशसभा संसदीय निर्वाचन समितिका्े आयोजनामा रचनात्मक कार्यक्रमका साथ सम्पन्न गर्ने निर्णय गरेको पार्टी सचिव ताराविर कटुवालले जानकारी दिए ।
नेतृत्व लिन-दिन कांग्रेस नेता तयार सहमतिमा क्षेत्रीय सभापति समायोजन

































































































