चन्द्रगढी १८ मंसीर । विर्तामोडमा मुख्य कार्यालय रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले संस्थाको १४ औं साधारणसभा अन्तरगत आज चन्द्रगढी केन्द्रमा साधारणसभा सम्पन्न गरेको छ ।
भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यता तथा मदन पोख्रेलको सभापतित्वमा सम्पन्न सेवा केन्द्रगत साधारणसभामा संस्थाका अध्यक्ष केशव बस्नेतले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथि हिराप्रसाद पोख्रेल लगायतले मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव मनोज भट्टराइले गर्नुभएको थियो ।
उक्त सभाले संस्थाको पुष नौ गते हुने पूर्ण बार्षिक साधारणसभाका लागि प्रतिनिधि समेत छनौट गरेको विभागीय प्रमुख रुपन चाम्लिङले जानकारी दिनुभयो ।
३७ हजार तीनसय १८ जना शेयर सदस्य रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको आर्थिक वर्ष २०७७÷०७८ सम्ममा शेयर पूँजी १२ करोड एकलाख ४६ हजार नौसय ९२ रहेको संस्थाले सो अवधीमा ६ अर्व ७० करोड ३६ हजार एकसय चार रुपैयाँको कारोवार गर्दा एककरोड १७ लाख ६१ हजार सातसय २३ रुपैयाँ आम्दानी गरेको बताइएको छ । त्यही समयावधीमा संस्थाले ५१ करोड ७७ लाख ४९ हजार एकसय बाउन्न रुपैयाँ लगानी गरेको विभागीय प्रमुख नारायण न्यौपानेले जानकारी दिनुभयो ।
विभिन्न ७ प्रकृतिका बचत कार्यक्रम सञ्चालन गर्दै आएको स्वरोजगारले सुत्केरी पोषण, मृत्यु राहत, अवसान राहत, स्वास्थ्य रातह,एकल÷ज्येष्ठ सदस्य राहत लगायतका राहतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त विभिन्न राहत प्याकेज अन्तरगत आव ०७७÷७८ मा दुईसय ७२ जनालाई १७ लाख ९३ हजार ५० रुपैयाँ राहत वितरण गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले चालु आवका नीति तथा कार्यक्रम अन्तरगत सञ्चालक तथा लेखा समिति सदस्यले रु. तीनलाख शेयर रकम अनिवार्य पुर्याउनु पर्ने, हकारी सदस्य शिक्षा तालिम प्रदान गर्दै अन्य व्यवसायमुलक र कृषि तालिम सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु अघि सारेको छ ।
संस्थाले चालु आवको अन्त्यसम्ममा झापा, इलाम तथा मोरङमा रहेका १९ सेवा केन्द्रमार्फत शेयर सदस्यमा बृद्धि गरी ५१ हजार पुर्याउने लक्ष्य राखेको संस्थाले हाल कायम रहेको १२ करोड एकलाख ४६ हजार नौसय ९२ मा बृद्धि गरी १७ करोड पुर्याउने लक्ष्य राखेको छ । २०६४ सालमा २७ जना भेलाई एकलाख ३० हजार रुपैयाँ संकलन गरी शुरु गरेको संस्थामा हाल ९ वटा सहकारी एकीकरण गरी स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाका रुपमा सञ्चालित छ । सहकारीले सेवा केन्द्र विस्तारका लागि ६ स्थानमा प्रस्ताव गरेको छ ।
स्वरोजगारको चन्द्रगढी सेवा केन्द्रस्तरिय साधारणसभा सम्पन्न

































































































