विर्तामोड ७ मंसीर । नेपाली कांग्रेसका अग्रज नेताहरुले अब स्थानीय तहको निर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्नका लागि सक्रिय हुन नवनिर्वाचित क्षेत्रीय समिति तथा प्रदेश अधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।
आन्तरिक प्रतिष्पर्धाले कार्यकर्तामा एकप्रकारका ऊर्जा देखिएको बताउँदै अग्रज नेताहरुले त्यो ऊर्जालाई इतर दलसंगको प्रतिष्पर्धामा आफ्नो पक्षमा परिणाम ल्याउन खर्चनुपर्नेमा जोड दिएका छन् ।
लोकतान्त्रिक प्रक्रियामा आन्तरिक प्रतिष्पर्धालाई हारजितको रुपमा लिनु नहुने बताउँदै नेताहरुले निर्वाचित भएकाहरुले प्रतिष्पर्धामा रहेका साथै आम कांग्रेस कार्यकर्ताको भावनालाई समेटेर संगै लिएर हिड्ने गहन जिम्मेवारी थपिएको बताउनु भएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत यही मंसिर ३ गते सम्पन्न झापा क्षेत्र नं.–२ प्रदेशसभा ‘क’ बाट निर्वाचित प्रदेश पदाधिकारी तथा प्रदेश अधिवेशन प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य तथा नवनिर्वाचित महासमिति सदस्य सुधिरकुमार शिवाकोटी, अग्रज नेता तथा पूर्व सांसद डिल्ली सिटौला लगायतका नेताले यस्तो आग्रह गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै उनीहरुले कामको जिम्मेवारी दिने शिलशिलामा नेतृत्व छान्ने प्रक्रियालाई कसैले पनि अन्यथा नलिन सुझाउँदै जिम्मेवारी पाएकाहरुले जिम्मेवारीबाट बञ्चित भएका सबैलाई संगै लिएर हिड्न सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला सदस्य पार्वता गिरी, विर्तामोड नगरपालिका उपसभापति सूर्यप्रसाद कन्दङवाले स्थानीय तहको निर्वाचनका लागि हरेक कांग्रेसीहरुले आफैं उम्मेद्वार हुँ भन्ने मान्यता राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सोही कार्यक्रममा निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्दै झापा क्षेत्र नं.–२ प्रदेशसभा ‘क’ बाट निर्वाचित प्रदेश सभापति लक्ष्मीप्रसाद आचार्यले आफूले सबैलाई संगसंगै लिएर हिड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । निर्वाचनमा जो जहाँ भएपनि निर्वाचन सकिएसंगै यो वा त्यो समूह नरहने बताउँदै मतदान सकिएसंगै सबै एउटै हुने बताउँनु भयो । साथै आफू नेतृत्वको टिमलाई पनि सोही अनुसार काम गर्न आग्रह गर्नुभयो ।
मतदान अधिकृत नारायणप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नवनिर्वाचित उपसभापति मञ्जु ओलीले गर्नुभएको थियो भने सञ्चालन निर्वाचन सहायक अधिकृत रेजिना गौतमले गर्नुभएको थियो ।
स्थानीय निर्वाचनको तयारीमा जुट्न नेताको आग्रह

































































































