भद्रपुर । झापाका केही औषधी पसलले गोप्यरुपमा विक्री गर्दै आएको नसालु पदार्थ विक्री वितरणमा लगाउन माग गर्दै नेपाल विद्यार्थी संघ झापाले झापाका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
विद्यार्थी संघले विहीबार झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई औषधी पसलबाट हुने नसालु पदार्थ विक्रीमा रोक लगाउनुका साथै पूर्वी सिमानाका नजिकैको पानीट्याँकीबाट लागू औषध भित्रिरहेको भन्दै त्यसको नियन्त्रण गर्न समेत माग गरेको छ ।
नसालु पदार्थको प्रयोगका कारण भोलिका देशका कर्णधारका रुपमा रहेका युवायुवतीको शारिरीक तथा मानसिक क्षमतामा ह्रास आउँदा दक्ष जनशक्ति उत्पादनमा असर पर्ने र त्यसको असर भविष्यमा सिङ्गो देशलाई पुग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ–‘पानी ट्याङ्की नाका हुँदै सहज रुपमा लागू औषध नेपाल भित्रिरहेको पाइएपनि त्यसको नियन्त्रणमा प्रशासन वेखबर झै पाइएकोले उक्त कार्य रोक्नका लागि प्रशासनको विशेष कदमको माग सहित ध्यानकर्षण गराउँछौं ।’
बजारमा नसालु पदार्थ विक्री भइरहँदा त्यसको नियन्त्रण गर्नुपर्नेमा प्रशासन वेखबर झैं रहेको पाइएकोले ज्ञापन पत्र बुझाउनु परेको नेविसंघ जिल्ला अध्यक्ष राजेन्द्र उप्रेतीले बताए ।
जिल्ला अध्यक्ष उप्रेतीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी दाहाललाई ज्ञापनपत्र बुझाएको हो ।
नशालु पदार्थ नियन्त्रण गर्न नेविसंघको माग

































































































