बिर्तामोड २० मंसीर । महिला हक, अधिकार संरक्षणका क्षेत्रमा विर्तामोड क्रियाशील महिलाका संघसंस्थाको संयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्धको अन्तरकृया तथा कानूनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले हिंसाको अन्त्य नभएसम्म समाज समृद्धिको दिशामा अघि बढ्न नसक्ने धारणा राखेका छन् । कार्यक्रममा प्रमुख अतिथि तथा विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले हिंसाका स्वरुप सम्पत्तीले नभई चेतनाले निर्धारण गर्ने बताउदै हिंसाको अन्त्य नभएसम्म समृद्धिको सपना असंभव रहेको बताउनु भयो ।
समाजमा शिक्षित तथा आर्थिक रुपमा सबल परिवारमा पनि हिंसाका घटना हुने गरेको बताउँदै नगरपालिकाको न्यायिक समितिको संयोजक समेत रहनु भएकी उपप्रमुख प्रसाईले पछिल्लो समय महिलाबाट हिंसा पीडित पुरुष पनि पाइएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले प्रविधिको उपलब्धतासंगै हिंसाको स्वरुप पनि फेरिएको बताउनु भयो । प्रहरी व्यक्ति थुन्दैमा हिंसा न्युनिकरण हुन्छ भन्ने मानसिकताबाट माथि उठेर हिंसाबाट बच्न व्यक्ति सचेत हुनुका साथै घरपरिवारभित्र भएका हिंसाको दीर्घकालीन समस्या समाधानको उपाय परिवारले पनि खोज्नु पर्नेमा आचार्यको जोड दिनुभयो ।
हिंसाबाट बच्नका लागि आफ्नो गन्तव्य, समय, परिस्थिति, ठाउँ, वातावरणबारे समेत हेक्का राख्नुपर्नेमा सचेत गराउँदै बालबालिकाले प्रविधिको प्रयोग कसरी गर्दैछ ?भन्ने कुरामा अभिभावक चनाखो हुनुपर्ने अचार्यको सुझाव थियो ।
नेपाल उद्यमशील महिला संघ झापाका अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा यशोदा प्रसाईको सञ्चालन र पार्वता बस्नेतले स्वागत गरेको कार्यक्रममा लैङ्गिक हिंसा, समाजमा देखिएका हिंसाका घटना र समाधानको उपायका बारेमा अधिवक्ता कोपिला बस्नेतले प्रशिक्षण दिनुभएको थियो ।
लैंङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियान अन्तरगतको अवसरमा नेपाल उद्यमशील महिला संघ झापा, छठ महिला मञ्च, राजवंशी समाज विकास, पूर्वेली महिला समूह, उन्नतीशील महिला समूह, कञ्चनजङ्गा परोपकार समाज र कोहेड टोल विकास संस्थाको संयुक्त आयोजनामा कार्यक्रम चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली लगायतले मन्तव्य राखेका थिए ।

































































































