विर्तामोड २० मंसीर । विर्तामोड–५ स्थित सुनगाभा इङ्लिस बोर्डिङ स्कूलको कक्षा ३ मा अध्ययनरत बालकमाथि शिक्षकबाट भएको निर्घात कुटपिट सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद र बाल हेल्पलाइनको संयुक्त टोलीले आइतबार स्थलगत अनुगमन गरेको छ ।
अनुगमन टोलीले पीडित बालक, उनको परिवार र विद्यालयसँग घटनाका बारेमा विस्तृत छलफल गर्नुका साथै विर्तामोड नगरपालिका वडा नं.–५, इलाका प्रहरी कार्यालय विर्तामोड साथै घटनासंग सम्बन्धित सरोकारवाला पक्षसंग समेत छलफल गरिएको राष्ट्रिय बाल अधिकार परिषदका कोभिड संकट बाल संरक्षण सहायता स्वयंसेवी समूहका सदस्य प्रजेश खनालले जानकारी दिनुभयो ।
अनुगमन टोलीमा राष्ट्रिय मानव अधिकार आयोग (प्रदेश कार्यालय, विराटनगरका निमित्त प्रमुख गीतााकुमारी दाहाल, बाल हेल्पलाइन १०९८ (मोरङ) का प्रमुख बासु अधिकारी, हेल्पलाइनका सामाजिक कार्यकर्ता सलिना सापकोटा र सदस्य खनालको सहभागिता थियो ।
अनुगमनमा देखिएको विषयवस्तुहरुलाई अनुगमन टोलीले प्रतिवेदनका रुपमा राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय बाल अधिकार परिषदमा पठाउने बताइएको छ ।
कक्षा ३ मा अध्ययनरत ती बालकलाई गत मंसीर १५ गते निर्मम तरिकाले कुटपिट गरेको भन्दै पीडित परिवारले आपत्ती जनाएपछि घटना बाहिर आएको हो । घटना सार्वजनिक भएपछि विद्यालयले कुटपिटमा संलग्न शिक्षकलाई निष्कासन गरेको जनाइएको छ ।
विद्यालयमा बालकमाथि भएको कुटपिटबारे आयोगद्वारा अनुगमन
