अर्जुनधारा ८ कात्तिक । झापा कचनकबल–२ का उप्रेती परिवारले कालिकापीठले स्थापना गरेको अक्षयकोषका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।
कचनकबल–२ का ओमप्रकाश उप्रेतीको स्मृतिमा उहाँकी श्रीमती विमला उप्रेती, छोरीहरु अन्जु, सिर्जना र छोरा सुसन उप्रेतीले अर्जुनधारा–९ स्थित कालिकापीठको अक्षयकोषका लागि नगद १५ हजार ५ सय रुपैया हस्तान्तरण गरेका हुन् । कालिकापीठमा आयोजित एक कार्यक्रमका बीच दाता परिवारका तर्फबाट अन्जु उप्रेतीले पीठका प्राचार्य आ. रघुनाथ रिजाललाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरणपछि उप्रेतीले पूर्वीय वैदिक सभ्यता र संस्कृतिको प्रवद्र्धन एवं वेदाध्यायनमा पु¥याएको योगदान उल्लेख्य रहेको चर्चा गर्दै संस्कृत भाषा भाषाहरुको जननी भएको बताउनुभयो ।
परापूर्व कालदेखि नै पूजा-अर्चना हुदै आएको र पराम्बादेवी भगवतीको सिद्ध शक्तिपीठका रुपमा रहेको कालिकापीठमा २०५६ सालमा ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको नेतृत्वमा कालिकापीठ ब्यवस्थापन समिति गठन भएपछि औपचारिक रुपमा भौतिक विकास प्रारम्भ भएको हो ।
२०६७ सालबाट पीठले कालिका संस्कृत विद्यापीठ सञ्चालन गरेर दुर्गा सप्तसती, रुद्री, बेद, ब्याकरण र पुराण आदि ग्रन्थहरुको अध्ययन/अध्यापन गर्दै/गराउँदै आएको छ । ब्राम्हण बटुकहरुलाई आवासीय सुविधासहित निःशुल्क रुपमा अध्ययन गराउँदै आएको पीठमा हाल ५१ बढी बटुकहरु अध्ययन गरिरहेको सचिव भोला पोखरेलले बताउनुभयो ।
विभिन्न दानदाताहरुको सहयोगमा पीठ परिसरमा रहेको अक्षयबृक्षमुनी नवदुर्गा मन्दिर, जयन्तेश्वर शिवालय, सप्तऋषिहरुको प्रतिमासहित हवनकुण्ठ, देवी मन्दिर, नवग्रह मन्दिर, एवं पठन–पाठन र आवासका लागि विद्यालय भवन निर्माण भएका छन् भने गौशाला निर्माण गरी गोवंशको संरक्षण पनि गरिदै आएको सचिव पोखरेलले बताउनुभयो ।
महिषासुर लगायतका राक्षसहरुको बध गर्ने क्रममा पराम्बा भगवती देवीले कञ्चनजंघा हिमालबाट चालेको पहिलो पाइलो ताप्लेजुङको पाथीभरामा, दोस्रो पाइलो झापाको कालिकापीठमा परेको शास्त्रीय प्रमाण योगी नरहरीनाथले २०३३ सालमा पीठमा आयोजित बृहद धार्मिक महोत्सवमा प्रस्तुत गरेपछि उक्त शक्तिपीठप्रति जनविश्वास बढेर गएको स्थानीयहरु बताउँछन् ।

































































































